
काठमाडौं, कात्तिक २५ गते । प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार बनेका थारु उम्मेदवारलाई विजयी गराउन थारु कल्याणकारिणीसभा (थाकस) ले थारु समुदायलाई आव्हान गरेको छ ।
थाकस उपत्यका समितिले शनिबार यहाँ छलफल आयोजना गरी त्यस्तो आव्हान गरेको हो । थारु उम्मेदवारहरु प्रतिनिधिसभा र प्रदेशसभाका लागि तराईका विभिन्न जिल्लाबाट प्रतिस्पर्धामा छन् । मसिर २१ गते हुने निर्वाचनमा थारु उम्मेदवारलाई विशेष प्राथमिकता दिन थाकसले समुदायलाई आग्रह गरेको हो ।
थारु उम्मेदवारबीच नै प्रतिस्पर्धा रहेको क्षेत्रमा भने थारुको हकहितका लागि आवाज उठाउने, थारुप्रेमी र विकासप्रेमी थारु उम्मेदवारलाई मतदान गर्न थाकसले भनेको छ । थारु प्रतिनिधिहरु प्रतिनिधिसभाका लागि प्रत्यक्ष र प्रदेशसभाका लागि समानुपातिक उम्मेदवारको सूचीमा विभिन्न दलबाट परेका छन् ।
थारुको अधिकार सुनिश्चित् गर्न भोलिका दिन नीति नियम बनाउने तहमा प्रभावकारी भूमिका खेल्नसक्ने उम्मेदवार र सुशासनप्रेमी उम्मेदवारलाई जिताउन थाकसले भनेको छ ।

थाकस उपत्यका समितिका सभापति सत्यनारायण चौधरीको सभापतित्वमा भएको छलफल कार्यक्रममा डा. पुलकित चौधरी, डा. उदयकान्त चौधरी, विद्यानन्द चौधरी, जयनारायण चौधरी, पृथ्वीचन्द्र चौधरी लगायतले थारु उम्मेदवारलाई जिताउन थाकसको पहल जिल्लास्तरमा हुनुपर्ने सुझाव दिनुभयो ।




