
कुलदिप चौधरी
सुनसरी, भाद्र १५ गते । थारु महिलाहरुको महान पर्व जितिया पावनी पर्व बिगतका बर्ष झै यस वर्ष पनि भव्यरुपले मनाउने तयारी थारु महिला संघ संस्थाले गरेका छन् । थारु समुदायमा पौराणिक समय देखि मनाउँदै आएको पर्व भाद्र २८ गते परेको छ ।
घर परिबारको सुखशान्ति दीर्घायुका साथै पतिको लामो आयुका लागि निराहार व्रत बसी थारु महिलाहरुले यो पर्व मनाउने गर्दछन् । सुनसरीको अलग अलग ठाउँमा यसपाली जितिया पर्व मनाउने तयारी भइरहेको संघ संस्थाका प्रतिनिधिले बताएका छन् ।
थारु महिलासहित समग्र समुदायको हित र अधिकारका लागि आवाज उठाउँदै आएको स्थानीय गैर सरकारी संस्था थारु महिला उत्थान समाजले सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्का बजारमा भाद्र २८ गते भव्य कार्यक्रमको तयारी गरिरहेको छ ।
कार्यक्रममा थारुगीत संगीतका नृत्य, थारु भेषभुसाको प्रदर्शनी, झाँकीलगायत चेतनामुलक नाटकहरुको समेत प्रस्तुति रहने समाजकी अध्यक्ष सीता चौधरीले बताउनुभयो । उहाँकाअनुसार कार्यक्रमको मुख्य आकर्षण नृत्य प्रतियोगिता रहने छ । प्रतियोगितामा प्रथम हुनेलाई ५००० (पाँच हजार) दोस्रोलाई ३००० (तीन हजार) तेस्रोलाई २००० (दुई हजार) रुपियाँ तथा अन्य प्रतियोगीलाई सान्त्वना पुरस्कारको पनि ब्यबस्था रहेकोे अध्यक्ष चौधरी जानकारी दिनुभयो।
त्यसैगरी थारु कल्याणकारीणि सभाको भातृ संगठन थारु महिला सभाले पनि सुनसरीको इटहरीमा भाद्र २७ गते जितिया पर्व मनाउने तयारी गरेको छ ।

कार्यक्रममा थारु सास्कृतिक कार्यक्रम, थारु परिकार तथा थारु अधिकारका विषयमा वहसको कार्यक्रम गर्ने तयारी भएको सभा सुनसरीकी अध्यक्ष सुशीला चौधरीले बताउनुभयो ।
जितिया पर्व एकै ठाउँमा मनाउने पहल र वहस भएपनि छुट्टाछुट्टै ठाउँमा मनाउने गरी दुवै संघ संस्थाले तयारी तिब्र बनाएका छन् । थारु समुदायका अगुवाहरुको पनि सकेसम्म एकै ठाउँमा जितिया पर्व मनाउने सुझाव रहेको छ ।
त्यसैगरी काठमाडौं उपत्यकामा बसोबास गर्ने थारु समुदायले पनि जितिया पर्व २८ गते मनाउने तयारी गरेका छन् । थारु महिला सभा र थारु महिला समाजको संयुक्तरुपमा आयोजना गरिने जितिया महोत्सव प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा गर्ने महिला सभाकी कोषाध्यक्ष गीता चौधरीले बताउनुभयो । अध्यक्ष तारा चौधरीकाअनुसार २६ गते पर्यटन बोर्डमा जितिया पर्वका विषयमा जानकारी दिने हिसावले पत्रकार सम्मेलनको आयोजना गर्ने तयारी भएको छ ।




