
लक्की चौधरी
काठमाडौं, मंसिर २७ गते । प्रतिनिधिसभा निर्वाचनमा होमिनुभएका थारु उम्मेदवारमध्ये १० जनाले जित हात पारेपनि तीनजना थारु हस्तीले सम्मानजनक मत ल्याएर पनि पराजित हुनुपर्यो ।
थारु समुदायबाट एक त कम उम्मेदवार त्यसमध्ये पनि सबैको जित सुनिश्चित हुन नसक्नु समुदायकालागि राजनीतिक हिसावले घाटा त हो नै, प्रतिनिधित्वको हिसावले अझ घाटा हो । उम्मेदवारी दिएका सबैले जित्ने कुरा त हुँदैन, तर थारु बहुल क्षेत्रमा समेत थारु उम्मेदवार बन्न नसक्नु र बनेका उम्मेदवारले पनि कोही हार खानु भनेको दुर्भाग्यपूर्ण हो ।
प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन २०७४ ले थारु समुदायको मतलाई विगतको भन्दा यसपाली एकत्था गरेको अनुभूति गराएको छ । तथापि अझै सन्तुष्ट हुनसक्ने अवस्था भने छैन । थारुको मत दारु र मासुमै सीमित छ भन्ने आरोप धेरै लाग्दै आएको छ । त्यसबाट उन्मुक्ति त यो निर्वाचनले पनि गराउन सकेन । यद्यपि यो ट्रेन्ड थारुमा मात्र सीमित भने छैन ।

यसपालीको केही निर्वाचनमा थारु थारुबीच प्रतिस्पर्धा पनि भयो । जसकाकारण एउटा थारु हारेमा अर्को आउने सुनिश्चित नै भयो । तर त्यसका बाबजुद पनि थारु उम्मेदवारले गैरथारुसँग प्रतिस्पर्धा गर्दा प्रदेशसभातर्फ धेरै हार खानुपरेको अवस्था भयो । थारु मत एककत्था गएको एउटा गतिलो उदाहरण कैलाली क्षेत्र नं. १ बन्यो । जहाँ रेशम चौधरीले भारी मतकासाथ राजपाबाट निर्वाचित हुनुभयो ।
थारु हस्तीहरुमा कांग्रेसबाट उम्मेदवारी दिएका डा. गोपाल दहित वर्दिया २ मा माओवादीका सन्तकुमार थारुबाट पराजित हुनुभयो । यद्यपि उहाँको मत सम्मानजनक छ । ३६ हजार ७३५ मत ल्याएर पनि उहाँ पराजित हुनुभयो । सन्तकुमार थारुले ५० हजार ५५५ मत पाउँदा अनुपातमा दहितको मत धेरै कम हो । तर अरु उम्मेदवारले २० हजार मत ल्याएर निर्वाचित हुँदा सम्मानजनक मत प्राप्त गरेकाले हार्नुपर्दाको पीडा त अवश्य भएकै होला ।
त्यस्तै, सुनसरी ३ बाट कांग्रेसका विजयकुमार गच्छदारबाट पराजित हुनुभएका एमालेकी नेतृ भगवती चौधरीको मत पनि सम्मानजनक छ । ३८ हजार ६५१ मत ल्याएर उहाँलाई पराजय व्यहोर्नु पर्यो । गच्छदारले ३८ हजा ९७२ मत ल्याउँदा भगवती ३२१ मतले पछाडि पर्नुभयो । संविधानसभाको दोस्रो निर्वाचनमा गच्छदार ३६५ मतले चौधरीलाई पराजित गर्नुभएको थियो ।

त्यस्तै, उदयपुर १ बाट कांग्रेसका नारायण खड्कासँग पराजित हुनुभएकी एमालेकी अर्का नेतृ मञ्जुकुमारी चौधरीको मत पनि कमजोर छैन । उहाँले ३२ हजार ५९४ मत ल्याएर पराजित हुनुभयो । खड्काले ३३ हजार १४२ मत प्राप्त गर्दा चौधरी ५४८ मतले पछाडि पर्नुभयो ।
यो निर्वाचनमा १० जना थारु उम्मेदवार प्रतिनिधिसभा तर्फ निर्वाचित भएका छन् भने प्रदेशसभा तर्फ १४ जना थारुले जित निकालेका छन् । अब समानुपातिक तर्फबाट पनि दलीय हिसावले थारु उम्मेदवार केही छानिएर आउने छन् । जसले थारुको संख्या केही बृद्धि गराउने देखिए पनि तुलनात्मकरुपमा संविधानसभा निर्वाचनभन्दा थारु सांसदको संख्या कमजोर हुने देखिन्छ ।




