
लक्की चौधरी
काठमाडौं, असोज ३ गते । प्रदेश २ को स्थानीय तह तेस्रो चरणको निर्वाचनमा करिब ७३ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । सोमबार भएको आठ जिल्लाको १३६ स्थानीय तहमा शान्तिपूर्ण र उत्साहप्रदरुपमा निर्वाचन सम्पन्न भएको आयोगले बताएको छ ।
मतदान कार्यक्रम सम्पन्न भएपछि सोमबार अपरान्ह आयोगको सूचना केन्द्रमा पत्रकार सम्मेलन गरी आयोगले त्यस्तो जानकारी गराएको हो । सप्तरीको राजविराज नगरपालिका १५ नम्बर वडामा बाहेक सबै ठाउँमा निर्वाचन सम्पन्न भएको आयोगले बताएको छ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को तर्फबाट सो वडाका अध्यक्षका उम्मेदवारको भदौ ३१ गते निधन भएपछि सो वडामा निर्वाचन स्थगित गरिएको आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले बताउनुभयो ।
स्थानीय तहको निर्वाचन मतदाताको उत्साहप्रद सहभागिताबाट सम्पन्न भएपछि नेपालको लोकतन्त्र एक कदम अगाडि बढेको महुशस भएको आयोगका प्रमुख निर्वाचन आयुक्त डा. यादवले बताउनुभयो ।
सो वडामा असोज ५ गते निर्वाचन तय भएको प्रमुख निर्वाचन आयुक्त डा. यादवले जानकारी गराउनुभयो । दुई हजार एकसय ६४ मतदानस्थलका तीनहजार पाँचसय ७५ मतदान केन्द्रमा सम्पन्न निर्वाचनबाट छ हजार छसय २७ जनप्रतिनिधि निर्वाचित हुने आयोगले जनाएको छ । आयोगले विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो ।
स्थानीय तहको निर्वाचन मतदाताको उत्साहप्रद सहभागिताबाट सम्पन्न भएपछि नेपालको लोकतन्त्र एक कदम अगाडि बढेको महुशस भएको आयोगका प्रमुख निर्वाचन आयुक्त डा. यादवले बताउनुभयो । मतदान प्रक्रिया सकिएपछि प्रमुख निर्वाचन अधिकृतको रोहवर र दलीय सल्लाह र परामर्शअनुसार सोमबार राती वा मंगलबार विहानबाट मतगणना शुरुगर्ने निर्णय भएको आयोगले जनाएको छ ।
कुनै ठाउँमा राती नै शुरुहुने मतगणना कुनै ठाउँमा भने सहमतिअनुसार भोलिपल्ट विहानबाट शुरु गर्ने तयारी भएको प्रमुख निर्वाचन आयुक्त डा. यादवले बताउनुभयो । मतगणना शुरुभएको बढीमा पाँचदिन भित्र मत परिणाम आइसक्ने आयोगको अनुमान छ । मतदान काममा अन्त्यन्तै कठिन परिश्रम गरी मतदानको काम सफल बनाउन जुट्नुभएका मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृतहरु, सुरक्षाकर्मी, मतदान अधिकृत, प्रेस, दातृ निकाय, विकास साझेदार संस्था र निर्वाचनमा सहयोगी सबैप्रति आयोगले धन्यवाद ज्ञापन गरेको छ ।
आगामी मंसिर १० र २१ गतेका लागि तोकिएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि पनि त्यसैगरी सहयोगको आशा आयोगले लिएको डा. यादवले विश्वास व्यक्त गर्नुभयो । निर्वाचन आयोगले दिएको जानकारीअनुसार आठवटा जिल्लामा खसेको मतसंख्या र त्यसको प्रतिशत तुलनात्मकरुपमा चित्तबुझ्दो रहेको बताएको छ ।

आयोगकाअनुसार सप्तरीमा ७० प्रतिशत मत खसेको छ । त्यस्तै, सिराहामा ७३, धनुषामा ७०, महोत्तरीमा ७०, सर्लाहीमा ७२, रौतहटमा ७५, वारामा ७५ र पर्सामा ७२ प्रतिशत मत खसेको छ ।मतदानका क्रममा ३८ जना गैरमतदातालाई सुरक्षाकर्मीले पक्राउ गरेको आयोगले जनाएको छ । त्यस्तै, १० जनाले निर्वाचन कानूनको उल्लंघन गरेकाले सुरक्षाकर्मीले नियन्त्रणमा लिएर राम्रो काम गरेको आयोगले भनेको छ । सजगता अपनाउने निर्वाचन अधिकृत र सुरक्षाकर्मीलाई आयोगका प्रमुख निर्वाचन आयुक्त डा. यादवले स्यावासी दिनुभयो ।




