अवको सरकार वाम गठबन्धनसहित एमाले नेतृत्वमा बनाउने तयारी


लक्की चौधरी

काठमाडौं, असोज १६ गते । नेकपा (एमाले) ले आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा वाम शक्तिसँग गठबन्धन गरेर अगाडि बढ्ने निर्णय गरेको छ ।

अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकले त्यस्तो निर्णय गर्दै वाम दलसँग चुनावी गठबन्धन सँगसँगै पार्टी एकताका लागि पनि ढोका खुल्लै राख्ने बताएको छ । ‘अहिलेको आवश्यकता वाम दलबीच एकता’ रहेको बताउँदै एमालेले मुलुकको परिवर्तन र राष्ट्रिय एकताका लागि पनि एकता अपरिहार्य रहेको तर्क गर्नुभयो ।

एमाले सचिव प्रदीप ज्ञवालीले आसन्न मंसिरको निर्वाचनमा सबै वामपन्थी, देशभक्त तथा प्रगतिशील शक्तिसँग सहकार्य गर्दै अगाडि बढ्ने बैठकले निर्णय गरेको जानकारी दिनुभयो । बैठकले प्रदेश २ को निर्वाचन र त्यसको परिणामबारे समेत गम्भीर समिक्षा गरेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठकाअनुसार प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रियालाई व्यवस्थित गर्ने निर्णय बैठकले गरेको छ । पार्टीको स्थानीय इकाई कमिटिले १७ गते भित्र जिल्लामा उम्मेदवारको नाम सिफारिस गर्ने, १९ र २० गते भित्र जिल्लाले प्रदेशमा सो नाम सिफारिस गर्ने र प्रदेशले २२ र २३ गतेभित्र स्थायी कमिटीमा सो नाम सर्वसम्मतले सिफारिस गर्न निर्देश गरिएको कार्यालय सचिव श्रेष्ठले बताउनुभयो ।

आगामी प्रदेश र केन्द्रीय निर्वाचनमा एमाले पहिलो शक्ति हुने र वाम गठबन्धन गरेर नयाँ सरकार गठन गर्ने तयारी एमालेको रहेको उहाँले बताउनुभयो ।

पार्टीको तल्लो निकायबाट सिफारिस भएर आउने उम्मेदवारको नामलाई अन्तिम रुप दिई असोज २९ गते भित्र निर्वाचन आयोगमा बन्दसूची बुझाउने तयारी गरेको कार्यालय सचिव श्रेष्ठले जानकारी दिनुभयो । यसअघि स्थानीय तह निर्वाचनमा उम्मेदवार विवादले केही ठाउँमा पार्टीलाई घाटा भएको समिक्षा गर्दै पार्टीले यस पटक सर्वसम्मतले साझा उम्मेदवार बनाएर जाने तयारी गरेको बताउनुभयो ।

प्रदेश २ मा एमाले समग्रमा पाँचौ स्थानमा देखिए पनि जित संख्याको आधारमा दोस्रो भएको बताउँदै एमालेले मधेसी जनताको सेन्टिमेन्ट पनि एमालेतिरै रहेको बैठकले निस्कर्ष निकालेको केन्द्रीय सदस्य समेत रहनुभएका नेता श्रेष्ठले जानकारी दिनुभयो । आगामी प्रदेश र केन्द्रीय निर्वाचनमा एमाले पहिलो शक्ति हुने र वाम गठबन्धन गरेर नयाँ सरकार गठन गर्ने तयारी एमालेको रहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया