काठमाडौं, असार १९ गते । राजपा नेपालका नेता मनिष सुमनले सरकारलाई दिएको समर्थन एक, दुई दिनभित्रै फिर्ता लिने बताउनुभएको छ । देउवा नेतृत्वको सरकारले आफूहरुलाई धोका दिएको भन्दै सुमनले एमालेसँग सम्बन्ध विस्तार गर्ने स्पष्ट पार्नुभयो ।
रिपोर्टर्स क्लब नेपालमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा नेता सुमनले भन्नुभयो, ‘एमाले अहिले सुध्रिएको छ, राजपा र एमालेबीच अब सम्बन्ध सुधारको लागि पहल भइरहेको छ ।’
सुमनले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको समर्थन फिर्ता लिनेबारे आन्तरिक छलफल सुरु भइसकेकाले सम्भवतः दुई दिनभित्र निर्णय आउने बताउनुभयो ।
उहाँले राजपा नेपालसँगकै सहमतिमा निर्वाचन सारिएको भनेर प्रधानमन्त्री देउवाले दिएको अभिव्यक्तिलाई गलत र मिथ्याको संज्ञा दिनु भयो । ‘देउवाजीले भनेको कुरा गलत हो, के उनी हाम्रा प्रवक्ता हुन् र ? उहाँले जिज्ञासा गर्नुभयो ।
हालै सम्पन्न भएको स्थानीय तहको पहिलो र दोस्रोचरणको निर्वाचन जबर्जस्ती गरिएको भन्दै यस्तो निर्वाचनको कुनै अर्थ नहुने टिप्पणी उहाँको छ । ‘यो निर्वाचन भनेको क्षणभरको खुशीमात्रै हो सुमनले भन्नुभयो ।