
लक्की चौधरी
काठमाडौं, मंसिर १८ गते । सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढी कैलालीमा पर्छ । कैलालीमा थारुको जनसंख्या सबैभन्दा वढी छ । थरुहट आन्दोलनको उदगमस्थल पनि कैलाली नै हो । २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा थरुहट आन्दोलनले निर्वाचन परिणाममा थारु सेन्टिमेन्ट कायम राख्ला कि राख्दैन ? थारु अगुवाहरुले विश्लेषण गर्न थालेका छन् ।
कैलालीको क्षेत्र नं ५ मा थरुहट आन्दोलनका एक अगुवामध्ये लक्ष्मण थारु राष्ट्रिय जनता पार्टी (राजपा) बाट प्रतिनिधिसभाका उम्मेदवार छन् । त्यस्तै वाम गठबन्धनको तर्फबाट एमालेका नेता तथा पूर्व सांसद नारदमुनी रानाथारुले सोही क्षेत्रबाट प्रतिस्पर्धामा छन् । सोही क्षेत्रमा कांग्रेस नेतृ आरजु देउवा राणाको उम्मेदवारी छ ।
थरुहट आन्दोलनमा एक भएर लडेका थारु समुदाय के कुनै एक उम्मेदवारलाई रोजेर आफ्नो मत दिन सक्छन् ? चासोको विषय बनेको छ ।
सो क्षेत्रमा कुल ९२ हजार मत मध्ये थारुको मत करिब ३१ हजार छ । थारुको मतमात्रै ल्याउन सक्ने उम्मेदवारको जित त्यहाँ सुनिश्चित् हुन्छ । तर थारुको मत एकत्था जानसक्ने अवस्था अहिलेसम्म देखिएको छैन । थरुहट आन्दोलनमा एक भएर लडेका थारु समुदाय के कुनै एक उम्मेदवारलाई रोजेर आफ्नो मत दिन सक्छन् ? चासोको विषय बनेको छ । यदि त्यसो हनुसक्यो भने थारु उम्मेदवारको जित कसैले रोक्न सक्दैन । तर त्यसो हुने सम्भावना शुन्य वरावर हो ।
कैलालीमा कुल जनसंख्या ७ लाख ७५ हजार ७०९ छ । जसमध्ये थारुको जनसंख्या ३ लाख २२ हजार १२० छ । यो कुल जनसंख्याको ४२ प्रतिशत हो । सो मध्ये करिब डेढ लाख मत थारुको छ । कैलालीमा पाँच क्षेत्र निर्धारण गरिएको छ । यसअघि ६ वटा निर्वाचन क्षेत्र रहे पनि अहिले त्यसलाई पाँचमा सीमित गरिएको छ ।

क्षेत्र नं. ५ मा नारदमुनी रानाथारुको मत जेलबाट उम्मेदवारी दिएका लक्षण थारुले काट्ने अनुमान गरिएको छ । त्यस्तै आरजु राणाको मत विवेकशील साझाका उम्मेदवार दिनेश भण्डारीले काट्ने अडकल मतदाताले गरेका छन् । यसरी हेर्दा जित र हारकालागि प्रमुख प्रतिस्पर्धा आरजु र नारदबीच नै हुने देखिन्छ । संगठनात्मक हिसावले पनि यी दुई उम्मेदवारसँग मत बढी छन् ।
सो क्षेत्रका उम्मेदवार भानुराम थारुले भन्नुभयो, “अरुबेला थारु आन्दोलन गर्छौ, थारुको हकअधिकारको कुरा गर्छौ तर चुनावकाबेला सब आफ्नो स्वार्थमा लाग्छन्, थारुको समस्या यही हो ।”
थारु अगुवाले प्रतिस्पर्धामा रहेको अर्को निर्वाचन क्षेत्र ३ हो । जहाँ पूर्वमन्त्रीहरु रामजनम चौधरी (कांग्रेस) बाट गौरीशंकर चौधरी (वाम गठबन्धन), भानुराम थारु (संघीय समाजवादी फोरम) र मिना चौधरी (राजपा) बाट प्रतिस्पर्धामा छन् । कुल ९० हजार मतदाता रहेको सो क्षेत्रमा करिब ३१ हजार ५०० मत थारुको छ । थारुको मत एककत्था जाने हो भने त्यहाँ थारु उम्मेदवारलाई जित्न कुनै समस्या देखिदैन । तर थारुको मत त्यहाँ पनि बाँडिएको छ ।
सो क्षेत्रका उम्मेदवार भानुराम थारुले भन्नुभयो, “अरुबेला थारु आन्दोलन गर्छौ, थारुको हकअधिकारको कुरा गर्छौ तर चुनावकाबेला सब आफ्नो स्वार्थमा लाग्छन्, थारुको समस्या यही हो ।” पैसा र जाँर दारु मासुमा थारुको मत विभाजित हुनेगरेको विगतमा देखिएको र यसपाली पनि त्यस्तै देखिएको उहाँले तर्क गर्नुभयो । “थरुहट आन्दोलनको रापताप निर्वाचनमा देखिने हो भने चुनाव जित्न सहज छ तर त्यस्तो हुने सम्भावना निकै न्यून लाग्छ” थारुले भन्नुभो ।

सो क्षेत्रबाट निर्वाचनमा होमिएका भानुराम थारु थारु कल्याणकारिणीसभा कैलालीका पूर्व सभापति हुन् । उनले कैलालीमा थारु आन्दोलनको अगुवाई गर्दैआएका छन् । अर्का उम्मेदवार मिना चौधरी तमलोपाको तर्फबाट समानुपातिक पूर्व सभासद हुन् । क्षेत्र नं ३ मा प्रमुख प्रतिस्पर्धा रामजनम र गौरीशंकरबीच हुने देखिएको छ ।
त्यस्तै, थारु उम्मेदवार रहेको निर्वाचन क्षेत्र १ मा थारु अगुवा तथा टीकापुर घटनाका नाइकेको आरोप खेप्नुभएका रेशम चौधरीले राजपाबाट उम्मेदवारी दिएका छन् । चौधरीले कांग्रेसकी ईश्वरी न्यौपाने र एमालेकी गरिमा शाहलाई कडा टक्कर दिने बुझाई थारुहरुको छ । कुल ९२ हजार मत रहेको सो क्षेत्रमा ५० प्रतिशत मत थारुको छ । थारु मत नै त्यहाँको उम्मेदवारको जित हारको निक्र्यौल हुने देखिएको छ । त्यसैले थारु मत आफूतिर आकर्षित गर्न सबै उम्मेदवार लागेका छन् ।
२०७२ भाद्र ७ र ८ गते भएको टीकापुरको घटनापछि रेशम चौधरी निर्वासित जीवन विताइरहेका छन् । त्यसैले थारुको सेन्टिमेन्ट मत रेशमलाई जानसक्ने कतिपयको अडकल छ ।
सोही क्षेत्रबाट एमालेबाट (क) मा लालबहादुर चौधरी र माओवादीबाट नेपबहादुर चौधरी (ख) मा उम्मेदवार बनाएर वाम गठबन्धनले थारुको मत आकर्षित गर्ने रणनीति अपनाएका छन् । लालबहादुर रेशम चौधरीका आफ्नै बुवा हुन् ।
२०७२ भाद्र ७ र ८ गते भएको टीकापुरको घटनापछि रेशम चौधरी निर्वासित जीवन विताइरहेका छन् । त्यसैले थारुको सेन्टिमेन्ट मत रेशमलाई जानसक्ने कतिपयको अडकल छ । रेशम चौधरीले थारुको भारी मत पाएमा निर्वाचित हुनसक्छन् । निर्वाचित हुन नसके मत काटेर वाम गठबन्धनका उम्मेदवारलाई गाह्रो पार्नसक्ने टिकापुरबासीहरुको बुझाई छ ।
कैलालीको अन्य क्षेत्र २, र ४ मा थारु उम्मेदवारहरु प्रदेशसभा तिर रहे पनि खासै चर्चामा छैनन् । कैलालीमा ५ क्षेत्र रहे पनि क्षेत्र नं. ३ मा जो जिते पनि थारु नै जित्ने पक्का छ । बाँकी अन्य क्षेत्रमा थारु उम्मेदवार आउनसक्ने सम्भावना आशा मात्रै गर्न सकिन्छ । जित्ने सम्भावनामा क्षेत्र नं ५ र १ हो ।




