
काठमाडौं, भदौ २४ गते । थारु पत्रकारलाई समय सापेक्ष सिर्जनात्मक र खोजमुलक हुन थारु अगुवा तथा प्रतिनिधिहरुले सुझाव दिएका छन् ।
दशैं, तिहार, छठ, जितिया र सामाचकेवा पर्वको अवसरमा थारु पत्रकार संघ, नेपालको आयोजनामा शनिबार यहाँ आयोजित शुभकामना कार्यक्रममा अगुवाहरुले त्यस्तो सुझाव दिनुभयो । कार्यक्रममा थारु अगुवा तथा प्रतिनिधिहरुले सो पर्वको अवसरमा शुभकामना साटासाट गर्नुका साथै थारु हक अधिकार तथा थारुको राजनीतिक, सामाजिक, सांस्कृतिक पक्षको उजागर गर्न विशेष खोजपूर्ण समाचार पस्कन आग्रह गर्नुभयो ।
कामको सिलसिलामा काठमाडौंमा बसोबास गर्ने थारु समुदायका प्रतिनिधिले हरेक वर्ष चाडपर्वको अवसरमा शुभकामना तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएका छन् । यस वर्ष भदौ २८ गते काठमाडौंमा जितिया सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने तयारी पनि सो समुदायको छ ।
थारु कल्याणकारिणीसभा अन्तर्गतको थारु महिला सभा तथा थारु महिला समाजको संयुक्त आयोजनामा हुने जितिया कार्यक्रममा सांस्कृतिक प्रदर्शन पनि हुने गरेका छन् । सांस्कृतिक कार्यक्रममा थारु नृत्यसहित थारु खाना, हस्तकला, सांस्कृतिक कार्यक्रम पनि हुने गरेका छन् ।
शुभकामना कार्यक्रममा बोल्दै थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य धर्मलाल चौधरीले थारु समुदाय सांस्कृतिक हिसावले धनी भएपनि त्यसको प्रचार प्रसारमा कमी भएको बताउनुभयो । थारु पत्रकारलाई सो अभियानमा लाग्न उहाँले आग्रह गर्नुभयो ।

संघका सल्लाहकार लक्की चौधरीले पत्रकार समाजलाई बाटो देखाउने जिम्मेवारीमा रहेकाले संवेदनशील भएर समाचार संकलन तथा सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । थारु पत्रकार संघले देशभरका थारु पत्रकारलाई संघमा आवद्ध गराउँदै सामुहिकरुपमा थारु समाजको हरेक पक्षका विषयमा एकाकार भएर समाचार सम्प्रेषणमा भूमिका निर्वाहको पहल गर्नुपर्ने सुझाव दिनुभयो ।
थारु महिला समाजकी अध्यक्ष गीता थारुले उपत्यकामा बसोबास गर्ने थारु समुदायको एकता र सामुहिक भेटघाटका लागि चाड पर्वको कार्यक्रम महत्वपूर्ण हुनेगरेको बताउनुभयो । हरेक वर्ष मनाइने माघी र जितिया कार्यक्रम काठमाडौंमा भव्यरुपले मनाइँदै आएको उहाँले चर्चा गर्नुभयो ।
कामको सिलसिलामा काठमाडौंमा बसोबास गर्ने थारु समुदायका प्रतिनिधिले हरेक वर्ष चाडपर्वको अवसरमा शुभकामना तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएका छन् ।
कार्यक्रममा सभाका केन्द्रीय सदस्य रामलाल चौधरी, थारु अगुवाहरु महेश्वरप्रसाद चौधरी, लक्की चौधरी, विद्यानन्द लेखी, तारा चौधरी, सीयाराम चौधरी, सुमन चौधरी, कृष्णराज सर्वहारी, प्रदीप लेखी, नन्दुराज चौधरी, धनीराम चौधरी, बुद्धसेन चौधरी, कानूनलाल चौधरी, सहदेव चौधरी, किशोर चौधरी, सञ्जय थारु लगायतले शुभकामना सहित थारुको राजनीतिक तथा सांस्कृतिक पक्षको विषयमा चर्चा गर्नुभएको थियो ।
सोहीअनुसार थारु पत्रकार संघ, दाङ शाखाले पनि शनिबार बैठक बसी आगामी जिल्ला अधिवेशलाई भव्य र सभ्य बनाउने निर्णय गरेको छ । संघका अध्यक्ष सन्तोष दहितको अध्यक्षतामा बसेको बैठकले संघको सदस्यता वितरणलाई व्यवस्थित बनाउने निर्णय गरेको छ । असोज ७ गते हुन गइरहेको संघको अधिवेशनको तयारीका लागि बैठकले जिम्मेवारी बाँडफाँड समेत गरेको अध्यष दहितले बताउनुभयो ।




