लक्की चौधरी
धनगढी, असार १९ गते । प्रदेश नं. ७ को एकमात्र उपमहानगरपालिका धनगढीको मतगणनाका क्रममा देखिएको विवादले स्थगित भएको मतगणनालाई सुचारु गर्ने या नगर्ने भन्ने विषयमा निर्वाचन कार्यालय धनगढीले निर्वाचन आयोग केन्द्रको आदेश पर्खेर बसेको छ ।
मतपेटिकामा उल्लेखित मतसंख्या र मुचुल्का भिडाउन उम्मेदवारहरुले माग गरेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले केही मतपेटिकाको मुचुल्का देखाउन नसकेपछि समस्या बढेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नारायण ओझाले केही मतपेटिकाको मुचुल्का बाहिरै भएपनि केहीको नभएको बताउनुभयो ।
मुचुल्का नभएका मतपेटिकाको मुचुल्का सम्भवतः मतपेटिका भित्रै हुनसक्ने भन्दै उहाँले त्यसलाई तोडेर हेर्ने अधिकार दिन आयोगलाई आग्रह गरिएको बताउनुभयो । तर निर्वाचन आयोग केन्द्रले सिल तोड्न आदेश अहिलेसम्म नदिएकाले मतगणना सुचारु गर्न नसकिएको ओझाले स्वीकार्नुभयो । निर्वाचन आयोग काठमाडौंमा चिठी लेखेर पठाइसकिएको तर जवाफ आइनसकेको ओझाले जानकारी दिनुभयो ।
मतपेटिका सिलगर्दा दलीय सहमतिमै गरिएकाले मुचुल्का बक्साभित्र पनि हुनसक्ने भनाई सहायक निर्वाचन अधिकृत ओझाको छ । तर स्वतन्त्र, एमाले र माओवादीका उम्मेदवारहरुले मुचुल्का देखाएर मात्रै मतपेटिकाको सिल तोडिनुपर्ने अडान राखेपछि समस्या भएको ओझाले बताउनुभयो ।
१३ वटा स्थानीय तह रहेको अहिलेसम्म कैलालीमा तीनवटाको परिणाम मात्र सार्वजनिक भएको छ । मोहन्याल र चुरे गाउँपालिकामा एमाले विजयी भएको छ भने जोशीपुर गाउँपालिकामा कांग्रेस विजयी बनेको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले पनि सहमतिका लागि सर्बपक्षीय छलफल भएपनि त्यसमा सहमति बन्न नसकेको बताउनुभयो । “नयाँ बाकस खोल्न मुचुल्का देखाउनुपर्ने माग उम्मेदवारहरुको छ, कुनै मतपेटिकामा त्यो मुचुल्का नभेटिएकाले समस्या आएको हो” उहाँले भन्नुभयो ।खोलिएका वक्साहरुको मतगणना सकिएपछि बाँकी मतगणना आइतबार दिउँसो ४ बजेबाट स्थगित भएको थियो । अहिलेसम्म वडा नं १, २, १९, १८ को चौध हजार ९२ मत गणना भइसकेको छ । ५४ हजार ३०० मत खसेको उपमहानगरपालिकाका बाँकी वडाका मतगणना हुनसकेको छैन ।
स्वतन्त्र उम्मेदवार गोपाल हमालले मुचुल्का नभएको मतपेटिका सक्कली या नक्कली के हो प्रश्न उठेको बताउनुभयो । विना मुचुल्काको मतपेटिका खोल्न आफूहरुले नदिएको स्वीकार्दै हमालले भन्नुभयो, “मुख्य निर्वाचन अधिकृतको कार्यालयले हामीलाई चित्त बुझाउन सक्नुपर्छ ।”कैलालीको सबै मतदान केन्द्रको मतगणना भइरहँदा धनगढी उपमहानगरपालिकामा सामान्य विवाद देखिएको छ ।
१३ वटा स्थानीय तह रहेको अहिलेसम्म कैलालीमा तीनवटाको परिणाम मात्र सार्वजनिक भएको छ । मोहन्याल र चुरे गाउँपालिकामा एमाले विजयी भएको छ भने जोशीपुर गाउँपालिकामा कांग्रेस विजयी बनेको छ । १४ हजार ९२ मत गणना हुँदा अहिलेसम्म कांग्रेसका उम्मेदवार नृप वडले ३७६१, स्वतन्त्रका गोपाल हमालले ३२९२, एमालेका दुर्गाप्रसाद जोशीको ३०४३, माओवादी केन्द्रका राजसमझ चौधरीको १८१४ मत रहेको छ । त्यस्तै उपप्रमुखमा कांग्रेसका सुशीला मिश्र भट्टको ४३४२, एमालेका रुक्मणी देवकोटाको ३८१० र माओवादी केन्द्रका शान्ति अधिकारी क्षेत्रीको २४४७ मत रहेको छ ।