३८ दिनपछि प्रहरीको अपरेसन सफल, दुईजना अभियुक्त सार्वजनिक


कारी महतो
चितवन, असार १२ गते । भरतपुर महानगरपालिका वडा नं. २५ चितहीमा वैशाख ४ गते राती १२ बजे गंगासागर महतोलाई गोली हानेर हत्यागरी फरार लुटेराहरु मध्ये दुई जनालाई लुटेका धनमाल र हातहतियारसहित सोमबार ३८ औैं दिनमा जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।

मजकुर मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाको क्षेत्रीय अनुसन्धान समूह तथा त्यस कार्यालयको संयुक्त अनुसन्धान टोलीद्वारा गरिएको सूक्ष्म अनुसन्धान पश्चात उक्त घटनाको सत्यतथ्य पत्ता लगाई लुटिएका धनमाल सहित दुईजना व्यक्तिहरुलाई पक्राउ गरी पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । उनीहरु उपर खुनडाँका अपराध कसुरमा अनुसन्धान भैरहेको प्रहरी उपरीक्षक दिपक थापाले बताउनुभयो ।

गंगासागर महतोलाई आत्मसमर्पण गरी धनमाल देखाउन धम्की दिएपनि गंगासागर महतोले बहादुरीकासाथ प्रतिकार गर्दै लड्न थाल्दा उनलाई गोली हानेको लुटेराहरुलाई उधृत गर्दै चितवन प्रहरी उपरीक्षक थापाले बताउनुभयो । प्रहरी उपरीक्षक दिपक थापाकाअनुसार गंगासागरले प्रतिकार नगरेको भए लुटेराहरुले ती हातहतियार प्रयोग गरी अझै पच्चीस तीस घर परिवारलाई धम्क्याएर लुटपाट गर्न   सक्थ्यो ।

लुटेराहरु नवलपरासी जिल्ला मध्यविन्दु नगरपालिका वडा नं. १० का सन्तबहादुर परियारका छोरा २१ वर्षीय लक्ष्मण परियार र सोहि ठाउँका पिताम्बर विकका छोरा १९ वर्षीय नारायण विक रहेका छन् । एकजना लुटेरा अझै फरार रहेको प्रहरीले बताएको छ । फरार रहेको लुटेरा पर्वत जिल्ला राम्जा घर भई चितवन दिव्यनगरस्थित ससुराली घरमा बस्ने अन्दाजी २५ वर्षका कृष्ण शाही ठकुरी रहेका छन् । कृष्ण शाही ठकुरी भारतमा रहेको घरमै छापामार्दा उनी माथिल्लो तल्लाबाट हामफालेर भागेको कुरा अनुसन्धान समूहका कमाण्डर राम कार्कीले बताउनुभयो ।

पक्राउ परेका दुई लुटेराहरु र लुटेर लगेका नगद, गरगहना र प्रयोग भएका हातहतियार बरामद गरी आज सार्वजनिक गरिएको छ । बरामद गरिएका नगद ८३,१४० रुपैयाँ, मोबाइल फोन ३ थान, हातहतियारहरुमा पेस्तोल १ थान, पेस्तोलको गोली ६ थान, घटनामा प्रयोग भएको ह्यामर, मोटरसाइकलको सकर रड, खुकुरी १ थान, चक्कु १ थान, पेचकस १ थान, सुनचाँदीका गरगहनाहरुमा सुनको सिक्री १ थान रहेका छन् ।

त्यस्तै, घडी ३ थान, सुनको मंगलसुत्र १ थान, औंठी १ थान, चाँदीको पाउजु २ जोर, नाकमा लगाउने पिन फुली २ थान, त्यस्तै भागबण्डामा परेका सुनका गहनाहरु गालेर लुटेराहरुले बनाएका सुनका गहनाहरुमा पंचरत्न बाला २ थान, सिक्री १ थान, कानमा लगाउने टप १ थान, कानमा लगाउने मुन्द्रा २ थान र सुनको ढिक्का १ थान लुटेराहरुबाट बरामद गरिएको सामग्रीहरु सार्वजनिक गरिएको छ ।

उपस्थित सर्वसाधारण, जनप्रतिनिधि, पीडित परिवार र आफन्तजनले लुटेराहरुलाई हदैसम्मको सँजायको मागगरेका छन् । साथै सबुत प्रमाणसहित अभियुक्तहरुलाई पक्राउ गरी सार्वजनिक गर्न सफल भएकोमा सर्वदलीय समितिका तर्फबाट वडा अध्यक्ष विजय भुजेल, थाकस चितवनका जिल्ला सभापति विश्राम महतो लगायतले प्रहरी प्रशासनको कार्यको उच्च सम्मान प्रकट गर्दै धन्यवाद व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया