सतासी दलले पाए चुनाव चिन्ह, थारुको नेतृत्वमा दुई दललाई चिन्ह


काठमाडौं, भाद्र २४ गते । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ८७ राजनीतिक दललाई चुनाव चिह्न वितरण गरेको छ । सो मध्ये थारुले नेतृत्व गरेको दुई दलले चुनाव चिन्ह प्राप्त गरेका छन् ।

विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम र रुक्मिणी चौधरीले नेतृत्व गर्नुभएको संघीय लोकतान्त्रिक राष्टिय मञ्च (थरुहट) ले क्रमशः नमस्कार र गाग्री चुनाव चिन्ह पाएका छन् ।

आगामी मंसिर १० र २१ मा हुने प्रदेश र प्रतिनिधिसभा चुनावका लागि ९५ दलले निर्वाचन आयोगमा दल दर्तासहितको निवेदन दिएका थिए, तर ८७ दलले चुनाव चिन्ह प्राप्त गरेका छन् ।

आगामी मंसिर १० र २१ मा हुने प्रदेश र प्रतिनिधिसभा चुनावका लागि ९५ दलले निर्वाचन आयोगमा दल दर्तासहितको निवेदन दिएका थिए, तर ८७ दलले चुनाव चिन्ह प्राप्त गरेका छन् ।

दुई वा दुईभन्दा बढी दल संयुक्त भई एकल चुनाव चिह्न लिन चाहेकालाई पनि चिह्न दिइएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४९ अनुसार दर्ता गरी एकल चुनाव चिह्न दिने निर्णय गरेको हो ।
कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका ठूला र परिचित दलले आफ्ना पुरानै चिह्न पाएका छन् । तराई केन्द्रित दल राजपा नेपालले चुनाव चिह्न छाता पाएको छ ।

त्यसैगरी विवेकशील साझा पार्टीले तराजु चुनाव चिह्न पाएको छ । नयाँ शक्ति पार्टी नेपालले देब्रे आँखा चुनाव चिह्न प्राप्त गरेको छ । आयोगले संघीय समाजवादी पार्टीलाई हातले समातेको मसाल चुनाव चिह्न दिएको छ ।

यसअघि एक सय २२ दल निर्वाचन आयोगमा दर्ता भएका थिए । राजनीतिक दलहरू आपसमा विलय भएकाकारण दलको संख्या कम भएको प्रवक्ता ढकालले बताउनुभयो ।

साना दलले ऊँट, कछुवा, कुखुराको भाले, हेलिकप्टर, गैंडा, कोदालो, साबेल, जग, लालटिन, डोको, गाग्री, पीपलको पातलगायतका चुनाव चिह्न पाएका छन् ।

चुनाव दुई चरणमा
मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य चुनाव पहिलो चरणमा हिमाली र उच्च पहाडी गरी ३२ जिल्लामा हुनेछ । दोस्रो चरणमा पहाड र तराईका गरी ४५ जिल्लामा चुनाव हुने आयोगले बताएको छ । पहाडका ३२ जिल्लामा मंसिर १० मा पहिलो चरण र मंसिर २१ मा दोस्रो चरणको चुनाव तोकिएको छ ।

यसैगरी निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनिितक दलहरुका लागि आवेदन आव्हान गरेको छ । आयोगले भाद्र २५ देखि २७ गतेसम्म तीन दिनको समय आवेदनकालागि तय गरेको छ ।

मंसिर १० मा चुनाव हुने ३२ जिल्ला
प्रदेश १ः सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ प्रदेश ३ ः नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप
प्रदेश ४ ः मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ र गोरखा
प्रदेश ५ ः का पूर्वी रुकुम र रोल्पा,
प्रदेश ६ ः पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा
प्रदेश ७ ः दार्चुला, बझाङ, बाजुरा र बैतडी
मंसिर २१ मा चुनाव हुने ४५ जिल्ला
प्रदेश १ ः इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी
प्रदेश २ ः सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट
प्रदेश ३ ः सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर
प्रदेश ४ ः बर्दघाट सुस्ता पूर्व नवलपरासी, तनहुँ, कास्की, स्याङ्जा र पर्वत
प्रदेश ५ ः बर्दघाट सुस्ता पश्चिम नवलपरासी, पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बाँके र बर्दिया प्रदेश ६ ः सल्यान, सुर्खेत र दैलेख
प्रदेश ७ ः कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटी ।

तपाईको प्रतिक्रिया