प्रदेश नं. २ मा ५० प्रतिशत शिट जित्ने एमालेको दावी, तयारी तिव्र


काठमाडौं, साउन २४ गते । प्रमुख प्रतिपक्षीदल नेकपा (एमाले) ले आगामी असोज २ गते प्रदेश नं. २ मा हुने निर्वाचनमा ५० प्रतिशत बढी जित हात पार्ने ठहर गरेको छ । कतिपय जिल्लामा दलसँगको सहकार्यमा र कतिपय जिल्लामा एक्लै निर्वाचनमा भिड्ने तयारी सो दलले गरेको छ ।

नेपाली कांग्रेस बाहेक सबै दलसँग ठाउँ र परिस्थितिअनुसारको सहकार्य गरेर अगाडि बढ्ने नीति एमालेले लिएको प्रदेश नं. २ का इन्चार्ज तथा स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले बताउनुभयो । मधेसका आठ जिल्लाको १२७ स्थानीय तहको निर्वाचनका लागि पुरै पार्टी मधेसमा केन्द्रीत भइसकेको बताउँदै उहाँले ५० प्रतिशत बढी सिट एमालेले जित्ने दावी गर्नुभयो ।

चुनावी तयारीका सिलसिलामा घरदैलो, कार्यकर्ता भेटघाट, पार्टी प्रवेश गराउनेदेखि अन्तरक्रिया, गोष्ठी र प्रशिक्षणका कार्यक्रम युद्धस्तरमा भइरहेको बताउँदै इन्चार्ज मण्डलले भन्नुभयो, “एमाले मधेस विरोधी पार्टी हो भनेर आरोप लगाउने दललाई नै निर्वाचनको परिणामले जवाफ दिन्छौं ।” सबै दलको मोर्चाबन्दी भएपनि एमाले एक्लै लडेर पनि मधेसमा पहिलो पार्टी हुने उहाँले दावी गर्नुभयो । यद्यपि सहकार्यको पहल भइरहेको उहाँले बताउनुभयो ।

“विरोधीहरुले एमाले मधेस विरोधी पार्टी हो भनेर जनतालाई भारी बोकाउने प्रयास त गरेका थिए तर हामीले त्यसलाई चिर्दै निर्वाचन परिणामबाट गतिलो जवाफ दिन्छौं” पूर्वमन्त्री पण्डितले भन्न्ुभयो ।

त्यस्तै पार्टी पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री लालबाबु पण्डितले प्रदेश नं.२ मा एमाले पहिलो शक्ति बन्ने दावी गर्नुभयो । पार्टीको आन्तरिक तयारी र सक्रियताकाकारण आठ जिल्लामध्ये ६ वटा जिल्लामा एमाले पहिलो शक्ति बन्ने उहाँले सुनाउनुभयो ।

“विरोधीहरुले एमाले मधेस विरोधी पार्टी हो भनेर जनतालाई भारी बोकाउने प्रयास त गरेका थिए तर हामीले त्यसलाई चिर्दै निर्वाचन परिणामबाट गतिलो जवाफ दिन्छौं” पूर्वमन्त्री पण्डितले भन्न्ुभयो । एक अर्को प्रसंगमा उहाँले राजपा निर्वाचनमा आउने विश्वास व्यक्त गर्नुभयो । निर्वाचनमा राजपासँग सहकार्यको पहल पनि भइरहेको उहाँले जानकारी दिनुभयो । राजपा निर्वाचनमा नआए पार्टी नै सकिने उहाँको मूल्याङ्कन छ ।

प्रदेश नं. २ को निर्वाचन नजिकीदै गर्दा एमालेले आफ्ना शीर्ष तहका नेताहरुलाई मधेसका विभिन्न जिल्लामा खटाएर वस्तुस्थितिबारे बुझ्न लगाएको थियो । एमाले नेताहरुले वस्तुस्थिति बुझेर केन्द्रमा प्रतिवेदनसमेत बुझाई सकेका छन् । सोही प्रतिवेदनका आधारमा एमाले मधेसमा कमजोर नरहेको आन्तरिक मूल्याङ्कन एमालेले गरेको इन्चार्ज मण्डलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया