सुनसरी ३ मा प्रतिनिधिविना मतगणना, अझै भगवतीको अग्रता कायमै


इटहरी, मंसिर २६ गते । विवादका कारण एक दिन रोकिएको सुनसरी क्षेत्र नम्बर ३ को मतगणना मंगलबार अपरान्हबाट पुनः शुरु भएको   छ । मतगणना शुरु हुँदा पनि भगवती चौधरीको तर्फबाट कोही प्रतिनिधि गणनास्थलमा छैनन् ।

शुरुदेखिनै अग्रता लिइरहनुभएकी नेकपा (एमाले) की भगवती चौधरीको अग्रता कायमै रहँदा मतगणनास्थलमा उहाँको प्रतिनिधि भने   छैनन् । पार्टीले प्रतिनिधि राख्न निर्देशन दिएपछि प्रतिनिधि राख्ने तयारी भएको भगवती चौधरीले बताउनुभयो ।

मुचुल्का भन्दा बढि मतपत्र भेटिएको र अधकट्टी सहितको मतपत्रको सिरियल नम्बर समेत हेर्न नदिइएको भन्दै एमाले सुनसरीले मतगणना अवरुद्ध गरेको थियो । निर्वाचन अधिकृत टिका घिमिरेले मुचुल्का र सिरियल नम्बर हेर्न नदिएर सेटिङ अनुसार बिजय गच्छदारलाई जिताउन खोजेको आरोप भगवती चौधरीले लगाउनुभएको छ ।

सुनसरी क्षेत्र नम्बर ३ मा जम्मा ८५ हजार १३७ मत खसेकोमा हालसम्म ६७ हजार ६५२ मत गणना भएको निर्वाचन कार्यालयले जनाएको छ । यो क्षेत्रमा २०७० सालको आम निर्वाचनमा पनि बिजय गच्छदार र भगवती चौधरीबीच प्रतिस्पर्धा हुँदा तीनसय ६५ मतान्तरमा चौधरी पराजित हुनुभएको थियो ।

निर्वाचन आयोगको निर्देशन बमोजिम मतगणना अघि बढेको छ । पछिल्लो मतगणनका परिणामअनुसार एमालेकी भगवती चौधरी ३० हजार ९१९ मतकासाथ अग्रता लिइरहनुभएको छ । उहाँलाई नेपाली कांग्रेसका बिजयकुमार गच्छदारले ३० हजार ७४५ मतका साथ पछ्याइरहनुभएको छ ।

सुनसरी क्षेत्र नम्बर ३ मा जम्मा ८५ हजार १३७ मत खसेकोमा हालसम्म ६७ हजार ६५२ मत गणना भएको निर्वाचन कार्यालयले जनाएको छ । यो क्षेत्रमा २०७० सालको आम निर्वाचनमा पनि बिजय गच्छदार र भगवती चौधरीबीच प्रतिस्पर्धा हुँदा तीनसय ६५ मतान्तरमा चौधरी पराजित हुनुभएको थियो । त्यसबेला पनि मतगणनाको अन्तिम समयमा यस्तै विवाद भएको थियो । विवादका बीच गच्छदार बिजयी घोषित भएका थिए ।

यसैबीच एमाले उम्मेदवार भगवती चौधरीले मतगणनास्थलमा प्रतिनिधि पठाउन पार्टीले निर्देशन दिएकाले पठाउने तयारी भइरहेको बताउनुभयो । आफ्नो गुनासोको सुनुवाई नभई एकपक्षीय रुपमा गणना थालिएपछि चौधरीले आफ्ना प्रतिनिधिलाई फिर्ता बोलाउनुभएको थियो ।

आफ्ना प्रतिनिधि नहुँदा सदर मतलाई बदर गर्ने र झन् गडबडी हुने भन्दै पार्टीले प्रतिनिधि पठाउन निर्देशन दिएपछि पठाउने तयारी भइरहेको चौधरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया