सुदूरपश्चिम विकासको मार्गचित्र तयार गर्न बौद्धिक छलफल हुँदै


लक्की चौधरी

धनगढी, असार १८ गते । प्रदेश नं. ७ (सुदूर पश्चिम) को विकासको मार्गचित्र तयार गर्न सोमबारदेखि दुई दिवसीय आर्थिक–सामाजिक विषयक् बौद्धिक छलफल धनगढीमा शुरु हुँदैछ । सो कार्यक्रमको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुनेछ ।

सुदूरपश्चिमबाट सरकारको नेतृत्व गर्ने अवसर केही व्यक्तित्वहरुले पाएपनि समग्र विकासको मार्गचित्र कोर्न नसक्दा यहाँको विकास सम्भव नभएको भन्दै बौद्धिकस्तरको छलफल कार्यक्रमको आयोजना गरिएको आयोजकको भनाई छ । सुदूरपश्चिम सरोकार मञ्च, नेपाल व्यवस्थापन संघ सुदूरपश्चिम च्याप्टर र सुदूरपश्चिम विकास आयोगको संयुक्त आयोजनामा कार्यक्रम हुन गइरहेको छ ।

कार्यक्रमका लागि पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, प्रधानमन्त्री देउवा, एमाले नेता भीम रावल, माओवादी केन्द्रका नेता लेखराज भट्टसहितका नेता तथा यस क्षेत्रको सरकारको मुख्य निकायमा पुगेका प्राध्यापक, सामाजिक अभियन्ता र निवृत्त भएकाहरुको समेत कार्यक्रममा सहभागीता रहने बताइएको छ । कार्यक्रममा सबै क्षेत्रलाई समेट्नेगरी दुईसय जना प्रतिनिधिको सहभागीता रहने सरोकार मञ्चका अध्यक्ष विष्णुप्रसाद खत्रीले बताउनुभयो ।

प्राकृतिक स्रोत तथा मानवीय स्रोतले सुसम्पन्न प्रदेश नं. ७ को विकासको आधिकारिक खाका तयार हुन नसक्दा विकासले गति लिन नसकेको भन्दै सरोकारवालाहरुले दुई दिनको बौद्धिक छलफलबाट त्यसको मार्गचित्र तयार हुने दावी गर्नुभयो ।  सुदूरपश्चिम विकास आयोगका निमित्त कार्यकारी निर्देशक जनकराज जोशीले आयोग एक्लैले विकास सम्बन्धी काम गर्न नसक्ने भन्दै सरोकारवालासँग सहकार्य गरी अगाडि बढ्ने निर्णय गरेको बताउनुभयो ।

प्राकृतिक स्रोत तथा मानवीय स्रोतले सुसम्पन्न प्रदेश नं. ७ को विकासको आधिकारिक खाका तयार हुन नसक्दा विकासले गति लिन नसकेको भन्दै सरोकारवालाहरुले दुई दिनको बौद्धिक छलफलबाट त्यसको मार्गचित्र तयार हुने दावी गर्नुभयो ।

आयोगले बनाएको विभिन्न योजनाहरु सरकारको बजेटमा परेपनि अझै पर्याप्त हुन नसकेको भन्दै यहाँको समस्या र चुनौतिको पहिचान गरी विकास सम्बन्धी योजना बनाउन कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  कार्यक्रमका संयोजक तथा नेपाल व्यवस्थापन संघ सुदूरपश्चिम शाखाका पूर्व अध्यक्ष धर्मानन्द अवस्थीले विकासका लागि सुदूरपश्चिमको वास्तविक समस्या पहिचान हुन नसक्दा विकास योजना बनाउनमा समस्या परिरहेको बताउनुभयो ।

सुदूरपश्चिमले राजनीतिक नेतृत्व तथा सरकारका उपल्ला तहमा समेत नेतृत्व विकास गर्न सफल भएपनि सो जनशक्तिलाई परिचालन गर्न नसक्दा विकासमा बाधा पुगिरहेको बताउनुभयो । सुदूरपश्चिमको मनलाई जोड्न र विकासमा अभिरुचि बढाउन पनि कार्यक्रम सफल हुने विश्वास उहाँको छ ।  सुदूरपश्चिमबासीहरु विचारले विविध भएपनि विकासमा सबैको मन एक हुनुपर्ने बताउँदै त्यसकालागि उत्प्रेरित गर्न यस्ता विकासे बहसले सहयोग पुग्ने विश्वास प्राध्यापक पद्मराज जोशीले बताउनुभयो ।

दुई दिने छलफलमा सुदूरपश्चिमको विकासका लागि योजना निर्माण, सामाजिक विकास र सुशासन, मानव विकास, भौतिक पूर्वाधार विकास, जलस्रोतको एकीकृत विकास, आर्थिक क्षेत्र विकास, स्वास्थ्य सरसफाई, खानेपानी तथा कृषि, सामाजिक सुरक्षा, पर्यटन विकास र त्यसको अवधारणाका विषयमा गहन छलफल हुने कार्यक्रम संयोजक अवस्थीले बताउनुभयो ।

छलफलका लागि अर्थ, शहरी विकास मन्त्रालयका सचिव, पूर्व सचिव तथा सरकारमा रहेर अनुभव संगालेका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहने आयोजकले बताएको छ । सुदूरपश्चिमबाट सरकारी सेवामा रही निवृत्त भएका व्यक्तित्वहरुको पनि सक्रिय सहभागीता रहने संयोजक अवस्थीले बताउनुभयो । कार्यक्रम उद्घाटनका लागि प्रधानमन्त्री देउवा सोमबार विहान पहिलो उडानबाट धनगढी आउने तय भएको उहाँले जानकारी गराउनुभयो ।

तपाईको प्रतिक्रिया