थारु समुदायको मत नपाएर वामदेव गौतम चुनाव हारेका हुन् त ?


लक्की चौधरी

काठमाडौं, पुस ११ गते । नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतम वर्दिया १ बाट पराजित हुनुमा पार्टीको आन्तरिक समस्या, अन्तर्घातदेखि गौतमका आफ्नै कमीकमजोरीसमेत देखिएको छ ।

वाम गठबन्धन देशैभर विजयी भएकाबेला पार्टीका वरिष्ठ उपाध्यक्ष गौतमको पराजयलाई एमालेले चासोकासाथ लिएको थियो । सोहीअनुसार उहाँको हारको कारण पत्ता लगाउनेगरी केन्द्रीय सदस्य वैजनाथ चौधरीको संयोजत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो । सो कार्यदलले तीनदिन छानविन गरी आफ्नो प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै सो कारणबारे जानकारी गराएको हो ।यद्यपि कार्यदलले अझै छानविनको काम सकेको छैन ।

उपाध्यक्ष गौतम हार्नुकाकारण पार्टीका स्थानीय नेताको अन्तर्घात, चुस्त चुनावी योजनाको अभाव मात्र नभएर उहाँको आफ्नै कमजोरीलाई पनि संकेत गरेको छ

कार्यदलका एक सदस्यकाअनुसार “माथिल्लो तहका नेता तथा कार्यकर्तासँगको कुराकानीमा आधारित भएर प्रारम्भिक प्रतिवेदन तयार भएको छ, तर स्थानीयस्तरमा अझै सोबारे जानकारी लिनै बाँकी छ ।” वर्दियाबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय प्रतिनिधि परिषदका सदस्यहरु, सो क्षेत्रका पूर्व सांसदहरु, जिल्लाका नेताहरु, निर्वाचन परिचालन कमिटीका पदाधिकारी तथा सदस्यहरुसँगको पहिलोचरणको कुराकानी सकिएको कार्यदलका संयोजक चौधरीले बताउनुभयो । तर प्रतिवेदनबारे उहाँले बोल्न चाहनु भएन ।

नाम नबताउने सर्तमा कार्यदलका एक सदस्यले दिएको जानकारीअनुसार उपाध्यक्ष गौतम हार्नुकाकारण पार्टीका स्थानीय नेताको अन्तर्घात, चुस्त चुनावी योजनाको अभाव मात्र नभएर उहाँको आफ्नै कमजोरीलाई पनि संकेत गरेको छ । उपाध्यक्ष गौतमका विरुद्धमा जिल्ला नेता खडगबहादुर खड्काले बागी उम्मेदवारी दिनुभएको थियो । पछि पार्टीको दवावमा उहाँले उम्मेदवारी फिर्ता लिनु भएपनि खुलेर गौतमको पक्षमा प्रचार नगरेको आरोप गौतम सचिवालयको छ ।

चौधरीको संयोजकत्वमा गठित कार्यदलमा प्रदेश ५ का सचिवालय सचिव भूमीश्वर ढकाल र सचिवालय सदस्य गोपालप्रसाद भट्टराई सदस्य रहनुभएको छ । कार्यदलले बुधबारबाट पुनः सो क्षेत्रका स्थानीय कार्यकर्ता तथा सर्वसाधारणसँग छलफल शुरुगर्ने बताएको छ । “जिल्ला संगठनका नेतृत्वतहको नेता कार्यकर्तासँगको कुराकानीमा एउटा किसिमको रिपोर्ट आयो, तल्लोस्तरमा कुरागर्दा अव कस्तो आउँछ, त्यसको आधारमा केन्द्रमा प्रतिवेदन बुझाउँछौं” कार्यदलका सदस्यले भन्नुभयो ।

“उपाध्यक्ष गौतम हार्नुको पछाडि चारवटा मुख्य कारण छन् । ती कारणमा गौतमले २०७० मा वर्दिया १ छाडेर प्यूठान रोज्नु र वर्दियाबाट निर्वाचित भएपनि फर्केर स्थानीयमाझ नआउनु, २०७२ भाद्र ७ र ८ गते भएको टीकापुर घटनापछि उहाँ गृहमन्त्री हुँदा थारुमाथि व्यापक दमन हुनु, जिल्ला पार्टीमा आन्तरिक विवाद हुनु र नेपालमा थरुहट र मधेस छैन भन्ने अभिव्यक्ति दिनु ।”

वर्दिया क्षेत्र १ का जिल्ला तहका एक थारु नेताले नाम नबताउने सर्तमा भन्नुभयो, “उपाध्यक्ष गौतम हार्नुको पछाडि चारवटा मुख्य कारण छन् । ती कारणमा गौतमले २०७० मा वर्दिया १ छाडेर प्यूठान रोज्नु र वर्दियाबाट निर्वाचित भएपनि फर्केर स्थानीयमाझ नआउनु, २०७२ भाद्र ७ र ८ गते भएको टीकापुर घटनापछि उहाँ गृहमन्त्री हुँदा थारुमाथि व्यापक दमन हुनु, जिल्ला पार्टीमा आन्तरिक विवाद हुनु र नेपालमा थरुहट र मधेस छैन भन्ने अभिव्यक्ति दिनु ।”

ती थारु नेताको भनाईअनुसार उपाध्यक्ष गौतममा समस्या थाहा पाएर पनि चुनाव जित्ने ‘ओभर कन्फिडेन्स’ देखिनु हारको अर्को कारण हो । थारु बाहुल्य रहेको क्षेत्र र वामपन्थीको राम्रो पकड भएको क्षेत्रमा स्थानीय नेता र कार्यकर्तालाई वेवास्ता गर्दै केन्द्रबाट आएका आफ्ना सचिवालयका प्रतिनिधिलाई परिचालन गरेर स्थानीय नेता रुष्ट भएको उहाँले जानकारी दिनुभयो । यद्यपि उपाध्यक्ष गौतम हार्नुको पछाडि पार्टीको आन्तरिक विवाद प्रमुख नभएर उहाँको आफ्नै कमजोरी पनि प्रमुख रहेको तर्क उहाँको छ ।

उपाध्यक्ष गौतमले शनिबार बसेको स्थायी कमिटी बैठकमा आफू पराजय हुनुको कारणबारे संक्षिप्त जानकारी गराउनुभएको थियो । जिल्लातहका स्थानीय केही नेताहरुको नामसहितको सूचीसमेत उहाँले सार्वजनिक गर्नुभएको थियो । तर सो सूचीमा नाम भएकाहरुले आफ्नो कारणलेभन्दा गौतम आफैले स्थानीय नेता र कार्यकर्ताको परिचालन र व्यवस्थापन गर्न नसक्दा हार्नुपरेको प्रतिक्रिया दिनुभएको   छ ।

साढे २६ हजारको मत वाम गठबन्धनको अगाडि हुँदासमेत उपाध्यक्ष गौतम सो क्षेत्रमा प्रतिनिधिसभा निर्वाचनमा झिनो मतको अन्तरले पराजय व्यहोर्नु प¥यो । 

उपाध्यक्ष गौतम कांग्रेस नेता तथा सिंचाईमन्त्री संजयकुमार गौतमसँग ७५३ झिनोमतको अन्तरले पराजित हुनुभएको थियो । कांग्रेस नेता गौतमले ४४ हजार ८२९ मत ल्याउँदा उपाध्यक्ष गौतमले ४४ हजार ७६ मत प्राप्त गर्नुभएको   थियो ।  स्थानीय तहको निर्वाचनमा एमाले र माओवादीको मत जोड्दा ५५ हजार ७१२ मत हुँदा कांग्रेस, फोरम लोकतान्त्रिक र राप्रपाको जोड्दा जम्मा २८ हजार ८१३ मत थियो । सोअनुसार साढे २६ हजारको मत वाम गठबन्धनको अगाडि हुँदासमेत उपाध्यक्ष गौतम सो क्षेत्रमा प्रतिनिधिसभा निर्वाचनमा झिनो मतको अन्तरले पराजय व्यहोर्नु प¥यो ।

वाम गठबन्धनका सूत्रकारकारुपमा चिनिनुहुने उपाध्यक्ष गौतम र माओवादी नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ गोरखा २ बाट निर्वाचन हार्नुभयो । श्रेष्ठले आफ्नो हारको कारणबारे खासै गुनासो गरेको नसुनिए पनि उपाध्यक्ष गौतमले पार्टी नेताको अन्तर्घातले आफू पराजित भएको भन्दै छानविन गर्न कार्यदल गठन गर्न लगाउनुभएको थियो । कर्यदलले काम जारी राखेकाले पुस मसान्तभित्र केन्द्रमा प्रतिवेदन बुझाउने संयोजक चौधरीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया