
लक्की चौधरी
काठमाडौं, साउन २४ गते । नेपाल आदिबासी जनजाति महासंघले २३ औं विश्व आदिबासी दिवस बुधबार काठमाडौंसहित देशभर भव्यताकासाथ मनाउँदैछ । काठमाडौंमा हुने विशेष कार्यक्रमको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्दै हुनुहुन्छ ।
संयु्क्त राष्ट्र संघले सन् १९९४ देखि अगष्ट ९ तारेखलाई विश्व आदिबासी दिवसकोरुपमा घोषणा गरेपछि विश्वभरका आदिबासी जनजातिले सो दिन दिवस मनाउने गर्दछन् । नेपालमा २०५९ सालदेखि सो दिवस मनाउन शुरु गरिएको महासंघका अध्यक्ष जगत बरामले बताउनुभयो ।
अध्यक्ष बरामकाअनुसार यस पटक महासंघले “अधिकार प्रतिनिधित्व र स्वशासनका लागि आदिबासी जनजाति अडान, पहिचानसहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान” नारा तय गरेको छ । त्यससँगै विशेष क्षेत्र, संरक्षित र स्वायत्त क्षेत्र निर्धारणका लागि आयोग गठनको माग महासंघले गरिरहेको अध्यक्ष बरामले बताउनुभयो ।
आदिबासी जनजाति महासंघले उठाएको मुद्दामा प्रमुख दलका नेताहरुलाई प्रतिवद्धताका लागि उद्घाटनसत्रमा आमन्त्रण गरिएको अध्यक्ष बरामले बताउनुभयो ।
आदिबासी जनजाति महासंघले उठाएको मुद्दामा प्रमुख दलका नेताहरुलाई प्रतिवद्धताका लागि उद्घाटनसत्रमा आमन्त्रण गरिएको अध्यक्ष बरामले बताउनुभयो । राष्ट्रिय सभागृहमा हुने उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवा, उपप्रधानमन्त्री विजयकुमार गच्छदार, कांग्रेस नेता इन्द्रबहादुर गुरुङ, एमाले नेता पृथ्वीसुब्बा गुरुङ, माओवादी केन्द्रका वर्षमान पुन, संघीय समाजवादीका राजेन्द्र श्रेष्ठ, राप्रपाका हेमजंग गुरुङ लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष बरामले बताउनुभयो ।
उद्घाटनसत्रअघि महासंघका घटक संगठनको झाँकी¥याली प्रदर्शन गर्ने तयारी महासंघले गरेको छ । भृकुटीमण्डपबाट शुरुहुने झाँकी ¥याली शहिदगेट, शान्तिवाटिका हुँदै सभागृहमा प्रवेश गर्ने कार्यक्रम तय भएको अध्यक्ष बरामले जानकारी दिनुभयो । महासंघमा अहिले विभिन्न ५६ वटा घटक संगठन रहेका छन् भने देशभर ७१ वटा जिल्लामा शाखा रहेको छ ।
पछि परेका विश्वभरका आदिबासी जनजातिको अधिकारलाई सम्बोधन गराउनमा सघाउ पुग्ने उद्देश्य र आदिबासी जनजातिको सामाजिक तथा सांस्कृतिक पक्षको संरक्षण सम्बर्धन पुगोस भन्ने हेतुले राष्ट्रसंघले अगष्ट ९ लाई दिवसकोरुपमा मनाउने घोषणा गरेको थियो ।
महासंघले दिवसको अवसरमा साउन १८ देखि ३० गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गर्ने कार्यतालिका बनाएको छ । यसअघि केही कार्यक्रम सम्पन्न गरिसकेको महासंघले बुधबार औपचारिक रुपमा दिवसको उद्घाटन कार्यक्रम गर्दैछ ।




