
लक्की चौधरी
रामधुनी (सुनसरी), माघ ७ गते । थारु महिला उत्थान समाजद्वारा आयोजित रामधुनी थारु आइडलमा निरुता चौधरी थारु आइडल २०७४ उपाधि हात पार्न सफल भएकी छिन् । सातजना प्रतिस्पर्धीलाई उछिन्दै निरुता सो उपाधि हात पार्न सफल भएकी हुन् ।
माघी महोत्सव तथा तिला संक्राइत २०७४ को अन्तिम दिन शनिबार भएको प्रतियोगितामा निरुता चौधरी, पूजा चौधरी, मनिता चौधरी, सेविका चौधरी, कृतिका चौधरी, कविता चौधरी र सुस्मिता चौधरीले प्रतिस्पर्धा गरेका थिए ।

रामधुनी थारु आइडल २०७४, निरुता चौधरी
सो प्रतिस्र्धाबाट निरुता चौधरी रामधुनी थारु आइडल २०७४ बन्न सफल भइन् । सेविका चौधरी फष्ट रनरअप हुन सफल भइन् । त्यस्तै, सुस्मिता चौधरी वेष्ट पर्सानिलिटीको उपाधि जितिन् । प्रतियोगिताको निर्णायकमा ड्रेस डिजाइनर सुशिला चौधरी (कैलाली), कलाकार कुलदीप चौधरी (सुनसरी), मिस जितिया आइकन सम्झना लेखी थारु (उयदपुर) र मिस एण्ड मिष्टर थारुका आयोजक सुदीप चौधरी (सुनसरी) रहेका थिए ।
निर्णायक मण्डलले चारवटा तहमा प्रतियोगिता गराएको थियो । पहिलो तहमा परिचयखण्ड, दोस्रोमा रुची (हवी), तेस्रोमा क्याटवाक र चौथो एवं अन्तिम राउण्डमा प्रश्नउत्तर राखेको थियो । चारवटै तहमा प्रतियोगिहरुको परफरमेन्स र कन्फिडेन्सको आधारमा विजयी छनौट गरेको निर्णायक मण्डलकी सुशीला चौधरीले बताइन् ।

विजयी प्रतियोगीलाई निर्णायक मण्डलले सम्मान तथा मायाको चिनो प्रदान गरेको थियो । त्यस्तै, महोत्सवमा नृत्य प्रतियोगिताको पनि आयोजना गरिएको थियो । प्रतियोगितामा दर्जनबढी कलाकारले आफ्ना नृत्य र कला प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा लर्डबुद्ध इन्टरनेशनल स्कूलका विद्यार्थीहरु प्रथम, शिव आदर्श क्लव दोस्रो र भादगाउँ पुरानोटोल सुनसरी तेस्रो स्थान हात पारेको थियो । विजयी सबैलाई सम्मानपत्र तथा मायाको चिनो महोत्सव मूल आयोजक कमिटीकी संयोजक आशा चौधरी तथा थारु महिला उत्थान समाजकी अध्यक्ष सीता चौधरीले सम्मानपत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा विभिन्न कलाकारहरुले आ–आफ्ना प्रस्तुती देखाएका थिए । सोहीअवसरमा पूर्वाञ्चलमा चर्चित नाटक ‘वरेलीवाली’ प्रस्तुत गरिएको थियो । कलाकार कुलदीप चौधरी र जानकी चौधरीको प्रस्तुतीले चिसो अँध्यारो रातमा दर्शकदिर्घामा न्यानो थपेको थियो । रक्सी र दारु खाँदा परिवार कसरी समस्यामा पर्छ ? नखाँदा परिवार कसरी सुखी हुन्छ ? सन्देशमूलक नाटक प्रस्तुत गरिएको थियो ।

महोत्सव समापन कार्यक्रममा महिला उत्थान समाजकी अध्यक्ष सीता चौधरीले थारु भेषभुषा, भाषा संस्कृतिको प्रवद्र्धन र युवा वर्गमा त्यसको सन्देश प्रवाह गर्न महोत्सवको आयोजना गरिएको बताउनुभयो । महिलाहरु आफ्नो नेतृत्वमा महोत्सव सफल बनाउन निकै चुनौति भएपनि सबैको साथ सहयोगले महोत्सव उत्साहप्रदरुपमा सफल भएको अध्यक्ष चौधरीले बताउनुभयो ।
त्यस्तै, रामधुनी नगरपालिकाकी उपप्रमुख सविना चौधरीले थारु, संस्कार संस्कृतिको उत्थानका बारेमा महिला उत्थान समाजले युवाहरुलाई गतिलो सन्देश प्रवाह गरिरहेको बताउनुभयो । महोत्सवले थारु एकताको साथसाथै अन्य समुदायबीचको मेलमिलाप र एकतामा गतिलो सन्देश प्रवाह गर्न सफल भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा गोरखापत्र दैनिकका उपम्पादक लक्की चौधरीले रामधुनी आफैमा धार्मिक, सांस्कृतिक महत्व बोकेको स्थान भएको बताउनु भयो । थारु उत्थान महिला समाजले थारु संस्कारजन्य गतिविधि गरेर युवा वर्गमा थारु संस्कृति हस्तान्तरणको अयिभान सञ्चालन गरी उदाहरणीय काम गरेको चर्चा गर्नुभयो । थारुको पहिचान नै थारु संस्कार र संस्कृति भएकाले त्यसलाई संरक्षण गरेर अघि बढ्न उहाँले युवावर्गमा आव्हान गर्नुभयो ।

समापन कार्यक्रममा थारु कल्याणकारिणीसभाका पूर्व केन्द्रीय अध्यक्ष चन्द्रकुमार चौधरी, रामधुनी वडा नं. १ का अध्यक्ष महेश चौधरी, थाकसका केसीलाल चौधरी, समाजसेवी भोला रौनियार, उत्थान समाजकी विमला चौधरी लगायतले महोत्सव सफल गर्नुभएको भन्दै आयोजक संस्थालाई बधाई तथा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
सो अवसरमा थारु महिला उत्थान समाजले विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान दिएकोभन्दै विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरेको थियो । पुस ३० गतेदेखि आयोजना गरिएको महोत्सव माघ ६ गते समापन भएको थियो । महोत्सवको करिब एकलाख बढीले अवलोकन गरेको आयोजकले बताएको छ । सो संस्थाले गतसालदेखि माघी महोत्सव मनाउँदैआएको छ ।

महिला उत्थान समाजले असहाय, शारीरिक अपागंता भएका समुदायलाई केही थान कम्बल र न्यानो कपडासमेत वितरण गरेको थियो । महोत्सवमा वक्तृत्वकला प्रतियोगिता, थारु भेषभुषा झल्किने झाँकी प्रदर्शन तथा थारु पाकवान र हस्तकलाका सामग्रीहरुको प्रदर्शन गरिएको आयोजकले बताएको छ ।





