शुभकामना आदान प्रदान गर्दै भव्यताकासाथ जितिया पर्व सम्पन्न


काठमाडौं, भदौ २८ गते । काठमाडौंमा बसोबास गर्ने थारु समुदायले जितिया पर्व भव्यताकासाथ मनाएका छन् । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठान र पर्यटन बोर्डको सभाकक्षमा बुधबार छुट्टाछुट्टै जितिया कार्यक्रम आयोजना गरिएको थियो ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठान र पर्यटन बोर्डको सभाकक्षमा बुधबार छुट्टाछुट्टै जितिया कार्यक्रम आयोजना गरिएको थियो । थारु कल्याणकारिणीसभा अन्तर्गतको थारु महिला सभा र थारु महिला समाजको संयुक्त आयोजनामा कमलादीमा जितिया महोत्सव आयोजना गरिएको थियो । त्यस्तै, थारु सांस्कृतिक संगीत विकास मञ्चले पर्यटन बोर्डको सभाकक्षमा जितिया कार्यक्रम आयोजना गरेको थियो । दुवै ठाउँमा थारु समुदायका प्रतिनधिहिरुको बाक्लो उपस्थिति थियो ।

सूर्य भगवानका सुपुत्र जितमहानको विधिवत पूजापछि सांस्कृतिक कार्यक्रम गरी जितिया पर्व थारु समुदायले मनाएका छन् । सो अवसरमा विभिन्न थारु नृत्य तथा सांस्कृतिक झाँकीको पनि आयोजना गरिएको थियो । थारु महिलाले २४ घण्टासम्म व्रत बसी सन्तानको दीर्घायूको कामना गर्दै जितिया पर्व मनाएका छन् ।

कार्यक्रमको उद्घाटनसत्रमा बोल्दै श्रम राज्यमन्त्री डिल्लीबहादुर चौधरीले थारु समुदाय सांस्कृतिकरुपले धनी भएकाले त्यसको संरक्षणमा थारु समुदाय नै लाग्नुपर्ने बताउनुभयो । राज्यको तर्फबाट हुने सहयोगका लागि आफूले सक्दो प्रयत्न गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । थारुको संस्कृति नै थारुको वास्तविक पहिचान भएको बताउँदै उहाँले युवापीढिलाई समेत त्यसमा सरिक गराउन आग्रह गर्नुभयो ।

सांसद तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) की अध्यक्ष रुक्मिणी चौधरीले जितिया पर्वले सबैको सदबुद्धि कायम गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । प्रदेश २ मा चुनावी सरगर्मी रहेकाबेला जितिया पर्व परेकाले थारु उम्मेदवारलाई जिताउन पनि पर्वले प्रेरणा प्रदान गरोस उहाँले कामना व्यक्त गर्नुभयो । थारु समुदायलाई सांस्कृतिक जनचेतना सँगसँगै राजनीतिक चेतना बढाउन पनि उहाँले आग्रह गर्नुभयो ।

थारु महिला सभाजकी अध्यक्ष गीता चौधरीको सभापतित्वमा भएको कार्यक्रममा थारु अगुवाहरु भुलाई चौधरी, सत्यनारायण चौधरी, कानूनलाल चौधरी, बुद्धसेन चौधरी, तारा चौधरी लगायतले जितियाको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान दिने थारु प्रतिनिधिहरुलाई सम्मानित गरिएको थियो ।

शब्द तथा तस्विर प्रस्तुतीः लक्की चौधरी, गीता चौधरी

तपाईको प्रतिक्रिया