थारुको माग नयाँ संविधानले सुनिश्चित गरेको छः प्रधानमन्त्री देउवा


लक्की चौधरी
काठमाडौं, माघ १ गते । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ संविधानले सबै जातजाति र समुदायको अधिकार सुनिश्चित् गरेकाले विकास निर्माणमा सघाउन थारु समुदायलाई आव्हान गर्नुभएको छ ।

माघी महोत्सव २०७४ को सोमबार टुँडीखेलमा यहाँ उदघाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले त्यस्तो आव्हान गर्नुभयो । संविधान कार्यान्वयन भएमा सबैको अधिकार सुनिश्चित हुने बताउनुहुँदै उहाँले थारु समुदाय पछाडि परेको समुदाय भएकाले सो समुदायको उत्थानका लागि सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । संविधानले थारु आयोग गठनको व्यवस्था गरेकाले आयोग मार्फत धेरै अधिकार सुनिश्चित गर्न सकिने बताउनुभयो ।

सांस्कृतिकरुपमा निकै धनी समुदाय भएकाले थारुको छुट्टै पहिचान, भेषभुषा र रीतिरिवाज रहेको बताउनुहुँदै प्रधानमन्त्री देउवाले थारु संस्कृति, कला र संस्कारको सम्बद्र्धनमा सरकारले समेत सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । नयाँ संविधान जारीपछि त्यसको कार्यान्वयनका लागि तीनै तहको निर्वाचन सम्पन्न भएकाले अव मुलुक समृद्धिको बाटोमा जाने उहाँले तर्क गर्नुभयो ।

ठूलो संघर्ष र बलिदानीले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा आएकाले त्यसको कार्यान्वयन र संस्थागतका लागि सबैको सहयोग अपरिहार्य रहेको उहाँले चर्चा गर्नुभयो । माघी पर्वले नेपाली–नेपालीबीचको आपसी सदभाव, सौहाद्रता र भातृभाव बढाउनमा प्रेरणा प्रदान गर्ने पर्व भएको चर्चा गर्दै उहाँले थारु समुदायलाई देश विकासमा लाग्न आव्हान गर्नुभयो । माघी पर्वले सबै नेपालीबीचको मेलमिलाप कायम गरोस् भन्ने उहाँले शुभकामना व्यक्त गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले थारु परम्पराअनुसार ढकीमा राखेको चामल, दाल, र नुन अर्को ढकीमा राखेर महोत्सवको उदघाटन गर्नुभयो । थारु परम्पराअनुसार उहाँलाई आयोजकका सदस्यले पगरी र धोती पहिराइदिएका थिए ।

कार्यक्रममा थारु अगुवाहरुले नयाँ संविधानमा थारुको अधिकार थारुले मागेकोअनुसार सुनिश्चित नभएको र राज्यले थारु समुदायलाई विभेदको दृष्टिले व्यवहार गरिररहेको अराोप लगाए । टीकापुर घटनामा आरोपित निर्दोष थारुहरु अझै बन्दीजीवन विताइरहेको र कैलाली क्षेत्र नं. १ बाट निर्वाचित रेशमलाल चौधरीलाई निर्वाचन आयोगले प्रमाणपत्र प्रदान नगरेर विभेद गरेको टिप्पणी थारु अगुवाहरुले गर्नुभयो ।

थारु कल्याणकारिणीसभाका उपाध्यक्ष प्रेमीलाल चौधरीको सभापतित्वमा भएको कार्यक्रममा भूमिसुधार मन्त्री डा. गोपाल दहित, खेलकुद राज्यमन्त्री तेजुलाल चौधरी, पूर्व सांसद रुक्मिणी चौधरी, एमाओवादीको तर्फबाट नवनिर्वाचित सांसद अमनलाल मोदी थारु, थारु विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरी, आदिबासी जनजाति महासंघका गोविन्द छन्त्याल, थारु कल्याणकारिणीसभाका कनुलाल चौधरी, शिव चौधरी, लगायतले धारणा राख्नुभएको थियो ।

पुस ३० र माघ १ गते दुई दिनसम्म चलेको महोत्सवमा थारु संस्कार र संस्कृति झल्किने मघौटा, झुम्रा नाचको नृत्यहरु प्रस्तुत भएका थिए । महोत्सवमा ११० वटा स्टल रहेको र सवैजसो स्टलमा थारु खानाका परिकार राखिएका छन् । परिकारमा तिलको लड्डु, भुजा, घोङ्घी, गंगटा, ढिक्री, माछा, सुंगुर, खरायो, परेवाको मासु राखिएका छन् ।

त्यस्तै, थारुले घरमै बनाएका जाँर र त्यसको झोल, समेत स्टलमा राखिएको मूल आयोजक समितिका सदस्य चन्द्रप्रसाद चौधरीले बताउनुभयो । सोहीअनुसार थारु परिचय र इतिहास खुल्ने पत्रपत्रिका, पुस्तक, थारु हस्तकलाका केही स्टल पनि राखिएका थिए । करिब ४० बजार बढीले महोत्सवको अवलोकन गरेको आयोजले बताएको छ ।

तपाईको प्रतिक्रिया