प्रेस काउन्सिल नेपालले शुरुगर्यो तेस्रो चरण निर्वाचन मिडिया अनुगमन


लक्की चौधरी

काठमाडौं, भदौ २० गते । तेस्रो चरणको प्रदेश नं २ को स्थानीय तह निर्वाचनसम्बन्धी समाचारको अनुगमन प्रेस काउन्सिल नेपालले सोमबारबाट शुरु गरेको छ । काउन्सिलले प्रमुख दैनिक, टेलिभिजन, रेडियो र अनलाईनलाई अनुगमनको दायरामा राखेको बताएको छ ।

यसअघि पहिलो र दोस्रो चरणको निर्वाचनमा समेत काउन्सिलले मिडिया अनुगमन गरेको थियो । निर्वाचन आयोगसँगको सहमति र समन्वयमा काउन्सिलले निर्वाचन केन्द्रीत मिडिया अनुगमन थालेको  हो । पहिलो र दोस्रो चरणको निर्वाचनमा मिडियाले निर्वाचन आचारसंहिताको सन्तोषजनकरुपमा पालना गरेको प्रतिवेदन काउन्सिलले आयोगमा पठाएको थियो ।

प्रदेश नं. २ को निर्वाचनका लागि निर्वाचन आयोगले भदौ १ गतेदेखि निर्वाचन आचारसंहिता लागू भएको बताएको थियो । तर प्राविधिक कारणले भदौ १९ बाट मात्र काउन्सिलले मिडिया अनुगमनको काम शुरु गरेको बताएको छ । अनुगमनका क्रममा आचारसंहिता उल्लंघन गर्ने मिडियाको ध्यानाकर्षण गराउने, अटेर गरे कालोसूचीमा राख्ने र प्रकाशन गर्नेसम्मको चेतावनी काउन्सिलको छ ।

काउन्सिलका प्रमुख अधिकृत झवेन्द्र भुषालकाअनुसार राजधानीबाट प्रकाशित हुने प्रमुख दैनिक पत्रपत्रिका, टेलिभिजन, अनलाईन मिडिया, स्थानीय र केन्द्रको रेडियाको समाचारलाई मुख्यतः अनुगमनको दायरामा राखिएको छ । उहाँकाअनुसार ६ वटा राष्ट्रिय दैनिक, १२ वटा टेलिभिजन, १२ वटा रेडियो र ३६ वटा अनलाईनलाई विशेषरुपले अनुगमनको दायरामा राखिएको छ ।

काउन्सिलका प्रमुख अधिकृत झवेन्द्र भुषालकाअनुसार राजधानीबाट प्रकाशित हुने प्रमुख दैनिक पत्रपत्रिका, टेलिभिजन, अनलाईन मिडिया, स्थानीय र केन्द्रको रेडियाको समाचारलाई मुख्यतः अनुगमनको दायरामा राखिएको छ ।

काउन्सिलका सूचना प्रविधि तथा अभिलेख प्रमुख रामशरण बोहराले भदौ १९ बाट शुरुभएको मिडिया अनुगमन निर्वाचन सम्पन्न भएको एक सातासम्म कायम रहने बताउनुभयो । स्रोत साधनको अभावमा केही निश्चित मिडियालाई अनुगमनमा राख्नुपरेको उहाँले जानकारी दिनुभयो । अनुगमनका लागि काउन्सिलले आठजना कर्मचारीलाई खटाएको छ ।

बोहराकाअनुसार निर्वाचन आयोग र काउन्सिलबीच गत वैशाख ८ गते अनुगमनको सम्झौता भएको थियो । अनुगमन गरेबापत आयोगले काउन्सिललाई ३० लाख रुपियाँ प्रदान गरेको थियो । तर दुई चरणको निर्वाचन सम्पन्न भइसकेकाले तेस्रो चरणको निर्वाचनका लागि थप व्यवभार हुने भन्दै काउन्सिलले निर्वाचन आयोगसँग थप आर्थिक सहयोगको माग गरेको छ । सो बारेमा निर्णय भइनसकेको प्रमुख अधिकृत भुषालले जानकारी दिनुभयो ।

अभिलेख प्रमुख बोहराले विहान ६ बजेदेखि साँझ १० बजेसम्म मिडिया अनुगमनका लागि समय निर्धारण गरिएको छ । तर त्यसकालागि पनि विधागत अनुगमनको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । दुई जनालाई टेलिभिजन अनुगमनका लागि साँझ ७ देखि १० बजेसम्म, दुईजनालाई रेडियो, दुई जनालाई अनलाईन र दुई जना कर्मचारीलाई पत्रपत्रिका अनुगमनको जिम्मा दिइएको बोहराले बताउनुभयो ।

काउन्सिलले अनुगमनको दायरामा राखेको प्रमुख दैनिक पत्रिपत्रिकामा गोरखापत्र, कान्तिपुर, नागरिक, अन्नपूर्ण, नेपाल समाचारपत्र, नयाँ पत्रिका लगायत छन् । त्यस्तै स्थानीय पत्रपत्रिकामा अंकुश    (पर्सा), आजको वातावरण (सप्तरी), कृपा (बारा), कृष्णा (सप्तरी), ग्रिन मधेस (सप्तरी), जनसृष्टि (पर्सा), जनकपुर एक्सप्रेस (धनुषा), जनकपुर टुडे (धनुषा), तराई टाइम्स (धनुषा), नवसंग्राम (सिराहा) प्रतीक (पर्सा), पर्दाफास (पर्सा) आदि छन् ।

त्यस्तै, पर्साका अन्य पत्रपत्रिकामा ब्रह्मास्त्र, वाइपास, राष्ट्रिय सहारा, लोकटाइम्स छन् भने सप्तरीबाट प्रकाशित हुने अन्य पत्रपत्रिकामा राजविराज, राजविराज टुडे, श्री जनआक्रोस र मार्गानुगामी  छन् । सोहीअनुसार हाइवेन्यूज (रौतहट) अनुगमनको दायरामा छ ।

काउन्सिल प्रमुख भुषालकाअनुसार यी उल्लेखित मिडियाको चुनावी सम्बन्धी समाचारको अनुगमन काउन्सिलले गरिरहेको छ । प्रदेश नं २ को निर्वाचनका विषयमा प्रकाशित र प्रशारित समाचारलाई मुख्यतः काउन्सिलले अनुगमन गरेको उहाँले जानकारी दिनुभयो ।

  काउन्सिलकाअनुसार अनुगमनको दायरामा रहेका टेलिभिजनमा एभिन्यूज, एविसी, नेपाल टेलिभिजन, कान्तिपुर टिभी, इमेज, हिमशिखर, न्यूज २४, माउन्टेन, मकालु, नेपाल१, सगरमाथा र जनता टेलिभिजन रहेका   छन् । त्यस्तै, रेडियोतर्फ नारायणी, रेडियो विन्दास, रेडियो वादल, गुञ्जन, ढुकढुकी, रुद्राक्ष, जनकपुर, मिथिलाञ्चल, सौगात, भोरकाव, रेडियो नेपाल र नेपालवाणी आदि छन् ।

अनलाइनतर्फ रातोपाटी, सेतोपाटी, माइसन्चार डट कम, कलमपाटी डट कम, चक्रपथ डट कम, टुडेखवर डट कम, यात्राडेली डट कम, वीरगन्जपाटी डट कम, लोकान्तर डट कम, मधेसवाणी डट कम, मधेसन्यूज डट कम, नागरिकन्यूज डट कम, नेपाल आज डट कम, पहिलोपोष्ट डट कम, पूर्वेलीन्यूज डट कम, दैनिकनेपाल डट कम, लाइट नेपाल डट कम, नेपाल पाटी डट कम, राजधानी डटक कम आदि रहेको काउन्सिलले जानकारी गराएको छ ।

काउन्सिल प्रमुख भुषालकाअनुसार यी उल्लेखित मिडियाको चुनावी सम्बन्धी समाचारको अनुगमन काउन्सिलले गरिरहेको छ । प्रदेश नं २ को निर्वाचनका विषयमा प्रकाशित र प्रशारित समाचारलाई मुख्यतः काउन्सिलले अनुगमन गरेको उहाँले जानकारी दिनुभयो । निर्वाचन आचारसंहिता उल्लंघन गरेको समाचारको प्रकृतिका आधारमा कारवाही र सचेत गराउने काम काउन्सिलले गर्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया