माघ ७ भित्र तीनै तहको निर्वाचन नभए संवैधानिक संकटः ओली


लक्की चौधरी

काठमाडौं, साउन १३ गते । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्धारित समय अगामी माघ ७ भित्र तीनै तहको निर्वाचन सम्पन्न नभए संवैधानिक संकट आउने भन्दै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न सकिने सुझाव दिनुभएको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बतको साताव्यापी भ्रमण गरी शुक्रबार स्वदेश फर्कनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरागर्दै अध्यक्ष ओलीले त्यस्तो सुझाव दिनुभयो । दुवै निर्वाचन एकसाथ गराउन प्राविधिक कठिनाई हुने निर्वाचन आयोगले बताइरहेकाबेला अध्यक्ष ओलीले एउटै मतपत्रमा समस्या समाधान गर्नसकिने सुझाउनुभयो ।

राजपालाई नेपाली कांग्रेसले प्रयोग गरिरहेको आरोप लगाउँदै उहाँले भन्नुभयो, “कांग्रेसले आफ्नो सिट संख्या बढाउन राजपालाई उपयोग गरिरहेको छ, राजपा निर्वाचनमा आए आफ्नो मतसंख्या घट्ने कांग्रेसको आँकलन छ ।”

“एउटै मतपत्रमा निर्वाचन गरी प्रत्यक्ष प्रणालीमा प्राप्त मतलाई नै सम्बन्धित दलले उत्तिकै मत समानुपातिकमा पनि प्राप्त गरेको प्रावधान बनाएर जान सकिन्छ” भन्दै अध्यक्ष ओलीले निर्वाचनलाई विलम्ब गर्न नहुने तर्क गर्नुभयो । संविधान संशोधन बारेमा पत्रकारले राखेको जिज्ञासामा उहाँले भन्नुभयो, “अहिले संविधान संशोधन गरेर बस्ने समय होइन, निर्वाचन गरेर मुलुकलाई निकास दिने समय हो ।” निर्वाचनपछि नयाँ संसदले संविधन संशोधन गर्ने ओलीले बताउनुभयो ।

सानातिना कुरामा निहुँ खोजेर राष्ट्रिय जनता पार्टीका नेताहरु बस्न नहुनेभन्दै अध्यक्ष ओलीले निर्वाचनमा भाग लिन राजपाका नेताहरुलाई आग्रह गर्नुभयो । राजपालाई नेपाली कांग्रेसले प्रयोग गरिरहेको आरोप लगाउँदै उहाँले भन्नुभयो, “कांग्रेसले आफ्नो सिट संख्या बढाउन राजपालाई उपयोग गरिरहेको छ, राजपा निर्वाचनमा आए आफ्नो मतसंख्या घट्ने कांग्रेसको आँकलन छ ।” संविधान संशोधन अहिले सम्भव नरहेकाले संशोधनलाई राजनीतिक दाउपेच नबनाउन पनि उहाँले कांग्रेससँग आग्रह गर्नुभयो ।

एक साताअघि अध्यक्ष ओलीले तिब्बतको ल्हासाहुँदै सिगात्से र कैलाश मानसरोबारको सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको भ्रमणमा जानुभएको थियो । सो अवसरमा उहाँले त्यहाँका उच्च अधिकारीहरुसँग छलफल र परामर्श गर्नुभएको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताउनुभयो । पत्रकार भेटमा अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारको पालामा चीनसँग भएको सम्झौता कार्यान्वयनका लागि चीन सरकार तयार रहेको आफूले पाएको बताउनुभयो ।

रसुवाको केरुङ नाकासम्म चीनले रेल ल्याउने भौतिक संरचना तयार गरिरहेको बताउँदै उहाँले नेपाल सरकारले आग्रह गरेमा चीनले नेपाली भूमिमा समेत रेलबाटोका लागि सहयोग गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

भ्रमणका बेला केरुङ, तातोपानी र किमाथांका नाका खुलाउनेबारेमा छलफल भएको जानकारी पनि अध्यक्ष ओलीले दिनुभयो । अध्यक्ष ओलीलाई स्वागत गर्न एमाले नेताहरु उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली, अग्नी खरेल, नेता कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल लगायतका नेताहरु विमानस्थल पुग्नुभएको थियो ।

तपाईको प्रतिक्रिया