
गीता चौधरी
काठमाडौं, भदौ २६ गते । थारु राष्ट्रिय जितिया महोत्सव २०७४ आगामी बुधबार काठमाडौंमा हुनेभएको छ । थारु महिला सभा र थारु महिला समाजको संयुक्त आयोजनामा हुन गइरहेको महोत्सवको उदघाटन उपप्रधानमन्त्री तथा संघीय मामिला, स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले गर्ने आयोजकले बताएको छ ।
आयोजक संस्थाले सोमबार यहाँ पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गराएको हो । कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा हुने महोत्सवको प्रमुख आकर्षणमा थारु भेषभुषासहित ¥याली प्रदर्शन, थारु नृत्य प्रदर्शन, थारु खाना परिकार तथा सांस्कृतिक कार्यक्रम रहने आयोजक संस्थाले बताएको छ ।

काठमाडौंमा बसोबास गर्ने थारु समुदायले २०६१ देखि काठमाडौंमा जितिया महोत्सव मनाउँदै आएको थारु महिला समाजकी अध्यक्ष गीता चौधरीले बताउनुभयो । थारु महिलाले व्रत बसी मनाउने यस पर्वलाई सरकारले राष्ट्रिय पर्वको मान्यता दिएपनि सरकारी विदाको व्यवस्था भने भएको छैन । थारु समुदायका अगुवाले सो दिन सार्वजनिक विदाको माग गर्दैआएका छन् ।
थारु महिला सभाकी अध्यक्ष तारा चौधरीले जितिया पर्वमा थारु महिला तथा चेलीबेटीहरुले २४ घण्टासम्म निराहर व्रत बसी मनाउने पर्व भएकाले सरकारी विदा दिनुपर्ने माग गर्नुभयो । महोत्सव आयोजनाका लागि सरकारले न्यूनतम भएपनि आर्थिक सहयोग गर्दैआएकोमा धन्यवाद ज्ञापन गर्दै आयोजक संस्थाले सार्वजनिक विदाको पनि माग गरेका छन् ।

जितिया पर्वमा सूर्य तथा सूर्य भगवानका पुत्र जीतमहानको पूजागरी सन्तान सुख तथा समृद्धिको कामना गर्दै थारु महिलाहरु व्रत बस्ने गर्दछन् । व्रत बस्नु अघिल्लो रात थारु महिलाले दर खाने गर्दछन् । दरमा माछा अनिवार्यजस्तो रहेको सभाकी अध्यक्ष चौधरीले बताउनु भयो । सभाजकी अध्यक्ष गीता चौधरीको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा प्रदीप लेखी, कानूनलाल चौधरी लगायतले जितिया र त्यसको महत्वका बारेमा चर्चा गर्नुभएको थियो ।




