सुदूर पश्चिममा एकलाख बढी मतदाताले नामावलीमा नाम दर्ता गराए


भीमदत्तनगर, भदौ २ गते । स्थानीय तहको निर्वाचनपछि प्रदेश नं ७ सुदूरपश्चिममा एक लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन् ।

गत साउन १ गतेदेखि फोटोसहितको नयाँ मतदाता नामावली संकलन कार्यक्रम अन्तर्गत सुदूरपश्चिमका नौवटै जिल्लामा गरी एक लाख १५ हजार ३२ जना नयाँ मतदाता थपिएको यहाँका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगले शुरुवातमा साउन पहिलो सातादेखि मसान्तसम्म नयाँ मतदाता नामावली संकलन गर्न जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको थियो । केही दिनअघि पुनः भदौ ३ गतेसम्म फोटोसहितको मतदाता नामावली संकलन कार्यका लागि समय दिइएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका निर्वाचन अधिकारी केशवसिंह भण्डारीले जनकारी दिनुभयो ।

आजसम्म सुदूरपश्चिममा सबैभन्दा बढी कैलाली जिल्लामा नयाँ मतदाता थपिएका छन् । सुदूरपश्चिम क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका सूचना अधिकृत प्रेमराज भट्टले १३ वटा स्थानीय तह रहेको कैलालीमा बिहीबारसम्म ५३ हजार नयाँ मतदाताले फोटोसहितको नामावली संकलन गरेको जानकारी दिनुभयो । “शनिबारसम्म अझै केही संख्यामा वृद्धि हुन्छ ।” उहाँले भन्नुभयो, “बिदाको दिनसमेत यहाँका हरेक तहमा नामावली संकलन गर्ने कार्य भइरहेको छ ।”

त्यसैगरी अर्को जिल्ला कञ्चनपुरमा भने २२ हजार नयाँ मतदाता थपिएका छन् । यहाँ पुरुषभन्दा महिला मतदाता बढी थपिएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका कम्प्युटर अपरेटर प्रकाश भट्टले जानकारी दिनुभयो । नौवटा स्थानीय तह रहेको कञ्चनपुरमा गत असार १४ गतेको स्थानीय तहको निर्वाचनअघि यहाँ दुई लाख ३५ हजार मतदाता रहेका थिए ।

सबैभन्दा बढी कैलाली जिल्लामा नयाँ मतदाता थपिएका छन् । सुदूरपश्चिम क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका सूचना अधिकृत प्रेमराज भट्टले १३ वटा स्थानीय तह रहेको कैलालीमा बिहीबारसम्म ५३ हजार नयाँ मतदाताले फोटोसहितको नामावली संकलन गरेको जानकारी दिनुभयो ।

कञ्चनपुरमा हालसम्म १० हजार सातजना पुरुष र १२ हजार ८४५ महिला रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । साउन पहिलो सातादेखि शुरु भएको फोटोसहितको मतदाता नामावली संकलन कार्यमा जिल्लाभरका स्थानीय तहमा उत्साहजनक सहभागिता रहेको छ ।

त्यसैगरी सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा हालसम्म सात हजार नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय बैतडीकाअनुसार यहाँका १० वटै तहमा नयाँ मतदाता नामावली संकलन भइरहेको छ ।

बैतडी निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर संगीता विष्टले जिल्लभरमा हालसम्म सात हजारको संख्यामा नयाँ मतदाता थपिएको जानकारी दिनुभयो । यसअघि बैतडीमा एक लाख २५ हजार मतदाता रहेका थिए ।

उता दुई नगरपालिका र सात गाउँपालिका गरी नौवटा स्थानीय तह रहेको दार्चुलामा पाँच हजार १०३ मतदाता थपिएका छन् । दार्चुलामा यसअघि ७३ हजार ५१ मतदाता रहेका थिए ।

त्यसैगरी पहाडी जिल्ला डडेल्धुरामा पनि छ हजार २५१ जना मतदाता थपिएका छन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ७५ हजार ७०० मतदाता रहेको डडेल्धुरामा सातवटा स्थानीय तह रहेका छन् ।

त्यस्तै बझाङ जिल्लामा पनि नयाँ मतदाताको फोटोसहितको मतदाता नामावली संकलन कार्य सबै तहमा भइरहेको जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ । बाह्रवटा स्थानीय तह रहेको बझाङमा यसअघि ९७ हजार ६०० मतदाता रहेका थिए ।

डोटी जिल्लामा बितेको एक महिनामा पाँच हजार ८०० मतदाता थपिएका छन् । नौवटा तह रहेको डोटीमा पनि स्थानीय तहसम्म नयाँ मतदाताको नामावली संकलन कार्य भइरहेको छ । डोटीमा यसअघि एक लाख चार हजारभन्दा बढी मतदाता रहेका थिए ।

चार नगरपालिका र छ गाउँपालिका गरी १० वटा स्थानीय तह रहेको अछाम जिल्लामा पनि यसपटक १० हजार ५९१ मतदाता थपिएका छन् । यसअघि अछाममा एक लाख २७ हजार ७४२ मतदाता रहेका थिए ।

सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुरामा पनि नयाँ मतदाता थपिने क्रम जारी छ । हालसम्म चार हजार ७३९ जना नयाँ मतदाता बाजुरामा थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय बाजुराकाअनुसार यसअघि बाजुरामा ६४ हजार ९५० मतदाता रहेका थिए । बाजुरामा चार नगरपालिका र पाँचवटा गाउँपालिका रहेका छन् ।

तपाईको प्रतिक्रिया