माघी पर्वले थारु गाउँवस्ती उल्लासमय, भोलि १ गते ‘माघ लहान’


लक्की चौधरी
काठमाडौं, पुस ३० गते । नयाँ वर्ष माघी पर्वले थारु समुदायमा उल्लास छाएको छ । माघी पर्वलाई भव्य स्वागतकालागि थारु गाउँवस्ती तम्तयार भएको छ । माघीका स्वागतार्थ उपत्यकासहित हरेकजसो थारु गाउँमा माघी कार्यक्रमको तयारी गरिएको छ ।

पुसको अन्तिम दिन ३० गते हरेक थारु गाउँमा घरका सदस्यकालागि सुंगुर–बंगुर काट्ने प्रचलन छ । गाउँघरमा त्यसलाई ‘जिता मार्ने’ भनिन्छ । पश्चिमा थारु समुदायले यस पर्वलाई ‘माघ लहान’ भन्छन् भने पूर्वीयाथारुले तिला संक्राइत, माघे संक्रान्ति पनि भन्छन् ।


खासगरी पश्चिमा थारुमा माघ लहानको महिमा बढी छ । उपत्यकामा पनि थारु समुदायले आइतबार पुसको अन्तिम दिन मासु परिकारकालागि टुँडीखेलमा सुंगुर काटेका छन् । मासु पकाई उपस्थित सबैलाई प्रसादकोरुपमा वितरण गरिएको माघी मूल आयोजक समितिका सदस्य कानूनलाल चौधरीले बताउनुभयो ।

माघी पर्वमा थारु समुदायले पापकाम नगर्ने भन्दै पुसको अन्तिम दिन मासु खाने गर्दछन् । माघ १ गते विशुद्ध साकाहारी आहारमा विश्वास गर्ने थारु समुदायले १ गते विहानै कुखुरा बासेपछि सामुहिकरुपमा जलासयमा गएर स्नान गरी पूर्खाको आशीर्वाद थाप्छन् । अभिभावकबाट आशीर्वाद लिएपछि वर्षदिनसम्म काममा जाँगर चल्ने विश्वास सो समुदायमा छ ।

उपत्यकामा बसोबास गर्ने थारु सुमदायकालागि टुँडीखेलमा माघी महोत्सव शुरुभएको छ । आइतबार र सोमबार दुईदिनसम्म चल्ने महोत्सवको पहिलो दिन आइतबार रक्तदानको कार्यक्रम सम्पन्न गरिएको महोत्सव मूल आयोजक समितिका सदस्य सीताराम चौधरीले बताउनुभयो । उहाँकाअनुसार ६० जना युवाले रक्तदानमा सहभागी भएका छन् । नेपाल रेडक्रससँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको चौधरीले बताउनुभयो ।


प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार मध्यान्ह १२ बजे महोत्सवको औपचारिक उदघाटन गर्ने कार्यक्रम तय भएको थारु विद्यार्थी समाजका अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताउनुभयो । उहाँकाअनुसार विहान ९ बजे वसन्तपुरबाट झाँकी ¥याली कार्यक्रम शुरुहुनेछ । करिब एक घण्टा उदघाटन कार्यक्रमपछि दिनभरजसो सांस्कृतिक कार्यक्रम सञ्चालन हुने चौधरीले बताउनुभयो ।

मूल आयोजक समितिकाअनुसार महोत्सवमा ११० वटा स्टल राखिएका छन् । स्टलमा थारु हस्तकला, थारुका विभिन्न खानाका परिकार, थारु पत्रपत्रिका तथा पुस्तकहरु, थारु समुदायको महिला र पुरुषले लगाउने विभिन्न पहिरनका सामग्री राखिएका छन् । निःशुल्क प्रवेशको व्यवस्था गरिएको महोत्सवमा करिब ५० हजार जतिले अवलोकन गर्ने अनुमान आयोजकको छ ।

माघी पर्वमा चेलीबेटीलाई उपहार, दानदक्षिणा दिने प्रचलन थारु समुदायमा छ । त्यसलाई ‘निसराउ’ भन्ने गरिन्छ । लहानको रातभर थारु समुदायमा जाग्राम बस्ने र धमार र धुमरु गीत गाएर मनोरञ्जन लिने प्रचलन छ । रातभर जाग्राम बसी गीत गाउने डफुवाजलाई घरमुलीले प्रसंशास्वरुप विशेष स्वागत र सत्कार गर्ने गरेको थारु अगुवा अशोक थारुले बताउनुभयो ।


माघीमा थारु समुदायले विशेषगरी तरुल, तिलको लड्डु, भुजा, ढिक्री, अनदीको भात, लाया, घोङ्घी, सुंगुरको मासु, माछा, सिपी, गगंटा, सिध्रा, जाँर र त्यसको झोल लगायतका परिकार खाने गर्दछन् ।

तपाईको प्रतिक्रिया