
भगतराम थारु
नेपालगन्ज, असोज १८ गते । दशैको अवसरमा थारु वस्तीमा नाचिने हुरदंग्वा र सखिया नाच दशैं सकिए पनि नाच अझै जारी रहेको छ । दशैको अवसरमा थारु वस्तीमा नाचिने नाचले अझै रौनकता थपेको छ ।
यतिबेला बाँके, बर्दिया जिल्लाको थारु बस्तिमा दशैमा नाचिने नाच धुमधामका साथ नाचिएकै छन् । बाँकेको बैजनाथ, राप्तीसोनारी, कोहलपुर, खजुरा, पेडारी, शम्सेरगंज, बर्दियाको ठाकुरवावा नगरपालिकाका विभिन्न वडा तथा बारबर्दिया लगायत राजापुर क्षेत्रका थारु बस्तीमा सखिया, हुरदंङग्वा, छोक्रा जस्ता नाच नाचिने गरिएका छन ।
दशै, महोत्सव र थारु पर्वमा नाचिने सखिया नाँच अहिले थारु बस्तीमा अझै जारी भएको थारु अगुवाहरुले बताउछन् । दशै सकिए पनि थारु समुदायमा हुरदुग्वा तथा सखिया नाचले छुट्टै उत्साह र उमंग थपेको ठाकुरवावा गाउपालिकाका थारु अगुवा लहानु थारुले बताउनुभयो ।
थारु नाँचले गाउघरमा झन उल्लास र लोकप्रियता बढाएको छ उहाँले भन्नुभयो । दशैमा नाचिने हुरदुग्वा नाचले झन विशेष दशै बनाउने गरेको पाइन्छ । दशैको पित्रहुवामा नाचिने हुरदंग्वा नाच स्थानियहरु गाउँबाट सुरु भई नजिकै रहेको खोलामा गई सेलाउने गरेको पाइन्छ ।

्नाचगान सहित पित्तर (देउता) बगाउन जाने थारु समुदायमा उल्लास नै थपेको हुन्छ । सोही दिन हरेक युवाले धोती तथा युवतीहरुले लेहगा लगाउने चलन समेत रहेको थारु पत्रकार संघ नेपाल बाँके शाखाका सदस्य लक्ष्मी चौधरीले बताउनुभयो ।
गाउँमा सखिया नाचमा युवतीले सेतो रंगको फरिया र रातो रंगको चोलिया लगाउने गर्छन् । केटाले सेतो रंगको धोती र रुची अनुसारको कमीज लगाउने समेत चलन छ । थारु युवतीले अरुबेला सेतो फरिया लगाउने चलन नभए पनि यो नाचमा भने सेतो फरिया लगाउने गर्छन् । थारु वस्तीमा नाचिने नाचले सांस्कृतिलाई जगेर्ना समेत गरेको छ ।
बर्दियाको धनौरामा आयोजित दशै विशेष सांस्कृतिक कार्यक्रमले झन त्यस ठाउँका स्थानिय हर्षित भएका थिए । दशै बिशेष कार्यक्रमले स्थानिय तथा राष्ट्रियस्तरका कलाकारहरुको जमघट गराएर थारु संस्कृतिक नाचगान तथा नाटक समेत प्रस्तुत गरिएको थियो ।

थारु अगुवाका अुनसार सचेतनामुलक कार्यक्रममा सखिया नाँचको प्रयोग हुनु यसको संरक्षण, प्रवद्र्धन र विस्तारमा राम्रो प्रचलन हो । ‘विभिन्न सचेतनामुलक, अभियान, महोत्सवमा नाचिने सखिँया नाँच २२ वटा सखिँया ताल मध्ये पैँया नाँच हो’, उहाले भन्नुभयो, ‘यो नाँच मध्यपश्चिमका छ जिल्लामा नाच्ने गरिन्छ ।’ धानको खेतीपाती काम सकेर दशैसम्म कृष्ण चरित्रको कथा गाएर समुहमा यो नाचिन्छ उहाले भन्नुभयो ।
२२ तालमा नाँचिने सखिया नाँच सखिया शब्दबाट गाउँने गरिन्छ । यसमा १२ देखि १४ जनासम्म युवती, दुई देखि दश ताल मादलबाट नाच्ने गर्छन् । यो नाचमा थारु युवतीले नाच्ने र युवाले मादल बजाउने गर्दछन् । सखिया नाचमा जति धेरै मादल बजे त्यति नै रौनकता हुनेगर्छ । थारु भाषामा सखीको अर्थ साथीसंगी हुन्छ । गाउँका सबै साथीसंगी मिलेर नाचिने भएकोले यसको नाम सखिया राखिएको हो । संस्कृति जोगाउन दशै तथा विभिन्न पर्वको अवसरमा गाउँ गाउँमा सांस्कृतिक नाच गरिने गरेको पाइन्छ ।




