
दुष्यन्त चौधरी
कलैया, भाद्र २६ गते । निर्वाचन आचार संहिता विपरीत सरकारका मन्त्रीहरु प्रदेश नं. २ को असोज २ गते हुने निर्वाचनका लागि भोजभतेर गर्दै जनताको घरमा मत माग्न व्यस्त रहेका छन् ।
गृहमन्त्री जनार्दन शर्माले नेपाल सरकारको सेवा सुविधा लिई कलैयामा भोजभतेर गर्दै भोट मागेको देखिएको छ । तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा गृहमन्त्री शर्माले आफ्ना पार्टीका लागि भोट माग्दै हिडेका छन् ।
सतारूढ दलका नेताहरूले प्रचार प्रसारका क्रममा बारामा व्यापकरूपमा आचार संहिताको उल्लंघन गरिरहेको स्थानीयले बताएका छन् । जिल्ला निर्वाचन कार्यालय बारामा सम्पन्न एक कार्यक्रममा मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाकाअनुसार सतारूढ दलले नै बारा जिल्लामा बढि मात्रामा आचार संहिता विपरित गतिविधि गरेको पाइएको बताउनुभयो ।
संचारगृह तथा संचारकर्मिहरूको अवस्था निर्वाचनबारे बुझ्न आएका कार्यक्रममा मुख्य निर्वाचन अधिकृत थापाकाअनुसार निर्वाचन आचार सहिंता बनाउने व्यक्तिहरूले नै आचार संहिता विपरीत गतिविधि गरेको आरोप लगाउनुभयो ।
मनोनयन दर्ताका क्रममा विभिन्न राजनीतिक दलले आचार संहिता उल्लंघन गरेको पाइएपछि आफूहरूले सचेत गराउँदै आएको समेत उहाँले जानकारी दिनुभयो ।
चुनावी प्रचार प्रसारको नाउँमा सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम सहितका दलहरूले आयोगले जारी गरेको निर्वाचन आचार संहिता मिच्दै पार्टीको झन्डा बोकि भोट माग्दै गरेको उहाँको भनाई छ ।
निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले उपप्रधानमन्त्री समेत रहेका विजयकुमार गच्छदार र ऊर्जा राज्यमन्त्री अमरसिंह पुनसँग शनिबार स्पष्टीकरण मागेको थियो । पदीय दुरुपयोग गरेर निर्वाचन आचार संहिता उल्लंघन गरेको आरोपमा आयोगले शनिबार २४ घण्टाभित्र लिखित जवाफ दिन उनीहरूलाई निर्देशन दिएको थियो ।

आयोगले नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट वीरगन्ज महानगरपालिकाका उम्मेदवार विमलकुमार श्रीवास्तवलार्ई पनि स्पष्टीकरण सोधेको थियो । वीरगन्ज महानगरपालिकाको निर्वाचन प्रचारका क्रममा उपप्रधानमन्त्री गच्छदार सहित नेपाल लोकतान्त्रिक फोरम पार्टीका नेता कार्यकर्ताले आचार संहिता विपरीत गाडी र मोटरसाइकल सहित रैली निकालेकाले आयोगले स्पष्टीकरण सोधेको थियो ।
प्रमुख निर्वाचन अधिकृत थापाले राजनीतिक दललाई आचार संहिता पालना गर्न आग्रह गरेपनि दलहरू चुनावी प्रचार प्रसारको होडबाजीमा आचार संहिता लत्याउँदै आएका जानकारी दिनुभयो ।
राज्यमन्त्री पुनले बाराको जितपुर–सिमरा उपमहानगरपालिकाको फत्तेपुरमा कांग्रेस कार्यकर्तालाई सरकारी गाडीमा राखेर निर्वाचन प्रचार प्रसार गर्दै हिँडेको भन्ने उजुरीको आधारमा छानबिन गर्दै आयोगले स्पष्टीकरण सोधेको थियो ।
प्रमुख निर्वाचन अधिकृत थापाले राजनीतिक दललाई आचार संहिता पालना गर्न आग्रह गरेपनि दलहरू चुनावी प्रचार प्रसारको होडबाजीमा आचार संहिता लत्याउँदै आएका जानकारी दिनुभयो । चुनावी आचार संहिता विपरीत राजनीतिक दलले झण्डा लगाउनेदेखि जुलुसमा समेत बालबालिका प्रयोग गरेको पाइएको सुनाउनुभयो ।
सम्पन्न कार्यक्रममा मिडिया अनुगमनकर्ता सुरेशकुमार कार्की, अकोरावका महासचिव गोविन्द देवकोटा, रेडियो नेपालका ध्रुव अधिकारी लगायत बाराका संचारकर्मीहरूको सहभागीता रहेको थियो ।




