थारु लोक संस्कृतिमा माघीपर्व

संस्कृति परिचय

दिप्ती ‘शिखा’ चौधरी

मकरसक्रान्तिबाट सुरु भई माघ महिनामा थारु समुदायले मनाउने महान पर्व माघि हो । यो थारु समूदायकालागि आर्थिक बर्षको सुरुवात पनि हो । माघे संक्रान्ति थारु कमैया कम्लरीहरुको मुक्ती दिवशकोरुपमा पनि लिने गरिन्छ । यो एक सामाजीक, सांस्कृतिक सदभाव बोकेको पर्व पनि हो । थारुहरु यो पर्वलाई बर्का टिउहार पनि भन्दछन् त्यसैले एक दुई महिना अघिदेखी नै तयारीमा जुट्छन् । थारुहरुले माछालाई प्रमूख खाने परिकारकोरुपमा लिने गरेकाले दुई महिना अघि नै नजीकैको खोला, नदिमा बाँध बाँधि वनस्पतिका हाँगाबिगा पानीमा राखी माछा पाल्ने गर्दछन् । जसलाई थारुहरु “भिउरा डर्ना” भन्दछन् । यस पर्वमा जाँडलाई पनि मूख्य खाने कुराकोरुपमा लिइन्छ । त्यसैले जाँड बनाउने, पिठो पिसाउने, वनबाट साल (सँख्वा) र मालुका (नम्हेनी) को पात ल्याएर दुना टपरी खुट्ने, मासु, ढिक्री पकाउनलाई दाउरा ल्याउने गरिन्छ । थारु समुदायले मनाउने पर्व मध्ये यो पर्वलाई मुख्य पर्वकारुपमा लिइन्छ । त्यसैले उनीहरु माघ महिना नलाग्दै यस पर्वको तयारीमा जुट्छन् । घरकी वृद्ध महिलाले बैठक कोठा (बह्री) मा बसेर साधारण तरकारी चट्नीखाने चिह्री डोनी (सानो आकारको दुनो) र जाँड, मासु खान डोस्टी डोनी (ठूलो आकारको दुनो) र भात, खिचडी, रोटि खान टपरी खुटिरहेकी हुन्छिन् ।

यो पर्व नजिकिनु पूर्व नै गाँउका घरमूलीहरु (गरढु¥या) मटाँवा (गाँउमूली) को घरमा भेला भएर (ख्याला कर्ना) कसले कती मासु खाने ? कसको घरमा कतीवटा सुंगुर छ ? माग अनुसारको मासु नपुगे अनेत्रबाट ब्यवस्थापन गर्ने कि भनेर योजना बनाउँदछन् । थारुहरु यो पर्वमा खानपिनको साथसाथै मनोरञ्जन, नयाँ कार्यको सुरुवात गर्ने भएकाले पाँच दिन धुमधामकासाथ मनाउने गर्दछन् ।

पहिलो दिन
पौष महिनाको अन्तिम दिन माघी पर्वको पहिलो दिन यस दिनमा सुंगुर मारेर मासु खाई पर्व मनाउने भएकाले यस दिनलाई “जिटा मर्ना डिन” भनिन्छ । गाउँका गरढु¥याहरु सुंगुर मारी मासु भागबण्डा गर्ने र अन्य सदस्यहरु नदि खोलामा “भिउँरा” माछा मार्न जान्छन् । घर गढुर्न्या (घरमूली महिला) ढिक्री बनाउन ब्यस्त देखिन्छीन् । ढिक्री धेरै प्रकारका भएपनि माघीमा लठ्ठी आकारको “लठ्ठा ढिक्री” मात्र बनाउने गरिन्छ । बालबच्चाहरु गाँउघरमा खेल्न मस्त देखिन्छन् । सो दिन साच्चीकै गाँउ घर रमाईलो देखिन्छ । सबैको घरघरमा मिठो मिठो परीकार पाकेको हुन्छ । जबजब साझँ पर्दै जान्छ घरका सबै सदस्य बैठक कोठा (बह्रि) मा जम्मा हुन्छन् खानपीनकालागि घरमूलीकी पत्नीले (गरढुर्या) माछा, मासु, ढिक्री आदि खानेकुरा सबैलाई बराबर दिई आफू पनि खान बस्छिन् । यसरी रमाउदै खादैँ बर्षभरीको थकान मेटाउँदै एक आपसमा मेलमिलाप भाइचाराको भावना दर्शाउँछन् । आफनो घरमा खानपीनपछि एकले अर्काको घरमा गई माघी मान्नेक्रम शुरुहुन्छ ।

गाउँघरमा मेलमिलापको भावना देखाउदै बर्षभरीको रीसराग मेटाउँछन् । जाँड लागेर आफु हिड्नै नसक्ने अबस्थामा पुगेका थारुहरु एकले अर्कोलाई डो¥याएर आफनो घरमा लगी फेरी त्यहि जाँड माछा मासु खान दिन्छन् । एक आपसमा कुरा गर्छन केहि बितेका कुरा केहि आउने कुरा नसामा लट्पटिएको अस्पष्ट बोली सुनिरहुँ लाग्छ । यसरी एक अर्काको घरमा जाने खाने गर्दागर्दै रात ढल्केको पत्तै हुदैन । बर्षभरीको थकाई मेटाउँने पर्वको रुपमा लिने थारुहरुको आँखामा निन्द्रा नभई आलश्य मात्र देख्न सकिन्छ । उसो त जाडोको याम भएकाले प्रोढ तथा बुढापाकाहरु गोलबद्ध भई आगो ताप्दै “ढुमरु” थारु शास्त्रीय गीत गाउँन थाल्छन् । थारु लोक बिधानअनुसार यो गीत आजकै दिनदेखि गाउन शुरु गरिएको थारु लोक सस्ंकृतिबिद्हरु बताउँछन् । ढुमरु गीतको दुई हरफ यस्तो छ ।
अट हे लाला रे पुरुवक डेश कुम्हारा वहुट
कुम्हरक जाट रहठ रीसाहा

दोस्रो दिन
माघ महिनाको पहिलो दिन अर्थात माघी पर्वको दोस्रो दिन खानपीन गर्दागर्दै ढुमरु गाउँँदा गाउँदै “कुखुरी काँ” थारुहरुको घडीले अलार्म बजाउँछ । एउटा कुखुरा बोलेपछि गाँउभरीका कुखुराहरु त्यसैगरी बास्न थाल्छन् । माघी पर्वको दोस्रो दिन यसरी सुरुहुन्छ । गाउँका सबैजना नजिकैकौ खोला, नदीमा नुहाउन जान्छन् । माघ महिनाको कठ्याङ्ग्रीदो जाडोमा “सखी ए हो ! माघक पिली गुरी जाँर , सखी ए हो”
अर्थात् ए सखी ! माघ पर्वको उल्लासमा मीठो मीठो जाँरको झोल पिएका छौँ हामीले त । बोलको गीत गाउँदै घरघर बाट वालवालिका, युवायूवती सबै रमाउदैँ जाने नुहाउने आउने गर्नाले पनि जाडो भएको महशुस गर्दैनन् । नुहाई सकेर द्रब्य दान गरेर आआफनो घर फर्किन्छन् । थारुहरुको हरेक कार्यमा गाईने गीत हुन्छ । नुहाएर फर्किदा टोपी पानी घाटमै छुट्यो कि भन्दै यसरी गीतबाटै सोध्छन् ।
“बाबाकी सगरवा मुरिया लहान गैनु हाँ
सखी ए हो ! टोपिया छुटल पानी घाट, सखी ए हो ”
अर्थात–बुवा म खोलामा नुहाउन गएँ तर कुन घाटमा गएँ र मेरो टोपी कहाँ छुट्यो मैले बिर्सेँ । ए सखीहरु तिमीहरुले मेरो टोपी देख्यो कि ?

नुहाएर घर आएपछि छुट्टाछुट्टै ढकीमा राखिएको चामल, उर्दको दाल, नुन एकएक पसर निकालि छुट्टाछुट्टै टपरीमा राख्छन् । यसलाई थारुहरु “निस्राउ कहर्ना” भन्दछन् । यसरी निकालिएको दाल, चामल चेलीवेटीलाई दिने गरिन्छ । त्यसपछि आफूभन्दा ठूला मान्यजनलाई ढोकभेट गर्छन् । त्यसपछि खाने कार्य सुुरु हुन्छ । घरका बुहारीहरु आफूभन्दा ठूलालाई मान मर्यादापूर्वक खाने कुरा दिन्छन् । आजको खाने कुरामा ढिक्री, मासु, खिचडी, अनदीको रोटी, जाँड विशेष हुन्छ । विहानै यी खानेकुरा खाईसकेपछि दिउसोको खानाखाने समय हुन्छ । जसलाई थारुहरु “कल्वा खईना” भन्दछन् । सबैजना सँगैबसी फेरि खाना खान थाल्दछन् । यसरी सँगै खाना खानु थारुहरुको पुस्तौँदेखिको चलन हो । यसरी खाईसकेर थारुहरु उमेरगतरुपमा आफनो ग्रुप बनाई मघौटा नाच नाच्न शुरु गर्छन । नाच्ने नर्तकीले लहंगा, चोल्या, सिरमा घुम्टो (घुर्घुट), काँधदेखि कम्मरसम्म “सटकी” हुन्छ । अरु थारु गरगहनाले सजाइएको हुन्छ । मादले पुरुष होस वा महिला कम्मरमा मादल बाधेँको हुन्छ । समूहमा कसैले झ्याली कसैले कस्टार बोकेका हुन्छन् । एउटाले गीतको बोल उठान गर्छ भने अरुले त्यो बोललाई टिप्छन् । यसरी प्रत्येक घरघरमा नाँच्दै, अनदीको झोल पिउँदै थारुहरु रमाउँछन्, जसलाई “माघ मन्ना” भनिन्छ ।
माघी परीकार

तेस्रो दिन
माघ महिनाको दोस्रो दिन तर माघ पर्वको तेस्रो दिनलाई थारुहरु “माघी डेवानी” भन्दछन् । आजको दिन घरघरका गरढु¥याहरु माटोको भाँडोमा जाँड रक्सी, बाँसको सानो छिट्नीमा तरकारी लिएर मटावाँको घरमा जम्मा हुन्छन् । गाउँको प्रमूख मटाँवा र गाउँलेहरुबीच आज बितेको बर्षको कार्य समिक्षा, भावी कार्य योजना, नयाँ कार्यको थालनी गर्ने लगायतका बिषयमा ब्यापक छलफल हुन्छ । मटावाँको घरमा माघी मनाउदै गाउँघरमा हुने नयाँ योजनाको कार्यान्वयन कसरी गर्ने ? गाउँ ब्यवस्थापनदेखि लिएर घर ब्यवस्थापनसम्मका विषयमा छलफल हुन्छ । यसरी समूदायमा आपसी सदभाव बढाउनकालागि यो पर्वको महत्व छ ।

चौँथो दिन
आज माघ महिनाको तेस्रो दिन तर माघ पर्वको चौँथो दिन अर्थात अन्तिम दिन । आजको दिनलाई “जन्हीनक माघ” अर्थात महिलाहरुको माघी भनिन्छ । अरु समयमा कामबाट उन्मूक्ती नपाउने थारु महिलाहरु आजको दिन पूर्णरुपमा स्वतन्त्र हुन्छन् । त्यसैले आफनो उमेरगत समूह बनाई महिला यूवतीहरु माघीमा जाँड पिएर स्वतन्त्रतापूर्वक हिड्ने र बोल्ने गर्छन् । थारु महिलाहरुले आजको दिनलाई स्वतन्त्रताको दिनकोरुपमा लिन्छन् ।

मघौटा नाँच नाँच्दै थारु महिलाहरु

बृद्धाहरु भने योवनावस्था संम्झीन्छन् । एकै ठाउँ बसेर मघौटागीत गाउँछन् । जाँडको झोलले लरबरीएका बृद्धहरु मानसिकरुपमा यसरी नै रमाउँछन् । रात न दिन महिलाहरु आज एक गाउँबाट अर्को गाउँसम्म पुग्छन् । यसै मघौँटा नाचलाई माध्यम बनाएर कैयौँ यूवायूवती माया पिरतीमा बाँधिन्छन् । एकदमै गरिबीको रेखामूनी रहेका छोरीहरु भने आजको दिन आफनो नयाँ लुगा गहना नभएकोले बुवा आमासंग गुनासो गर्छन् । साथीहरुको “गोहि” अगाडि आफ्नो केहि नभएको महशुस गर्छन् । जसको लगन जुरेको हँुदैन उनीहरु गीतको माध्यमबाट यसरी अभिब्यक्त गर्छन् ।
सेंडुरा लेमंगनु बाबा सेंडुरा नैलेडेल्या रे हाँ, सेंडुरा लेमंगनु बाबा
सेंडुरक कारन बाबा छोरीडेबु डेशवा टुहाँर, सखी ए हो
अर्थात–बाबा मेरो उमेर बढिसक्यो यो उमेरमा हरेक छोरीलाई सिन्दुरको चाहना हुन्छ । यो कुरा तिमी बुझ्दैनौँ त्यसैले यहि सिन्दुरको कारणले तिम्रो देश छोडेर जान्छु । ए साथीहरु यो कुरा मेरो बुवालाई भनिदेउ न ।

थारु महिला मुखले पैसा टिप्दै

हरेका मान्छेको जिवनको सुखदुःख पोख्ने पर्व हो माघी । थारुहरु यसरी नै माघी पर्वलाई ब्यबस्थापन, सद्भावकोरुपमा लिने गर्दछन् । थारु लोकजीवनमा माघीपर्व कसरी आयो यो भने खोजी गर्नुपर्ने देखिन्छ ।

sikhadeepti@gmail.com

तपाईको प्रतिक्रिया