पत्रकार महासंघलाई समानुपातिक समावेशी बनाउन पत्रकारको माग


लक्की चौधरी

काठमाडौं, साउन २७ गते । नेपाल पत्रकार महासंघको नेतृत्वमा जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित् गर्न आदिबासी जनजाति पत्रकारले माग गरेका छन् । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को १८ औं स्थापना दिवसको अवसरमा शुक्रबार यहाँ आयोजित कार्यक्रममा वक्ताहरुले त्यस्तो माग गरेका हुन् ।

महासंघलाई सबैको साझा बनाउन समानुपातिक प्रतिनिधित्व नै उत्तम विकल्प रहेको तर्क जनजाति पत्रकारको छ । आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङले पत्रकार महासंघको नेतृत्वतहबाटै समानुपातिक समावेशीकरण गर्न आवश्यक रहेको बताउनुभयो ।

महासंघ सबैको साझा नभएसम्म अपनत्वबोध नहुनेभन्दै उहाँले जिम्मेवार सरोकारवाला पक्षसँग त्यस्तो आग्रह गर्नुभयो । पत्रकारको पेशा व्यवसाय नै संवेदनशील भएकाले निश्पक्ष र जिम्मेवार भएर समाचार सम्प्रेषण तथा प्रकाशन गर्न उहाँले आग्रह गर्नुभयो । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले समानुपातिक समावेशीकरणको मुद्दामा आफ्नो संगठन सदैव सकारात्मक रहेको बताउनुभयो ।

महासंघलाई सबैको साझा संगठन बनाउनमा चौतारीको जोडबल रहँदैआएको भन्दै अध्यक्ष बस्नेतले सबै पत्रकार र संगठन जित्ने वातावरण बनाउने प्रयास भइरहेको जानकारी दिनुभयो । प्रेस सेन्टरका संयोजक गोविन्द आचार्यले महासंघ तुलनात्मकरुपमा हिजोभन्दा आज समावेशी भएपनि अझै पूर्ण हुन नसकेको बताउनुभयो ।

जनसंख्याको आधारमा समानुपातिक समावेशीकरण महासंघमा गर्नसके सबैलाई न्याय हुने धारणा उहाँले राख्नुभयो । त्यसको अगुवाई फोनिजलाई गर्न उहाँले आग्रह गर्नुभयो ।नेपाल पत्रकार महासंघका महासचिव उजीर मगरले हिजोभन्दा आज महासंघ समावेशी भएपनि थप समावेशीताकालागि प्रयास जारी राख्नुपर्ने बताउनुभयो ।

पत्रकारको हकहित र अधिकारकानिम्ति महासंघ निरन्तर लागिरहेको र आगामी दिनमा पनि पत्रकारका समग्र मुद्दामा महासंघ लाग्नुपर्ने बताउनु भयो । फोनिजका अध्यक्ष डण्ड गुरुङको सभापतित्वमा भएको कार्यक्रममा प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी, सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्मा, आदिबासी जनजाति महासंघका सचिव सुखबीर थामी, संघीय फोरम पत्रकार समूहका सचिव विजय चाम्लिङ, फोनिजका सचिव राजेश चाम्लिङ, पत्रकार खीम घले लगायतले महासंघको नेतृत्व अब जनजाति पत्रकारले पनि गर्न पाउनुपर्ने माग गर्नुभयो ।

तीन पत्रकार पुरस्कृत 

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) ले हरेक वर्ष प्रदान गर्ने जनजाति पत्रकारिता पुरस्कारबाट यसवर्ष तीनजना पत्रकार पुरस्कृत भएका छन् । आदिबासी जनजाति मुद्दामा कलममार्फत् उत्कृष्ट योगदान गरेको भन्दै कान्तिपुरका पत्रकार खिम घले, रेडियो नेपालकी रमिता लामा र धनकुटाका पत्रकार सञ्जय सन्तोषी राई पुरस्कृत भएका छन् ।

तीनैजना पत्रकारलाई प्रमुख अतिथि प्रतिष्ठानका उपाध्यक्ष गुरुङले नगदसहित सम्मानपत्रले सम्मानित गर्नुभयो । पुरस्कारको राशी जनही २० हजार रुपियाँ रहेको फोनिजका महासचिव उजीर मगरले बताउनुभयो ।

तपाईको प्रतिक्रिया