
कारी महतो
चित्तवन, भाद्र २३ गते । जितिया पर्व भदौ २८ गते पर्ने र सोही दिन त्रिभुवन विश्वविद्यालय र आङ्गिक क्याम्पसहरुमा स्नातक तह प्रथम वर्षको परीक्षा हुने भएपछि जितिया पर्व मनाउने तराईवासी महिलाले सार्वजनिक विदाको माग गरेका छन् ।
थारु र मधेसी समुदायका महिलाहरुले मनाउने जितिया पर्व नजिकिदै गर्दा थारु गाउँ बस्तीमा बेलुकीपख छुट्टै रौनक हुनेगर्छ । महिलाहरु गाउँको एक ठाउँमा जम्मा भई झमटा नृत्य गर्ने र अरु साँस्कृतिक नाचहरुको तयारी गर्ने गर्दछन् । हरेक वर्ष आश्विन कृष्णपक्षको अष्टमीतीथिमा मनाउने जितिया पर्व यसवर्ष भदौ २८ गते परेको छ ।
हरेक वर्ष आश्विन कृष्णपक्षको अष्टमीतीथिमा मनाउने जितिया पर्व यसवर्ष भदौ २८ गते परेको छ ।
सप्तमी, अष्टमी र नवमी तीथिमा तीन दिन मनाउने पर्वमा भने चितवनको शहिद स्मृति बहुमुखी क्याम्पस रत्ननगरमा अध्ययनरत रत्ननगर नगरपालिका वडा नं. ७, सिसुवारकी सुस्मा चौधरी आफू जितिया मनाउन नपाउने बताईन् । जितियाकै दिन सुस्माको स्नातक तह मानविकी प्रथम पर्वको पपुलेसन विषयको परीक्षा परेको छ ।
चितवनकै भवानी शंकर बहुमुखी कलेजमा स्नातक तहको शिक्षाशास्त्र प्रथम वर्षमा अध्ययनरत खैरहनी नगरपालिका वडा नं. ७, मझुईकी दीपा चौधरीको पनि त्यस्तै गुनासो छ । जितियाकै दिन उनको इभ्यालुएसन अफ एजुकेशन विषयको परीक्षा परेको छ । उनी भन्छिन् “अरु सबै साथीहरु जितिया मनाउँछन् तर मैले यसपाली मनाउन नपाउने भए ।”
दीपासँगै एउटै कक्षाकोठामा पढ्ने खैरहनी नगरपालिका वडा नं. ७, सुल्तानाकी अनुमा चौधरी र वडा नं. ९ बस्यौलीकी सरस्वती चौधरीको पीडा पनि उस्तै छ । वर्षदिनको चाडमै जितियामै परीक्षा राखिएकोले आफूहरु विभेदमा परेको उनीहरुले बताए ।
मोरङ जिल्लाको कटहरी गाउँपालिका वडा नं. २ निवासी लक्ष्मी कुमारी मण्डल जितिया पर्व थारु समुदायकी मात्र पर्व नभई मधेसी महिलाहरुको पनि ठूलो चाड भएकोले यति धेरै जनसंख्याका जनताले मनाउने चाडपर्वमा विदा हुनुपर्ने माग गरिन् ।
थारु विद्यार्थीले विदा माग गरे
थारु विद्यार्थी सभा केन्द्रीय समितिले थारु समुदायले ऐतिहासिक र साँस्कृतिक पर्व जितियालाई उत्साहपूर्वक मनाउन पाउने अधिकारबाट बञ्चित नगर्न माग गरेको छ । सरकारको ध्यानाकार्षण गराउँदै जितिया पर्वको अवसरमा सार्वजनिक विदाको घोषणा गर्न समाजले माग गरेको हो ।
केन्द्रीय अध्यक्ष संजय चौधरीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति मार्फत भदौ २८ गते परेको तराईवासीको महान पर्व जितियाकै दिन त्रिभुवन विश्वविद्यालयले बिए र बि एड प्रथम वर्षको परीक्षा राखेकोले त्यसतर्फ आफ्नो गम्भीर ध्यानाकार्षण भएको थारु विद्यार्थी सभाले जनाएको छ ।




