
अविनाश चौधरी
धनगढी, मंसिर ४ गते । मुलुकभरी चुनावी चहल पहल बढेको बेला कैलालीको हौसलपुर गाउँलाई निर्वाचनको रौनकले छुन सकेको छैन । राज्यको दृष्टि पुग्न नसकेको सो गाउँमा चुनावलक्षित कार्यक्रम लिएर राजनीतिक दलहरु पनि नगएपछि अहिलेसम्म चुनावी चहलपहल हुन नसकेको हो ।
कैलारी गाउँपालिका–७ स्थित मोहना नदी पारिको सो गाउँवासी आ–आफ्नै घरायसी काममा व्यस्त छन् । सहरदेखि गाउँसम्म पुगेर दलहरु मतदाता फकाइरहँदा हौसलपुरका स्थानीयलाई गहुँ छर्ने चटारो छ । गाउँमा कुनैपनि दलका नेताहरु भोट माग्न नआएको सुनाउँदै स्थानीय रामु चौधरीले चुनावी चहलपहल नरहेको बताए ।
‘मङ्सिरमा चुनाव हुनेवाला छ भनेर सुनेका छौं’, खेतमा गहुँ छर्दै गरेका उनले भने–‘तर, अहिलेसम्म हाम्रो यहाँ भोट माग्न कोही आएको छैन । हामी पनि खेतीपातीको काममा व्यस्त छौं ।’ मुलुकमा भएको ठूलठूला परिवर्तन र राज्य उपस्थितिको हौसलपुरवासीले अहिलेसम्म महसुस समेत गर्न सकेका छैनन् ।
नेपाल–भारत सीमा नजिकको सो गाउँमा नेपालीभन्दा भारतीय शिक्षादिक्षा, भेषभूषा, बोली, संस्कार र मुद्रा प्रचलनमा रहेको छ । साइनो सम्बन्ध बढी उतैको गाउँ बेलापरसुवासंग हुने गरेको छ । बालबालिकाको आधारभूत शिक्षाकालागि एउटा विद्यालय र मोहना नदीमा झोलुङ्गे पुलको मागगर्दै आएपनि अहिलेसम्म सुनुवाई नभएको गाउँका भलमन्सा बिक्रम चौधरीले गुनासो गरे । राज्यले उपेक्षा गरेको गाउँमा सुविधा उपलब्ध गराउनकालागि राजनीतिक दलहरुले समेत पहल नगरेको उनको दुखेसो छ ।
आफ्नो मान्छे नहुँदा जति कराए पनि सुनुवाई नहुँदो रहेछ ।’हौसलपुरमा तत्कालिन रतनपुर गाविसको कार्यालयले दुईवटा नल्का र मोहना नदी तर्नकालागि एउटा काठको डुङ्गा दिएको छ ।
‘हामीले पटक–पटक राजनीतिक पार्टीका नेताहरुलाई आफ्नो समस्या सुनाउने गरेका छौं’, उनले बताए–‘तर, आफ्नै देशवासीलाई राज्य र राजनीति दुवैले पराया ठानेको छ । आफ्नो मान्छे नहुँदा जति कराए पनि सुनुवाई नहुँदो रहेछ ।’हौसलपुरमा तत्कालिन रतनपुर गाविसको कार्यालयले दुईवटा नल्का र मोहना नदी तर्नकालागि एउटा काठको डुङ्गा दिएको छ ।
सो गाउँवासीले सरकारबाट देख्नेगरी पाएको सेवा सुविधा यहि हो । बाटोघाटोसहित विभिन्न समस्या रहेको यो गाउँसम्म सरकारी निकायका व्यक्ति र राजनीतिकदलका नेताहरुनै जान आनाकानी गर्ने गरेको बताइन्छ । २२ घरपरिवारको बसोबास रहेको सो गाउँमा करिब डेढसय जति मतदाता छन् । स्थानीयतहको निर्वाचनमा मोहना नदी तरेर रामपुरस्थित मतदान केन्द्रमा भोट हालेका सो गाउँवासीले यसपालिको निर्वाचनमा विद्यालय, झोलुङ्गे पुल निर्माण र बाटोमा ग्राभेल गर्न पहल गर्ने नेतालाई भोट दिने बताएका छन् ।
‘हुन त, हाम्रो यी माग नयाँ होईन । यहि माग राख्दै धेरै निर्वाचनमा भोट हालिसक्यौं’, कृषक रामुले अगाडि थपे–‘भोट माग्नकालागि कहिलेकाँही आउने नेता पनि निर्वाचन सकेपछि फर्केर समस्या बुझ्न आउँदैनन् ।’ गाउँमा आधा किलोमिटर जति रहेको बाटो बर्खामा हिलाम्ये हुनेगरेकाले ग्राभेलको माग गर्दै आएको उनको भनाइ छ । ‘बाटोमा ग्राभेल, आधारभूत कक्षासम्म पढाई हुने एउटा विद्यालय र आवतजावतका लागि नदीमा पुल भएपछि हामीलाई अहिलेकोजस्तो दुःख हुनेछैन । किनभने हामीले बालबच्चा भारतको विद्यालयमा पढाउनु पर्ने बाध्यता छ । बर्खामा नदी तर्न नसक्दा आवत जावत नै बन्द हुने गर्दछ ।’
‘सोझासाझा हामीलाई राजनीति गर्न र आफ्नो माग सजिलै राख्न आउँदैन’, स्थानीय लक्ष्मी चौधरीले भनिन्–‘नेता जीहरुले नै हाम्रो लागि विकासको एजेण्डा लिएर आउनेछन् भन्ने विश्वास गरेका छौं ।
सो गाउँका सम्पूर्ण बालबालिका भारतको विभिन्न विद्यालयमा अध्ययन गर्दै आएका छन् । सुगम जिल्लाको दुर्गम ठाउँको रुपमा चिनिएको सो गाउँमा राज्यतर्फबाट पहिलो पटक गतवर्ष कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल पुगेका थिए । बाटोघाटो समस्याका कारण ट्रयाक्टर चढेर गाउँसम्म पुगेका रिजालले गाउँवासीलाई राज्य उपस्थितिको महसुस गराउने वाचा गरेका थिए ।
गतवर्ष जिल्ला प्रमुख आइसकेपछि अचेल कहिलेकाँही नेपाल प्रहरी पुग्ने गरेको गाउँका युवा जुगराम चौधरीको भनाइ छ । नेपाली पुलिस देख्न पाएपनि राज्यबाट प्राप्त हुने आधारभूत सेवा सुविधा र विकास आफ्नो गाउँमा अहिलेसम्म देख्न नपाएको उनले बताए । स्थानीय तहको निर्वाचनमा केहि राजनीतिक दलका कार्यकर्ताहरु गाउँमा भोट माग्न आएको हौसलपुरवासीलाई सम्झना छ ।
दलका कार्यकर्ताहरुको आग्रहमा नदी तरेर भोट हालेका उनीहरुले यसपालि नेताहरु विकासको एजेण्डा सहित आफ्नो गाउँमा प्रवेश गरुन भन्ने चाहना राखेका छन् । ‘सोझासाझा हामीलाई राजनीति गर्न र आफ्नो माग सजिलै राख्न आउँदैन’, स्थानीय लक्ष्मी चौधरीले भनिन्–‘नेता जीहरुले नै हाम्रो लागि विकासको एजेण्डा लिएर आउनेछन् भन्ने विश्वास गरेका छौं ।
आश्वसनभन्दा पनि हामीलाई विकास चाहिएको छ ।’ नेपाल–भारत सीमा साँध स्पष्ट नदेखिने ठाउँमा हौसलपुर गाउँवासी जङ्गे पिल्लरको रुपमा बसोबास गरेका छन् । भारतीय सुरक्षाकर्मीको ज्यादति सहेर उनीहरु आफ्नो देशको भूमी रक्षा गर्दै आएका छन् ।




