लक्की चौधरी
काठमाडौं, साउन २६ गते । वरिष्ठ लेखक तथा नाटककार सूव सेनद्वारा लिखित शहीदको रगत (इतिहास नाटक) नामक पुस्तकको विहिबार यहाँ एक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ । लामो समय प्रशासन क्षेत्रको अनुभव समेत संगाल्नुभएका सेनको पुस्तकमा राणाकालिनअवस्थाको चित्रलाई जीवन्तरुपले उतारिएको छ ।
गुल्मेली समाजद्वारा आयोजित कार्यक्रममा वरिष्ठ नाटककार अशेष मल्ल, टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष डा. अरविन्द रिमाल, डा. देवीप्रसाद सुवेदी र लेखक स्वयम्ले सो पुस्तकको संयुक्तरुपमा लोकार्पण गर्नुभयो । दुईसय ४८ पृष्ठको पुस्तकमा अमर शहीदको योगदानलाई उच्च स्थानका साथ उतारिएको लेखक सेनले बताउनुभयो ।
शहीदको योगदान र त्यागलाई सम्मान गर्न नसकिएको र शहीद घोषणा गर्ने नाममा जसलाई पनि शहीद घोषणा गर्दैजाने प्रबृत्तिले वास्तविक शहीदको अपमान भएको भन्दै लेखक सेनले पुस्तक लेखेर वास्तविक शहीदको श्रद्धामा फूल चढाएको चर्चा गर्नुभयो । टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष डा. अरविन्द रिमालले पुस्तकले अमर शहीदको योगदान र त्यागलाई उजागर गरेको चर्चा गर्नुभयो । शहीदको जिउँदो इतिहासलाई पुस्तकले थप प्रष्ट पारेको भन्दै उहाँले लेखक सेनलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष डा. अरविन्द रिमालले पुस्तकले अमर शहीदको योगदान र त्यागलाई उजागर गरेको चर्चा गर्नुभयो ।
समिक्षक डा. देवीप्रसाद सुवेदीले पुस्तक शहीदको जिउँदो इतिहासलाई उजागर गरेको भन्दै लेखक सेनलाई बधाई ज्ञापन गर्नुभयो । मुलुकको कठिन परिस्थितिमा शहीदहरुले देशप्रति देखाएको त्याग र समर्पणलाई लेखकलाई जीवन्त ढंगले प्रस्तुत गरेको भन्दै उहाँले पुस्तकमा वास्तविक तथ्यलाई जस्ताकोतस्तै उतारेकोमा प्रसंशा गर्नुभयो ।
वरिष्ठ लेखक अशेष मल्लले ठूलो त्याग र बलिदानीकाबीच मुलुकमा प्रजातन्त्र आएको भएपनि अहिले शहीदको योगदानलाई खासै वास्ता गर्न नसकिएको बताउनुभयो । नाटकको प्रस्तुतीकरण पक्ष नै सबैभन्दा सबल पक्ष रहेको भन्दै उहाँले विषयवस्तुले मात्र नाटक शसख्त हुन नसक्ने टिप्पणी गर्नुभयो । लेखक सेनले लेख्नुभएको पुस्तकलाई शहीदको जिउँदो इतिहासको संज्ञा उहाँले दिनुभयो । कार्यक्रममा वरिष्ठ लेखक, समिक्षक तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।