
लालु चौधरी
घोराही, असोज ८ गते । श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीले धर्तीपुत्रकारुपमा रहेका थारु जातिको इतिहास, कला, संस्कृतिको संरक्षणमा थारु पत्रकारले कलम चलाउनुपर्ने बताउनुभएको छ ।
थारु पत्रकार संघ, नेपाल दाङ शाखाको शनिबार तेस्रो जिल्ला अधिवेशनको उदघाटन गर्दै राज्यमन्त्री चौधरीले आदिम कला, संस्कृतिको धनी जातिका रुपमा रहेको थारुको इतिहासँगै कला, संस्कृतिको संरक्षणका लागि थारु पत्रकार तथा कलाकारहरुहरुले इतिहास खोज्नुपर्ने धारणा राख्नुभयो ।
‘थारु जातिहरुको आफ्नै मौलिक कला, संस्कृति छ, जुन संरक्षणको अभावमा लोपहुने अवस्थामा पुग्न थालेको छ ’ राज्यमन्त्रि चौधरीले भन्नुभयो– ‘अब पत्रकारले कलमका माध्यमबाट थारु जातिको कला, संस्कृति संरक्षणका लागि लेखेर बोलेर राज्यलाई दवाफ दिनुपर्छ ।’ पश्चिम नेपालमा दाङ थारुको उदगमथलो भएको भन्दै मन्त्री चौधरीले थारु समुदायका अगुवा, बुद्धीजीवि, पत्रकार, कलाकारले लोपोन्मुख अवस्थामा रहेका थारु जातिको बारेमा अध्ययन अनुसन्धान गर्नुपर्ने बताउनुभयो ।

पूर्व राज्यमन्त्री तथा पूर्व सांसद महेश चौधरीले पत्रकारिता माध्यमबाट समाजलाई रुपान्तरण गर्नसक्ने आधार रहेकाले सञ्चारकर्मीलाई सिर्जनात्मक हुन आग्रह गर्नुभयो । थारु पत्रकारको संख्या बृद्धि भइरहेकोप्रति खुशीव्यक्त गर्दै उहाँले स्थानीय देखि केन्द्रसम्म थारु पत्रकारको प्रतिनिधित्व भएकोमा समाजलाई फाइदा पुगेको बताउनुभयो । पत्रकारको गुणत्मकअवस्थाका लागि पहल गर्न उहाँले संघलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष बिपुल पोख्रेलले थारु भाषालाई सञ्चार माध्यमहरुले महत्वपूर्ण रुपमा उठाउँदै आएको बताउनुभयो । सञ्चारक्षेत्र भनेकै राज्यबाट पछाडि पारेका दविएका जनताहरुको आवाज बुलन्द गर्ने माध्यम भएको भन्दै उहाँले थारु जातिको भाषा, संस्कृतिको संरक्षणमा केन्द्रीय मिडियाहरुदेखि स्थानीय मिडियाहरुले सहयोग गरिरहेको दावी गर्नुभयो ।

थारु पत्रकार संघ दाङका अध्यक्ष सन्तोष दहितको अध्यक्षतामा भएको कार्यक्रममा दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जिएम, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, थारु बुद्धिजीवि सौगतवीर चौधरी, थारु पत्रकार संघका सल्लाहकार लक्ष्मीमान चौधरी, सल्लाहकार केवी चौधरी, थारु विद्यार्थी समाज दाङका अध्यक्ष मानवीर चौधरी, सिसा नेपाल सस्थाकी अध्यक्ष साजिद्धा सिद्दिकी, कम्लहरी अभियान्ता उर्मिला चौधरीलगायतले बोल्नुभएको थियो ।
यसैबीच थारु पत्रकार संघको तेस्रो जिल्ला अधिवेशनबाट सन्तोष दहितको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा अञ्जना चौधरी, सचिवमा नवीन चौधरी, सह–सचिवमा सविता चौधरी, कोषाध्यक्षमा राजकुमार कान्छा, सदस्यहरुमा कल्पना चौधरी, शेरबहादुर चौधरी, सवि थारु, उदिराम चौधरी, विष्णु चौधरी, अञ्जना चौधरी, श्रीराम दहित, महेन्द्र कुसुम्या रहेका छन् ।




