
लक्की चौधरी
काठमाडौं, कात्तिक ७ गते । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारसहित एक समूहले असोज ३० मा नेपाली कांग्रेसमा पार्टी समाहित भएको घोषणा गरेपनि असन्तुष्ट नेताहरुले पुनः सो पार्टी व्यूँताउने अभ्यासमा लागेका छन् ।
सो दलका सहअध्यक्ष भानुराम थारु नेतृत्वमा नेपाल लोाकतान्त्रिक फोरम व्यूँताउने अभ्यास भएको असन्तुष्ट नेताहरुले बताएका छन् । पार्टीभित्र छलफल नै नगरी एकल निर्णयको आधारमा गच्छदारले पार्टीलाई कांग्रेसमा मिलाएको घोषणा गरेपनि त्यस्तो हुन नदिने तत्कालिन सहअध्यक्ष थारुले बताउनुभयो ।
पार्टीभित्रको पचास प्रतिशतभन्दा वढी नेता र कार्यकर्ता पुरानै पार्टीको पक्षमा रहेकाले फोरमलाई बचाएर चुनावी अभियानमा जाने तयारी भएको नेता थारुले जानकारी गराउनुभयो । सो दलको चुनाव चिन्ह ‘नमस्ते’ लाई लिएर आगामी निर्वाचनमा जाने समय नपुग्ने भएपछि संघीय समाजवादी फोरमसँग सहकार्य गरेर ‘मसाल’ चुनाव चिन्ह लिएर निर्वाचनमा जाने तयारी भएको थारुले बताउनुभयो ।

“नेपाली कांग्रेससँग तालमेल र सहकार्यको कुरा भएको थियो, तर गच्छदारले पार्टी नै मिलाउने निर्णय गरेपछि हामी बाहिरियौं” सहअध्यक्ष थारुले भन्नुभयो, “अहिले साविककै नामबाट निर्वाचनमा होमिन्छौं, निर्वाचनपछि दलको नाम पनि परिवर्तन गरेर जान्छौं ।” पश्चिमको कैलाली र कञ्चनपुरको केही क्षेत्रमा मुख्य पकड रहेको सो दलबाट कैलाली क्षेत्र नं. ३ बाट आफू प्रतिनिधिसभाको उम्मेदवार बन्न लागेको पनि थारुले जानकारी दिनुभयो ।
चुनाव चिन्ह ‘नमस्ते’ लाई लिएर आगामी निर्वाचनमा जाने समय नपुग्ने भएपछि संघीय समाजवादी फोरमसँग सहकार्य गरेर ‘मसाल’ चुनाव चिन्ह लिएर निर्वाचनमा जाने तयारी भएको थारुले बताउनुभयो ।
त्यस्तै, गच्छदार नेतृत्वको फोरमको सहमहामन्त्री रहनुभएका राज थारुले गच्छदारले थारु समुदायलाई धोका दिएको टिप्पणी गर्नुभयो । “थारु समुदायको हक अधिकार सुनिश्चित् गराउन सबल थारु नेतृत्वकै पार्टी आवश्यक रहेको भन्दै थारुको भोट बटुल्नुभएका गच्छदारले अन्तिममा विचलित हुनुभयो” थारुले भन्नुभयो । अब आफूहरु पुरानै पार्टीलाई व्यूँताएर नयाँ नेतृत्वकासाथ अघि बढ्ने तयारी भएको उहाँले जानकारी दिनुभयो ।
फोरमका केन्द्रीय सदस्य माधव थारुले पनि पुरानै पार्टीलाई अघि बढाउनेगरी हस्ताक्षर अभियान शुरुभएको बताउनुभयो । कैलाली, कञ्चनपुर र बाँकेमा हस्ताक्षर अभियान सम्पन्न भई पूर्वका थारु बहुल जिल्लामा अभियान चलाइएको उहाँले जानकारी दिनुभयो । थरुहटको माग मुद्दा र अधिकारका विषयलाई थाँतीराखेर आफ्नो व्यक्तिगत अवसरलाई ख्याल गरी गच्छदार कांग्रेसमा गएको आरोप उहाँले लगाउनुभयो ।
यता गच्छदारसँगै कांग्रेस पार्टीमा प्रवेश गर्नुभएका सो दलका महामन्त्री मिनराज थारुले थारुको माग मुद्दा सम्बोधन गराउने सर्तमा कांग्रेसलाई अलोचनात्मक समर्थन गरेको बताउनुभयो । राजनीतिक स्थायित्व र देशको विकासका लागि पनि सामुहिक संघर्षको खाँचो रहेको बताउँदै उहाँले आफूहरु कांग्रेसमा गएर पनि थरुहटको मुद्दा नछाड्ने प्रतिवद्धता जनाउनुभयो ।
गच्छदारसँगै कांग्रेसका नेताहरु गोपाल दहित, रामजनम चौधरी, जनक चौधरी, मिनराज थारु लगायतका थारु नेताहरु कांग्रेसमा प्रवेश गर्नुभएको छ । यता असन्तुष्ट नेताहरु सहअध्यक्ष भानुराम थारुकै नेतृत्वमा फोरमलाई व्यूँताउने अभियान चलाएका छन् । संविधानसभा २०७० को निर्वाचनमा फोरम लोकतान्त्रिकले कैलालीको क्षेत्र नं. १ र ३ मा विजयी प्राप्त गरेको थियो ।




