
काठमाडौं, साउन ५ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचित जनप्रतिनिधिलाई देश र जनताको पक्षमा काम गर्न निर्देश गर्नुभएको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को सातौं राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को विहिबार यहाँ उद्घाटन गर्दै अध्यक्ष ओलीले त्यस्तो निर्देश गर्नुभयो । “एमालेको कार्यकर्ता भएर होइन, जनताले अमूल्य मतदान गरी जिताएका प्रतिनिधिले जनताकै प्रतिनिधि भएर काम गर्नुहोला” भन्दै उहाँले गलत काम नगर्न पार्टीले निरन्तर खवरदारी गर्ने बताउनुभयो ।
स्थानीय तहको निर्वाचनमा एमाले पहिलो शक्ति भएकोमा खुशी व्यक्तगर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले भन्नुभयो, “भरतपुरमा एमाले जितिसकेको हो, हारको लाजले सत्तापक्षले षडयन्त्र गरिरहेका छन् ।” जनताहरु सचेत भएकैकारण एमालेको जित सुनिश्चित् भएको बताउँदै उहाँले जनताकै भावनाअनुरुप काम गर्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई निर्देश गर्नुभयो ।
सत्तारुढ दलका नेताहरुले राजनीतिलाई गन्तव्यविहिन बनाउने प्रयास गरेको भन्दै अध्यक्ष ओलीले राजनीतिलाई स्वार्थको खेल नबनाउन आग्रह गर्नुभयो । पद र आफ्नो स्वार्थकालागि जे पनि गरिदिने प्रबृत्ति हावी भएको भन्दै उहाँले देश र जनताको हितमा केन्द्रीत हुन आग्रह गर्नुभयो ।
जिफन्टले श्रमिक तहबाट स्थानीय तहमा निर्वाचित सातवटै प्रदेशका नवनिर्वाचित प्रतिनिधिहरुलाई काठमाडौंमा बोलाएर सम्मान तथा मायाको चिनो प्रदान गरेको छ ।
सो अवसरमा अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा एमालेलाई विजयी गराउनमा जिफन्टको महत्वपूर्ण भूमिका रहेको भन्दै प्रसंशा गर्नुभयो । वि.सं. २००३ बाट शुरुभएको मजदूर आन्दोलन आज उचाईमा रहेको र वर्गीय समस्या समाधानमा महत्वपूर्ण उपलब्धी हात लागेको चर्चा गर्नुभयो । जिफन्टले श्रमिक तहबाट स्थानीय तहमा निर्वाचित सातवटै प्रदेशका नवनिर्वाचित प्रतिनिधिहरुलाई काठमाडौंमा बोलाएर सम्मान तथा मायाको चिनो प्रदान गरेको छ । सो अवसरमा दुईसय पचासजना श्रमिक प्रतिनिधिहरु निर्वाचित भएकोभन्दै जिफन्टले खुशी व्यक्त गरेको थियो ।
जिफन्टका अध्यक्ष विष्णु रिमालले लामो समयको प्रयासपछि श्रमिक अधिकार सुनिश्चित् हुँदैगएको भन्दै उहाँले श्रम व्यवस्थापनमा अझै काम गर्न बाँकी रहेको बताउनुभयो । श्रम ऐन अब घर–घरमा प्रवेश गर्ने भन्दै उहाँले दुईवटा श्रमिक ऐन व्यवस्थापिका संसदबाट पारितको चरणमा रहेको चर्चा गर्नुभयो ।
महाधिवेशन प्रतिनिधि परिषदका मुकुन्द न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा एमाले सचिव तथा मोर्चा संगठनका प्रमुख गोकर्ण विष्ट, आई.एल.ओ. कन्ट्री डाइरेक्टर रिचार्ड हावार्ड, नेपाल प्रतिनिधि विन्दा पाण्डे लगायतले श्रमिक अधिकार र खेल्नुपर्ने भूमिकाका विषयमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा सातवटै प्रदेशबाट श्रमिकको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई अध्यक्ष ओलीले मायाको चिनो प्रदान गर्नुभएको थियो ।




