
कारी महतो
चित्तवन, साउन १९ गते । २०६५ सालको फागुन महिनामा देशैभरी थरुहट आन्दोलन उर्लियो । तत्कालीन सरकारले थारु समुदायलाई मधेसीको सूचीमा राखेको विरोधमा थारु समुदायले “हामी थारुहरु मधेसी होइन, हाम्रो छुुट्टै पहिचान छ” भन्दै सडक तताए । सोही आन्दोलनमा परी घाइते भएका सन्जीत चौधरीको भने बेहाल बाँकी छ ।
थारु समुदायको हक, अधिकार र पहिचानको लागि भएको आन्दोलनमा चितवन टाँडीको सौराहा चोकमा कमल चौधरी, विपिन खड्का लगायत दाङका प्रकाश चौधरी र राम प्रसाद चौधरीको मृत्यु भयो । कमल र विपिनसँगै गोली लागी सख्त घाइते भएका सन्जीत महतोलाई भने मर्नु न बाँच्नु भयो । विपिन खड्कालाई गोली लागेको अवस्थामा पानी पिलाउन जाँदा उनलाई पनि गोली लागेको थियो । गोली लागेको नौ वर्ष बितीसक्दा पनि उनको घाउ निको हुन सकेको छैन ।
डाक्टरले समय समयमा अस्पताल आएर जाँच गराई औषधी उपचार गर्न भनेका थिए । तर आर्थिक अभावकाकारण सन्जीत अस्पताल पनि जान सकेका छैनन् । गोली लागेको दायाँ खुट्टा न खुम्च्याउन सक्छ न सीधा राख्न सक्छ । घाउबाट पीप बगीरहन्छ । कहिलेकाँही पहेंलो रङको पीप निस्कन्छ । सन्जीत आफैंले मनतातो पानीले घाउ सफा गर्नुको विकल्प अरु केहि छैन । बैशाखीको सहारामा घर भित्रबाहिर गर्ने भए पनि दिशापिशाब र सरसफाईका लागि भने अरुकै सहारा लिनु पर्ने सन्जीतको बाध्यता छ ।
३० वर्षीय सन्जीतको श्रीमती र एक छोरा सहित ८ जनाको संयुक्त परिवार छ । श्रीमती, बुबा, आमा, भाई, बुहारी सबैले ज्याला मजदुरी गरी आर्जन गरेको पैसाले दुई छाक टार्छन् । उनीहरुको सम्पत्तीको नाममा पाँच धुर घडेरी बाहेक कुनै ठाउँमा पनि जग्गाजमिन छैन । सन्जीतका भाइले वैदेसिक रोजगारबाट कमाएको केहि पैसाले आफ्नो लागि घर बनाउन सुरु गरेको भए तापनि सन्जीतको जीवन भने उहि पुरानो छाप्रोमै बितिरहेको छ ।

२८ वर्षीय धर्मपत्नी लक्ष्मी महतोले लेबर गरेर बचाएको पैसाले कहिलेकाहि अस्पताल लैजाने गरेको बताउँछिन् । लाउँलाउँ र खाउँखाउँ उमेरमा श्रीमानको त्यस्तो हालत हुँदा पनि कति बिचलित भइनन् । श्रीमान र छोराको स्याहारसुसारमा लागीरहेकी सन्जीतकी धर्मपत्नी लक्ष्मी महतो आफ्नै घरमा भेटघाट गर्न आएका पत्रकारहरुसामु कुनै कुरा बोल्न सक्ने अवस्थामा थिइनन् । उनी घरको एक कुनामा गई सुक्क सुक्क गर्दै आँसु मात्र झारेर बसीरहिन् ।
सन्जीतका ११ वर्षीय छोरा जेम्स चौधरी हाल सौराहा स्थित मालपुर माविमा कक्षा ६ मा पढ्दैछन् । तर उनका पढाईलेखाईका लागि खर्च अभाव हुँदा भविष्यमा कसरी पढाउने कुरामा सन्जीत दम्पत्तीका साथै सन्जीतका आमाबुबा निकै चिन्तित छन् ।
जवान छोराको कमाई खाने बेलामा उल्टै छोरालाई पाल्नुपर्ने बाध्यता आइलाग्दा सन्जीतका ५८ वर्षीय बुबा झेंगट महतो आफू निकै अभागी भएको ठान्छन् । काठमाडौंमा उपचार गराउन लैजादाँ बसमा बस्नै नसक्ने तर एम्बुलेन्समा लैजान एकतर्फी भाडा आफैले पाँच पाँच हजार तिर्नु पर्दा छोराको उपचार गर्न नसकेको बुुबा झेंगट महतो बताउनु हुन्छ ।




