साउन १५ गतेसम्म छुटेका मतदाता नामावली संकलन गर्दै आयोग


लक्की चौधरी

काठमाडौं, असार ३१ गते । निर्वाचन आयोगले १८ वर्ष उमेर पुगेका नेपालीको आइतबारदेखि पन्ध्र दिनसम्म मतदाता नामावली संकलन गर्ने भएको छ । यसअघि छुट भएका करिब १० लाख बढी मतदाताको नामावली संकलन हुने विश्वास आयोगको छ ।

स्थानीय तह निर्वाचनलाई लक्षित गरी गत फागुन ९ गतेसम्म मतदाता नामावली आयोगले संकलन गरेको थियो । त्यसमा छुट भएका र १८ वर्ष उमेर नपुग भई हाल उमेर पुगेका मतदाताको फोटोसहितको नामावली संकलन हुने आयोगले बताएको छ । साउन १५ गतेसम्म नाम संकलित मतदाताले आगामी असोज २ गते हुने प्रदेश नं. २ मा तेस्रो चरणको निर्वाचनमा भने मतदान गर्न पाउने छैनन् ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन अभियान शुरु हुनलागेको निर्वाचन अयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो । उहाँकाअनुसार मतदाता स्वयम् जिल्ला निर्वाचन कार्यालयमा गएर आफै उपस्थित भई फोटोसहितको फाराम भर्नुपर्नेछ । मतदाताले नागरिकता वा त्यसको फोटोकपी साथमै लिएर जानुपर्ने भन्दै प्रवक्ता शर्माले ७५ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलनको तयारी पूरा भएको बताउनुभयो ।

जिल्लामा गएर मतदाता नामावली संकलन गर्दा स्थानीय गाउँबासी नागरिकलाई समस्या हुने र छुटहुने गुनासो नागरिक तहबाटै आएपनि निर्वाचन आयोगले जिल्ला कार्यालय बाहेक अन्य ठाउँमा नामावली संकलनको व्यवस्था नगरिएको बताएको छ । केहीदिन अघि व्यवस्थापिका संसदमा पनि जनप्रतिनिधिहरुले गाउँस्तरमै गएर नामावली संकलन गर्नुपर्ने माग गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया