
लक्की चौधरी
काठमाडौं, पुस ८ गते । नेकपा (एमाले) बाट थप चारजना थारु महिला सांसद बन्ने करिब पक्कापक्की भएका छन् । महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पु¥याउनुपर्ने र थारु कोटासमेत कायम भएपछि थारुको सांसद हुने संख्या सुनिश्चित भएको हो ।
एमालेबाट कैलालीकी चुनकुमारी चौधरी र लक्ष्मी चौधरी सांसद बन्ने पक्का भएका छन् । चुनकुमारी चौधरी प्रदेशसभा तर्फको सांसद बन्न लाग्नुभएको हो भने लक्ष्मी चौधरी प्रतिनिधिसभा तर्फको समानुपातिक कोटामा आउने करिब पक्का भएको छ ।
चुनकुमारी चौधरी कैलालीको गेटा ५, बरबट्टामा कमैया परिवारमा जन्मनुभएकी एमाले नेतृ हुनुहुन्छ । उहाँ २०५९ सालदेखि एमालेको सदस्यता लिएर अहिले एमाले कैलालीको जिल्ला सदस्य र जलस्रोत उर्जा विभागकी इन्चार्जको जिम्मेवारीमा रहनुभएको छ । कैलाली क्षेत्र न. ४ को महिला विभागको इन्चार्जको जिम्मेवारीमा समेत रहनुभएकी उहाँ पहिलो पल्ट सांसद हुन लाग्नुभएको हो ।

त्यस्तै, लक्ष्मी चौधरी धनगढी ५, हसनपुर गाउँको स्थानीय बासिन्दा हुनुहुन्छ । यसअघि वालानन्द पौडेल नेतृत्वको स्थानीय तह पुनःसंरचना आयोगमा सदस्यको जिम्मा सम्हाल्नुभएकी चौधरी पनि पहिलो पटक समानुपातिक कोटाबाट सांसद बन्न लाग्नुभएको हो । पहिलो पल्ट सांसदको भूमिकामा आउनलागेकोमा निकै खुशी लागेको र पछाडि परेका वर्गको हितमा काम गर्ने लक्ष्य रहेको चुनकुमारी चौधरीले बताउनुभो ।
प्रदेश नं. ७ को प्रादेशिक राजधानी थारु समुदायलाई पायकपर्ने ठाउँका लागि पहल गर्ने प्रतिवद्धता आफूले जनाएको बताउँदै उहाँले मुक्त कमैया, सुकुम्बासी, भूमिहिनको व्यवस्थापनका लागि काम गर्ने प्रतिवद्धता सुनाउनुभयो । सोहीअनुसार दाङबाट पूर्व सांसद शान्ता चौधरी र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अघि एमालेमा प्रवेश गर्नुभएकी पूर्व सांसद गंगा चौधरी सत्गौंवा समानुपातिक सांसद बन्ने पक्कापक्की हुनुभएको छ ।

शान्ता चौधरी यसअघि संसदको प्राकृतिक स्रोत साधन समितिकी सभापतिको जिम्मेवारी निर्वाह गरी चर्चामा हुनुहुन्थ्यो । २०७० सालको संविधानसभा निर्वाचनमा दाङबाट पराजित चौधरी २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिकबाट सांसदको जिम्मेवारीमा आउनुभएको थियो ।
त्यस्तै, २०४८ सालमा एमालेको सदस्यता लिएर पछि थरुहट आन्दोलनमा होमिनुभएकी गंगा चौधरी सत्गौंवाले एमाले छाडेर २०६५ सालपछि थरुहट तराई पार्टी नेपालमा आवद्ध हुनुभएको थियो । पछि सो दलमा पनि विवाद भएपछि २०७३ पुस ८ गते आफ्नै नेतृत्वमा थरुहट तराई पार्टी (लोकतान्त्रिक) गठन गरी निर्वाचन आयोगमा दर्ता गराउनुभएको थियो ।
केही समयपछि नै उहाँले आफ्नो दललाई डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा समाहित गराउनुभयो । भट्टराई नेतृत्वको सो दल लोकतान्त्रिक गठबन्धनबाट निर्वाचनमा जाने निर्णय गरेपछि सत्गौंवाले सो दल छाडेर पुनः निर्वाचन अघि दाङको एक कार्यक्रमबीच एमालेमा फर्कनुभयो । श्रीमान र श्रीमती दुवैजना एकसाथ एमालेमा प्रवेश गरेका सत्गौंवालाई एमालेले समानुपातिक तर्फको उम्मेदवार बनाएको थियो ।

उहाँको श्रीमान नन्दकुमार चौधरीलाई एमालेले दाङ जिल्ला कमिटी सदस्यको जिम्मेवारीमा राखेको छ । आफू एमालेबाट समानुपातिकतर्फ सांसद बन्ने पक्कापक्कीजस्तै भएपछि सत्गौंवा निकै खुशी अनुभूति भएको बताउनुभयो । आफू शुरुदेखि कम्युनिष्ट पृष्ठभूमिबाट हुर्कीए पनि केही समय थरुहट मुद्दामा लागेर बाटो विराएको बताउनुभयो । सत्गौंवा यसअघि व्यवस्थापिका संसद अन्तर्गतको विधायन समितिको सभापतिको जिम्मेवारी पनि वहन गर्नुभएको थियो ।
थारु र पछाडि परेका वर्गको माग सम्बोधनका लागि पनि बलियो दलको आवश्यकता महुशस गरेर आफू पुनः पुरानै घरमा फर्किएको उहाँले बताउनुभयो । यसपछि आफूले एमालेमै रहेर थारु, मधेसी तथा पछाडि परेका वर्गको मुद्दाको वकालत गर्ने प्रतिवद्धता उहाँले सुनाउनुभयो । एमालेमा पुनः फर्केको छोटो समयमै सांसदको जिम्मेवारी पाउनेमा सत्गौंवा भाग्यमानी सांसदकोरुपमा हेरिनुभएको छ ।
समानुपातिकको एकनम्बरमा नाम रहेको डा. विजयसुब्बा समेत सांसद हुनबाट बञ्चित हुने परिस्थितिका बेला महिला भएकाकारण सत्गौंवाले सो पद पाउन लाग्नुभएको हो । त्यस्तै, नेकपा (माओवादी केन्द्र) बाट राजकुमारी चौधरीको नाम सूचीकृत भएको माओवादी स्रोतले बताएको छ ।
यसअघि प्रतिनिधिसभाबाट १० र प्रदेशसभाबाट १७ जना थारु गरी २७ जना थारु सांसदमा निर्वाचित भइसकेका छन् । नेपाली कांग्रेसबाट समानुपातिक र प्रदेशसभाको समानुपातिक सांसदमा नियुक्त हुने थारुको पहिचान अझै हुन सकेको छैन । यद्यपि दाङकी पार्वता डिसी थारुको नाम समानुपातिकमा पर्ने सम्भावना बढी छ ।




