चेलीबेटीले माइती प्रतिनिधिको बाटो कुर्ने पर्व थारु अत्वारी


लक्की चौधरी

काठमाडौं, भाद्र ११ गते । अरु चाडपर्वमा विवाहिता चेलीलाई माइतीमा ल्याएर घर परिवारका सदस्यहरु सामुहिकरुपमा मीठो मसिनो खाएर मनाइने गरेपनि थारु अत्वारी पर्वमा भने विवाहिता चेलीलाई माइती नल्याउने प्रचलन छ ।

थारु समुदायको वर्षमा एक पटक पुरुषले व्रत बस्ने पर्वकोरुपमा चिनिने अत्वारी पर्वमा आधा दिन भएपनि पुरुषहरु सूर्य र वलशाली भीमको उपासना गरेर व्रत बस्ने गर्दछन् । कृष्ण जन्माष्टमीमा महिलाले मात्र ब्रत बस्छन् भने अत्वारीमा पुरुषले । कृष्ण जन्माष्टमीलाई थारु भाषामा ‘अष्टिम्की’ भनिएजस्तै आइतबारी पर्वलाई ‘अत्वारी’ भन्ने चलन छ ।

आइतबार पर्ने पर्व भएकाले यसलाई अत्वारी भनिएको हो । कृष्ण जन्माष्टमीपछिको दोस्रो साताको आइतबार अत्वारी व्रत बस्ने समयतालिका स्थापित छ । व्रत बस्ने पुरुषले शनिबार राती कुखुरा बास्नुअघि नै दर खाने गर्छन् । राती दर खाएकाहरु आइतबार व्रत बसी अपरान्ह मात्रै शुद्ध जलासयमा स्नानगरी सूर्य र भीमको पूजा गरेर शुद्ध रोटी ग्रहण गर्दछन् ।

पश्चिमा थारु समुदायमा मनाइने अत्वारी पर्वलाई पूर्वका थारु समुदायले मनाउने प्रचलन छैन । अत्वारी पर्वमा चेलीबेटीलाई खाद्यान्न, लत्ताकपडा, नगद उपहार दिने प्रचलन थारु समुदायमा छ । थारुमा सो उपहारलाई ‘अग्रासन’ भनिन्छ । व्रतालुले स्नानपछि ग्रहण गर्ने अन्न, फलफूलको एक भाग विवाहिता चेलीकालागि अग्रभागमा छुट्याएर मात्रै ग्रहण गर्ने प्रचलन छ । त्यही भाग नै चेलीको घरमा गई माइती पक्षका प्रतिनिधिले पुर्याउने प्रचलन छ । अग्रभागमा चेलीका लागि छुटयाइने अन्नको भाग भएकाले यसलाई अग्रासन भनिएको हो ।

थारु समुदायमा अत्वारी पर्व कहिले र किन मनाएको भन्ने विषयमा अनेक किंवदन्ती रहेपनि ठोस कारण भने खुल्न सकेको छैन । थारु समुदाय प्रकृतिकपूजक समुदाय भएकाले सूर्यको उपासना गर्छन् भन्ने बुझाई एकथरीको छ । अर्कोतिर महाभारतका पाण्डुका एक छोरा वलशाली भीमले राक्षसबाट थारु चेलीलाई आइतबारकै दिन जोगाएकाले उनको सम्झनामा अत्वारी व्रत बस्ने प्रचलन चलेको हो भन्ने भनाई छ ।

पुरुषले बस्ने व्रतकोरुपमा चिनिने अत्वारीमा रोटी पकाउने भन्सियाकोरुपमा महिलाले पनि व्रत बस्ने प्रचलन छ । तर यो निकै कम प्रचलनमा छ । अत्वारीमा प्रायः पुरुषले आफै पनि भान्साको काम गर्नेगरेको देखिन्छ । व्रतालु पुरुषले मध्यान्हपछि स्नान गर्ने र घरमा गाई गोवरले लिपपोत गरेको शुद्ध ठाउँमा व्रतालुलाई बसाएर पूजापाठ गराउने प्रचलन छ ।

सल्लाको छिर्कामा रोटीका परिकार मिसाएर आगोमा चढाएको शुद्ध जलले छिता हालेर मात्र खाने प्रचलन छ । अग्रभागमा राखिने आगोको अङ्गार (अंगठा) लाई अग्यारी भनिन्छ । त्यसलाई शुद्ध जलले दायाँ र बायाँ गरी दुईतीन फेरा घुमाएर जल अर्पण गरी शुद्ध पार्ने प्रचलन छ । आगोलाई सूर्यको प्रतीककोरुपमा पूजिने गरिन्छ । व्रत बसेको दिन व्रतालुले तेलमा पकाएको खुर्मा, अनदीको रोटी, फलफूल र मिठाई पानी सर्वत बनाएर खाने गर्दछन् । त्यो दिन नून हालेको तरकारी या चामलको भात खाने गरिदैन ।

गोठमा गाई पस्नुअघि पूजापाठ गरी रोटी खाइसक्ने प्रचलन थारु समुदायमा छ । गाई गोठमा प्रवेश गरेपछि रोटी खाइँदैन । पानीसम्म खाने गरिन्छ । अर्कोदिन सोमबार विहान फल्हार गरेर मात्र भात तरकारी खाने प्रचलन छ । त्यसदिन रोटी नभएर विभिन्न परिकार, माछा, भात, खाने प्रचलन छ । सिध्रा माछा फल्हारमा अनिवार्य मानिन्छ । खानुअघि पूर्ववतः पूजापाठ गरी अग्रभागमा चेलीबेटीकालागि एक भाग छुट्याएर मात्र अन्न ग्रहण गर्ने चलन छ ।

विहान भान्सामा खानेपरिकार तयार भएपछि व्रतालुले पुनः शुद्ध जलाशयमा स्नान गरेर पूजापाठ गरी अन्न (भात) ग्रहण गर्ने गर्दछन् । खानापछि चेलीबेटीलाई छुटयाएको खानेकुरा अग्रासनकोरुपमा पुर्याउने चलन छ । अग्रासनकोरुपमा भात, रोटी, फलफूल, तरकारी, लत्ताकपडा र गक्षअनुसारको नगद समेत उपहारकोरुपमा थारुहरुले पुर्याउने प्रचलन रहेको देखिन्छ ।

विवाहिता चेलीलाई माइतीमा नल्याउनुको अर्थ घरमै उपहार पुर्याउन जानु हो । चेलीबेटीले माइतीको प्रतिनिधि घरमा आउने भएर स्वागतका लागि पूरा तयारी गरेर बसेकी हुन्छिन् । सकेसम्म स्वागत सत्कार गरेर अर्कोदिन माइतीका प्रतिनिधिलाई घरमा भएको फलफूल र तरकारी साथमा दिएर विदाई गर्छिन् । यसरी थारु समुदायको अत्वारी पर्व विवाहिता चेलीको घरको अवस्था, वर्षदिनको प्रगति, दुःख र सुखको बारेमा भलाकुसारी गर्ने र बुझ्ने पर्वकोरुपमा पनि प्रचलित छ ।

माइतीपक्षकाले अन्य चाडपर्वमा चेलीबेटीलाई माइती ल्याएर सम्मान सत्कार गर्ने गरेपनि अत्वारी पर्वमा माइती पक्षकाले विवाहिता चेलीको घरमै गएर उपहार पुर्याउने र त्यहाँको अवस्थाको प्रत्यक्ष अवलोकन गर्ने पर्वकोरुपमा यसलाई लिने गरिन्छ ।

तपाईको प्रतिक्रिया