पत्रकार महासंघको महाधिवेशन शुरु, अध्यक्षमा त्रिपक्षीय भिडन्त


लक्की चौधरी

काठमाडौं, भाद्र ४ गते । नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आइतबारदेखि काठमाडौंमा शुरु भएको छ । महाधिवेशनमा भागलिन देशभरका पार्सद तथा अन्य पत्रकार काठमाडौंमा भेला भएका छन् ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आइतबार विहान शुरुहुने महासंघको कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दैहुनुहुन्छ । महाधिवेशनले महासंघको आगामी तीन वर्षकालागि ४७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गर्नेछ ।  आगामी कार्य समितिमा आफ्नो वर्चस्व कायम गर्न एमाले समर्थित प्रेस चौतारी नेपाल, कांग्रेस समर्थित नेपाल प्रेस युनियन, माओवादी समर्थित प्रेस सेन्टर लगायतका पत्रकारका संगठन क्रियाशील रहेका छन् ।

महासंघमा पार्सद संख्याको हिसावले ठूलो संस्था प्रेस चौतारी नेपालले वरिष्ठ पत्रकार तीर्थ कोइरालाको नेतृत्वमा साना दलका पत्रकार संगठनसँग अलाइन्स गरेर प्यानलसहित उम्मेदवार चुनावी प्रतिस्पर्धामा उतारेको छ । यता, नेपाल प्रेस युनियन र प्रेस सेन्टरले अलाइन्स गरेर साझा उम्मेदवारकोरुपमा गोविन्द आचार्य नेतृत्वको समूहलाई चुनावी प्रतिस्पर्धामा उतारेका छन् । दुवै पक्षबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । संख्याको हिसावले आचार्य प्यानलको मतसंख्या थोरैले बढी देखिए पनि प्यानलअनुसार मत जाने सम्भावना कम रहने पत्रकारको बुझाई छ ।

महासंघमा एकहजार पाँचसय १६ जना पार्सद प्रतिनिधिले मतदान गर्नेछन् । महाधिवेशनमा भागलिन आएका पत्रकारलाई सुनधारास्थित गेष्टहाउसमा बस्ने व्यवस्था महासंघले गरेको छ ।

महासंघमा एकहजार पाँचसय १६ जना पार्सद प्रतिनिधिले मतदान गर्नेछन् । महाधिवेशनमा भागलिन आएका पत्रकारलाई सुनधारास्थित गेष्टहाउसमा बस्ने व्यवस्था महासंघले गरेको छ । उम्मेदवारलाई भोट माग्न र प्रचारप्रसार गर्न सहज होस् भन्ने हेतुले पनि महासंघले पार्सदहरुलाई एकै ठाउँमा राख्ने व्यवस्था गरेको महासचिव उजीर मगरले बताउनुभयो । सुनधाराका सबै गेष्ट हाउस अहिले पत्रकारले भरिभराउ भएको छ । महासंघले प्राध्यापक चिरञ्जिवी खनालको संयोजकत्वाम पाँच सदस्यीय निर्वाचन मण्डल गठन गरेको छ ।

संयोजक खनालका अनुसार आइतबार दिउँसो १२ देखि ३ बजेसम्म उम्मेदवारी दर्ता, अपरान्ह ३ः४५ बजे उम्मेदवारको नामावली प्रकाशन, दिउँसो ३ः४५ देखि ४ः४५ सम्म उम्मेदवार उपरको दावी विरोध, उम्मेदवारी फिर्ता लिने र साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय निर्धारण गरिएको छ ।

त्यस्तै, सोमबार भाद्र ५ गते विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानको समय तय गरिएको संयोजक खनालले जानकारी दिनुभयो । मतदान प्रक्रिया कमलादीस्थित प्रज्ञा भवनमै हुने भएपनि मतगणना भने तिलगंगास्थित पत्रकार महासंघको केन्द्रीय कार्यालयमा गरिने महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले बताउनुभयो ।

मतदान प्रक्रिया सकिए लगत्तै सोमबार साँझदेखि नै मतगणनाको काम आपसी सहमतिअनुसार अगाडि बढाइने महासंघले तयारी गरेको उहाँले जानकारी दिनुभयो ।महासंघको आगामी नेतृत्वका लागि दुई प्यानल प्रतिस्पर्धामा देखिए पनि स्वतन्त्रतर्फबाट उजीर मगरले पनि उम्मेदवार दिने तयारी गर्नुभएको छ ।

वर्तमान महासचिव रहनु भएका मगरको उम्मेदवारी अन्तिम चरणमा फिर्ता हुनसक्ने अडकल बजारमा गरिए पनि मगरले आफ्नो उम्मेदवारी कायमै राख्ने बताउनुभएको छ । उहाँसँगै असन्तुष्ट अन्य पत्रकारले पनि विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने बताएका छन् । गोरखापत्रकर्मी मैदानमा

गोरखापत्र दैनिकका पत्रकार पनि महासंघको चुनावी मैदानमा होमिएका छन् । दि राईजिङ नेपालमा कार्यरत रामप्रसाद दाहाल खुला सचिवको उम्मेदवारी दिने बताउनुभएको छ । त्यस्तै, मधेसी सदस्यमा सुरेशकुमार यादव र भउचप्रसाद यादव, आदिबासी जनजाति सदस्यमा राजेश चाम्लिङ राई, खुला सदस्यमा देवबहादुर कुँवर, कार्टुनिष्ट क्लबबाट सदस्यमा केशवप्रसाद खनालले उम्मेदवारी दिने भएका छन् ।

महासंघको ४७ सदस्यीय नयाँ कार्य समितिमका लागि अध्यक्ष, उपाध्यक्ष २, महासचिव, सचिव ६, कोषाध्यक्ष, गरी ११ पदाधिकारी, भौगोलिक र गैरभौगोलिक प्रत्येक प्रदेशबाट ३६ जना सदस्य निर्वाचिनत हुने विधानमा व्यवस्था छ ।

पत्रकार हकहित र क्षमता अभिबृद्धिकालागि २००८ सालमा गठित तत्कालिन संघ र अहिलेको महासंघको भूमिकामा क्रियाशील छाता संगठन पत्रकार महासंघको हरेक तीन वर्षमा महाधिवेशन हुने गरेको छ । महासंघको ४७ सदस्यीय नयाँ कार्य समितिमका लागि अध्यक्ष, उपाध्यक्ष २, महासचिव, सचिव ६, कोषाध्यक्ष, गरी ११ पदाधिकारी, भौगोलिक र गैरभौगोलिक प्रत्येक प्रदेशबाट ३६ जना सदस्य निर्वाचिनत हुने विधानमा व्यवस्था छ ।

श्रमजीवी पत्रकारको हकहित र नेपाली मिडियाको प्रवद्र्धनका लागि साझारुपमा आवाज उठाउँदै आएको महासंघमा नेतृत्वका लागि ठूलो प्रतिस्पर्धा हुने गरेको छ । पत्रकारको भौतिक तथा व्यावसायिक सुरक्षा र क्षमता अभिबृद्धिका लागि महाधिवेशनका बेला उम्मेदवारले ठूलठूला नारा दिने गरेपनि त्यसको कार्यान्वयनमा निर्वाचित भएपछि खासै ध्यान नदिनेगरेको आम पत्रकारको गुनासो रहँदैआएको छ ।

यस २५ औं महाधिवेशनमा होमिएका पत्रकार तथा उम्मेदवारले पनि विगतझैं नारा र एजेण्डाहरु प्रस्तुत गरेपनि मतदाता पत्रकारले त्यसलाई गम्भीरतापूर्वक लिएको देखिदैन । पत्रकार महासंघलाई विशुद्ध पत्रकारको छाता संगठन बनाउने विषयमा वहस र छलफल हुने गरेपनि अहिलेसम्म दलीय प्रभाव र चासो रहँदैआएको छ । पत्रकार शुद्धीकरणको विषय र श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको मुद्दा अहिलेसम्म सबैभन्दा पेचिलो हुनेगरेको नेतृत्वकर्ताहरुको बुझाई छ ।

तपाईको प्रतिक्रिया