
लक्की चौधरी
काठमाडौं, मंसिर ९ गते । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) की अध्यक्ष रुक्मिणी चौधरीले आगामी निर्वाचनबाट राष्ट्रिय दल बन्ने आकांक्षासहित आफू तराईका जिल्ला दौडाहामा रहेको बताउनुभएको छ ।
हमार पहुरा डट कमसँग शनिबार संक्षिप्त कुरा गर्नुहुँदै अध्यक्ष चौधरीले आफू व्यक्तिगत स्वार्थ त्याग गरेर थारु र मधेसी समुदायकालागि लागिपरेको दावी गर्नुभयो । गाग्री चुनाव चिन्ह लिएर उहाँले आफ्नो दलबाट एकजना मात्र प्रतिनिधिसभाको उम्मेदवार बनाउनुभएको छ भने ६ जना प्रदेशसभाका लागि उम्मेदवारी दिएको बताउनुभयो । आफूलाई भने उहाँले समानुपातिक तर्फको उम्मेदवारी सूचीमा राख्नुभएको छ ।
अध्यक्ष चौधरीले आफू निस्वार्थ भावकासाथ थारु र मधेसी समुदायको उत्थान र अधिकारका लागि लागिपरेकाले मतदाताले आफूलाई विश्वास गरी राष्ट्रिय दलकोरुपमा स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
रौतहट क्षेत्र नं. १ बाट संगीता कुमारी पाण्डेलाई उहाँले प्रत्यक्ष तर्फको उम्मेदवार बनाउनुभएको छ । मधेसी समुदायकी पाण्डे उहाँको पार्टीबाट एकमात्र उम्मेदवार हुन भने रौतहटमा महिलाबाट प्रत्यक्ष तर्फको पनि एकमात्र उम्मेदवार भएकी छन् । तराईका करिब सबै जिल्लामा पार्टीको संगठन रहेको बताउँदै अध्यक्ष चौधरीले आफू निस्वार्थ भावकासाथ थारु र मधेसी समुदायको उत्थान र अधिकारका लागि लागिपरेकाले मतदाताले आफूलाई विश्वास गरी राष्ट्रिय दलकोरुपमा स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
जिल्लाबाट मतदाताको आफ्नो भारी माग भएपनि आफू सबै ठाउँमा जान अझै नसकेको तर्क गर्दै उहाँले निर्वाचनसम्म (मंसिर २१) आफू जिल्लामा रहने जानकारी दिनुभयो । पश्चिमको कैलाली र कञ्चनपुर जिल्लामा अझै पुग्न नसकेको बताउँदै उहाँले तराईका पूर्वी जिल्लामा केन्द्रीत भएको जानकारी दिनुभयो । शनिबार उहाँ रौतहटबाट पर्साको चुनावी अभियानमा रहेको जानकारी दिनुभयो ।
राष्ट्रिय दल बन्नकालागि कुल सदर मुतको ३ प्रतिशत मत प्रतिनिधिसभामा ल्याउनुपर्ने र कुल सदर मतको १.५ प्रतिशत मत प्रदेशसभामा ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।
आफूलाई नेपाली कांग्रेसबाट प्रत्यक्ष र समानुपातिक दुवै उम्मेदवार बनाउने प्रस्ताव आएपनि स्वीकार नगरेको बताउँदै चौधरीले भन्नुभयो, “मलाई मेरो समुदायको मुद्दा र अपनत्व प्यारो छ, व्यक्तिगत स्वार्थकालागि म आफूलाई दुरुपयोग गर्दिन ।” एक न एकदिन थारु समुदायले आफू र आफ्नो दललाई मायाँ गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
यसअघि संविधानसभाको निर्वाचनमा दुई पटक समानुपातिक सभासद बन्नु भएकी अध्यक्ष चौधरीले यसपल्ट ३ प्रतिशत थ्रेसहोल्डका कारण केही अप्ठेरो रहेपनि मतदाताको माया र सहयोगले आफ्नो दल राष्ट्रिय दल बन्ने दावी गर्नुभयो ।
निर्वाचन ऐन र निर्देशिकाअनुसार राष्ट्रिय दल बन्नकालागि कुल सदर मुतको ३ प्रतिशत मत प्रतिनिधिसभामा ल्याउनुपर्ने र कुल सदर मतको १.५ प्रतिशत मत प्रदेशसभामा ल्याउनुपर्ने व्यवस्था गरिएको छ । यसकालागि अध्यक्ष चौधरीको दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) ले करिब पौने तीन लाख मत ल्याउनुपर्ने हुन्छ ।




