कैलालीको टीकापुर न.पा.मा एमालेको जीतले दियो धेरैलाई सर्पराइज


धनगढी, असार २० गते । कैलालीको टीकापुर नगरपालिकामा नेकपा एमालेको जित धेरैका लागि ‘सरप्राइज’ नै बन्यो । स्वयम् एमालेलाई पनि यो परिणाम अपेक्षित थिएन । तर परिणाम सकारात्मक भइदियो ।

२०७२ भदौ ७ गतेको टीकापुर घटनाको केन्द्र समेत रहेको यो नगरपालिकामा माओवादी केन्द्र या फोरम लोकतान्त्रिकले बाजीमार्ने धेरैको आँकलन थियो । तर परिणाम उल्टो आइदियो । शुरुदेखि लिड गरेको लोकतान्त्रिक फोरमका उम्मेदवार अन्तिममा पछि परे ।

टीकापुर नगरपालिका थारु बाहुल्य क्षेत्र हो । संविधानसभाको दोस्रो चुनावमा फोरम लोकतान्त्रिकले जितेको निर्वाचन क्षेत्रमा पर्ने टीकापुरमा उसले थारु समुदायकै उम्मेदवार उठाएको थियो । सुरुवाती मतगणनामा सो दलले अग्रता पनि लियो । बीचमा माओवादी अगाडि आयो ।

तर, नाटकीयरुपमा जित भने एमालेले हात पार्यो । यो जित धेरैलाई अनपेक्षित भने पनि मेयरमा निर्वाचित एमालेका उम्मेदवार तपेन्द्र रावल भने स्वाभाविक नै रहेको बताउँछन् । कतिपय दलहरुले एमालेलाई थारु–मधेसी विरोधी भन्ने आरोप लगाए पनि यथार्थमा त्यो अवस्था नरहेकैले अहिलेको जित सम्भव भएको उनको ठहर छ ।

उनले आफ्नो जितले एमाले थारु विरोधी पार्टी भन्ने भ्रम पनि तोडेको दाबी गरे । ‘एमाले थारु र मधेसी विरोधी हो, तराईमा एमालेको जनआधार छैन भन्ने अफवाहलाई टीकापुरमा मैले पाएको जनमतले गलत साबित गरिदिएको छ’, उनले भने ।

तपेन्द्रको दाबी आफैं ठाउँमा छ । तर, थारु समुदायको भोट बाँडिनु र त्यो क्षेत्रमा बस्दै आएका पहाडी समुदायको अधिकांश भोट एमालेले पाउनु उनको जितको कारण बन्यो । चुनावकै मुखमा टीकापुर घटनामा मृत्युभएका डेढ वर्षको बालकको परिवार एमालेले प्रवेश गरायो । यसले पनि उसको पक्षमा केही मत बढाएको आकलन गरिएको छ ।

स्थानीय तह पुनर्संरचना गर्दा साविकको टीकापुरमा नारायणपुर र धनसिंहपुर गाविस जोडिएको थियो । धनसिंहपुर र नारायणपुर परेको वडा नम्बर ७, ८ र ९ मा फोरम लोकतान्त्रिकले राम्रो मत पायो । टीकापुरकै ३, ५ र ६ मा माओवादीले हावी भयो । २ र ४ मा एमालेले वडा जित्यो तर मेयर र उपमेयरमा ठूलो अन्तर रहेन । तर, वडा नम्बर एकमा पाएको मतले नै तपेन्द्रलाई मतमा अगाडि मात्र ल्याएन, मेयर नै बनायो ।

एक नम्बरको थारु भोट बाँडियो । किनकि उम्मेदवार जो भएपनि थारु मुद्दामा कांग्रेस, माओवादी र नेपाल लोकतान्त्रिक फोरमको धारणा एउटै थियो । अर्को मत राख्नेहरुको विकल्पमा एमाले मात्र रह्यो र त्यही भोट निर्णायक बनेको देखिन्छ, टीकापुरमा । टीकापुर घटनापछि पहाडी र थारु समुदायबीच बढेको तिक्तता र बेमेल पनि स्थानीय चुनावले हटाएको रावलको बुझाइ छ ।

‘थारु तथा मधेसीको माग पूरा गर्न नचाहने दल’ को आरोप खेप्ने एमालेबाट मेयर बनेका रावल भने यो चुनावले दुई समुदायबीचको अविश्वास र शंकाको खाडल पुरेको तर्क गर्छन् ।

टीकापुर घटना लगतै थारु समुदायका विभिन्न व्यक्तिको भौतिक सम्पत्तिमाथि आक्रमण भयो । घटनामा संलग्न भएको आरोपमा कतिपय मुद्दा खेपिरहेका छन् । क्षतिको विषय सम्बोधन भइसकेपछि दोषी र निर्दोष छुट्याएर न्याय सम्पादन गर्नुपर्ने उनको विचार छ ।

‘टीकापुर घटनामा थारु समुदायका कतिपय निर्दोष मान्छेहरु जेलमा बसिरहेका छन् भनेर यहाँका जनतामा परेको छ, त्यो कुरालाई सत्यतथ्य जाँचबुझ गरेर राज्यले सम्बोधन गर्नुपर्छ,’ उनको सुझाव छ ।

मेयरमा निर्वाचित भएपछि अब रावलमाथि टीकापुर घटनापछि अन्याय र उपेक्षाको अनुभूति गरिरहेका थारु समुदायको भावना सम्बोधन गर्ने दायित्व पनि थपिएको छ । तर, उनी थारु समुदाय राज्यबाट उपेक्षितभन्दा पनि आफ्नो क्षेत्रमा केही पाटोमा समस्या रहेको स्विकार्छन् ।

तपाईको प्रतिक्रिया