पुस ३ मा छनौट हुँदैछन् पहिलो पटक ‘मिष्टर एण्ड मिस थारु’


काठमाडौं, मंसिर २८ गते । अहिलेको विश्व रङमञ्चतिर आकर्षित भइरहेकाबेला तराईको ठूलो जनसंख्या ओगट्ने आदिबासी थारु समुदाय पनि मोडलिङतिर आकर्षित हुँदैगएको छ ।

आफ्नै कला संस्कृतिले सम्पन्न थारु समुदाय बाह्य रङमञ्चीय दुनियाप्रति आकर्षित हुँदै मिष्टर एण्ड मिस थारु छनौट प्रक्रियामा जुटेको छ । प्रतियोगितामार्फत पहिलो पटक मिष्टर एण्ड मिस थारु छनौट गर्न लागेको थारु कलाप्रेमीहरुले बताएका छन् । नेक्ष्ट इभेन्ट्सको सहकार्य र थरुहट मिडियाको आयोजनामा प्रतियोगिता भइरहेको आयोजकले बताएको छ ।

वर्दियाकी सम्झना चौधरी कुशल समाजसेवी बन्न चाहेपनि प्रतियोगितामा भाग लिएर रङ्गीन दुनियाँको अनुभव लिन लागिपरेकी छिन् । सानैदेखि रङगीन दुनियाँमा रमाउन चाहने शुभम चौधरी फेसन डिजाइनमा स्नातकोत्तर गर्दैछन् । उनी पनि प्रतियोगितामा भाग लिएर मिष्टर थारुका लागि प्रतिस्पर्धामा छन् । रेविका चौधरी पनि फेसन डिजाइनरका विद्यार्थी हुन् ।

थारु परम्परागत पोशाकलाई फेसन दुनियाँमा चिनाउने उद्देश्यसाथ आफू प्रतियोगितामा होमिएको उनको तर्क छ । सर्लाहीकी रिन्कु पञ्जियार नृत्यकलामा निकै सिपालु छिन् । प्रतियोगितामा भाग लिई उनी उपाधिका लागि प्रतिस्पर्धा गरिरहेकी बताउँछिन् ।

नेपालगञ्जका किस्मतसिंह चौधरीले मेलम्ची खानेपानीमा इन्जिनियरको काम गर्छन् । तर पनि प्रतियोगितामा मिष्टर थारुका लागि भिडेका छन् ।  त्यस्तै, इटहरीका सागर विश्वास थारु, सवि चौधरीको रुची पनि समाजसेवा नै हो । प्रतियोगितामा उत्तीर्ण भएमा समाजका लागि केही गर्ने दुवैको सोच छ ।

त्यस्तै, रोशनी चौधरी पनि मिस थारुको उपाधि पाएमा थारुको कला संस्कृतिलाई सबैसामु चिनाउने भूमिका खेल्ने प्रतिवद्धता गर्छिन् । यसअघिसम्म विभिन्न जिल्लामा मिष्टर एण्ड मिस थारुको जिल्लागत प्रतियोगिता गरेर आगामी पुस ३ गते काठमाडौंको राष्ट्रिय नाचघरमा प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा हुन लागेको आयोजकले बताएको छ । प्रतियोगितामा २७ केटी र २१ जना केटा भाग लिएका छन् ।

तपाईको प्रतिक्रिया