धनगढी उपमहानगरपालिकाका प्रमुखसहित धेरैको जमानत जफत


धनगढी, असार २५ गते । धनगढी उपमहानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका विभिन्न दलका सातजनाको जमानत जफत भएको छ ।

प्रमुखमा उम्मेदवारी दिएका राप्रपाका विष्णुबहादुर साहु ८२९, नयाँ शक्ति पार्टीका कृष्णनन्द गिरी १७१, नेमकिपाका सुर्जन तिवारी नौ, राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद चौधरी २३६, नेपाल परिवार दलका खड्कसिं नागरी पाँच, नेकपा संयुक्तका अक्कलबहादुर विष्ट ५१ र नेपाल लोकतान्त्रिक फोरमका प्रेम बिसी ४५९ मतको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचनमा खसेको सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने कानूनी प्रावधान छ ।

यसैगरी उपप्रमुखमा उम्मेदवारी दिएका आठजनाको जमानत जफत भएको छ । जमानत जफत हुनेमा नयाँ शक्ति पार्टी, राप्रपा, नेपाल लोकतान्त्रिक फोरम, राजमो, नेमकिपा, नेपाल परिवार दलका प्रत्यासी र दुईजना स्वतन्त्र उम्मेदवार रहेका छन् ।

निर्वाचनमा खसेको सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने कानूनी प्रावधान छ । उपमहानगरको चुनावमा कुल ५४ हजार ६५६ मत खसेकामा प्रमुखमा ४७ हजार ७६६ मत र उपप्रमुखमा ४४ हजार ५७६ मत सदर भएको छ ।

प्रमुखमा विजयी काँग्रेसका नृप वडले १४ हजार ३२४, प्रमुखका अर्का स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार ५२७, नेकपा ९माओवादी केन्द्र०का रामसमझ रानाथारुले १० हजार २०९, एमालेका दुर्गाप्रसाद जोशीले नौ हजार ९४६ मत प्राप्त गर्नुभएको थियो ।

यसैगरी उपप्रमुखमा विजयी काँग्रेसका सुशीला मिश्र भट्टले १७ हजार ४०८, एमालेकी रुक्मिणी देवकोटाले १२ हजार ७६३ मत, माओवादी केन्द्रकी शान्ति अधिकारी क्षेत्रीले १० हजार २५२ मत प्राप्त गर्नुभएको थियो ।

प्रमुखमा तीन हजार ९८१ र उपप्रमुखमा दुई हजार ६८९ मत बदर भएको छ । कैलालीका १३ स्थानीय तहमध्ये एमाले सात, काँग्रेस तीन, माओवादी केन्द्र दुई र नेपाल लोकतान्त्रिक फोरम एक तहमा विजयी भएको छ । रासस

तपाईको प्रतिक्रिया