
नेपालगञ्ज, साउन ३ गते । अत्याधिक गर्मी छल्नका लागि सबै भन्दा उपयुक्त स्थल बन्दै गएको छ, नेपालगंजको गाभर भ्याली थारु होमष्टे ।
चिसापानी गाविस ९ गाभर भ्यालीमा होमस्टे संचालनमा आएपछि नेपालगंजको गर्मी छल्न उपयुक्तस्थल बनेको छ ।
नेपालगंजदेखि २२ किलोमिटर टाढा रहेको गाभर होमस्टे अलि उचाइँ भूभागमा छ, वरीपरी जंगल भएकाकारण पनि त्यस स्थानमा निकै शितल र चिसो हावा चल्छ । एक वर्ष अघि संचालनमा आएको गाभर होमस्टे अहिले ५ वटा घरमामात्र संचालनमा छ । होमस्टेमा दश जनाको क्षमता रहेको छ । दिन प्रतिदिन होमस्टेमा आउने पाहुनाको संख्यामा वृद्धि भएपछि त्यसलाई विस्तार गर्ने सोच बनाएका छन् होमष्टेका अध्यक्ष कृष्ण चौधरीले ।
अहिले ५ वटा घरमा होमस्टे संचालमा आएको छ उनले भने पाहुनाको चापले छिट्टै क्षमता विस्तार गर्दैछु । रत्न राजमार्ग अन्तर्गत कोहलपुरदेखि ८ किलोमिटरमा रहेको गाभर पुग्नका लागी ६ किलोमिटर भने कच्ची बाटो पर्छ ।

अध्यक्ष चौधरीकाअनुसार गाभरमा विभिन्न जिल्लाबाट आएका मानिसहरुको बसोबासस्थल भएकाले पनि विविध संस्कृति हेर्न पाइन्छ । अहिले मुगुबाट बसोबास सरेका मुगालीका ३ घर, थारुको एक घर, हुम्लाबाट बसाई सरेका एक हुम्लीका घरमा होमस्टे संचालमा छ ।
बाँकेमा भन्दा ६ देखि ७ डिग्रिसम्म कम तापक्रम हुने भएकाले गर्मी छल्न पाहुनाहरु आउने गरेको चौधरीले बताउनुभयो । बाँकेभन्दा चिसो हुने भएकाले यसलाई कान्छो देउराली समेत भनिन्छ ।
गाभर भ्याली राष्ट्रिय निकुन्ज पनि जोडिएको छ । जंगली जनावर तथा प्रकृति प्रेमीका लागि समेत उपयुक्त स्थल बन्न सक्ने चौधरीले बताउनुभयो ।

सेतोपाटीबाट




