
रामधुनी ९, मर्चैया सुनसरीको ग्रामथान
लक्की चौधरी (तस्विर समेत)
सुनसरी, माघ ८ गते । थारु गाउँभरीको देवताको बास रहने थारु ग्रामथानलाई दर्ता प्रक्रियामा लैजान नसक्दा अहिले चौतर्फी संकटमा छ । थारु गाउँवस्तीमा सदियौंदेखि चर्चेको ग्रामथानको जग्गा भू–माफियाले कित्ताकाट गरी अरुलाई विक्री गरिदिंदा ग्रामथान विस्थापनमा परेको हो ।
सुनसरीको इटहरी ८, टेङ्ग्रा टोलमा निर्मित विच्छु ग्रामथानको जग्गामा शिव मन्दिर बनाएर गैरथारुले ग्रामथान नै विस्थापित गरिदए । सदियौंदेखि चर्चेको सो जग्गाको एक छेउँमा धार्मिक कार्यकालागि भन्दै स्थानीय गैरथारुले शिव मन्दिर निर्माण गरे । मन्दिर निर्माण भएपछि सो ठाउँमा कुखुरा, बोका, हाँसको वलि दिन नमिल्ने भन्दै विरोध गरेपछि गाउँको ग्रामथान अर्को ठाउँमा सार्नुप¥यो ।
सरकारी जग्गामा निर्मित सो ग्रामथानको जग्गा दर्ता नभएपछि विस्थापित हुनुको विकल्प गाउँलेलाई भएन । अहिले अर्को ठाउँको सरकारी जग्गामा ग्रामथान सारेको एक वर्ष पुगेछ । सो जग्गामा भू–माफियाको नजर लागेपछि ग्रामथान पुनः संकटमा परेको ग्रामथान संरक्षण समितिकी सचिव सावित्री चौधरीको भनाई छ ।

“जग्गा दलालहरुले जग्गा मेरो हो भन्दै गुण्डा पठाएर धम्क्याउँछन्, सार्ने भए सार नत्र डोजर लगाएर भत्काउँछु भन्छ” सचिव चौधरीले चिन्ता व्यक्त गर्नुभयो । सो जग्गाको कित्ताकाटको माग गर्दै इटहरी उपमहानगरपालिकामा गाउँलेहरु हारगुहार गरिरहेका छन् । सामुहिकरुपमा गाउँभरीको देवता बस्ने पवित्र देवालय (मन्दिर) को संरक्षण गर्न नसक्ने हो भने थारुको पहिचान मेटिने चिन्ता सचिव चौधरीको छ ।
त्यस्तै, समस्याको चेपमा परेको छ ईटहरी–६ स्थित चौधरी टोलको थारु ग्रामथान । इटहरी मुख्य चोकबाट करिब दुईसय मिटर उत्तरको धरानरोडको पूर्वपट्टि अवस्थित ग्रामथान पनि ऐलानी जग्गामै छ । वि.सं. १९९३ बाट ग्रामथान राखिएको सम्झिनुहुन्छ थानका पूजारी बुधन चौधरी (७३) ले । अहिलेसम्म सो ठाउँबाट अन्यत्र ग्रामथान सार्न नपरेपनि ठूला भौतिक संरचना र चौडा सडकको फैलावटकाकारण ग्रामथान दवावमा रहेको भन्नुहुन्छ पूजारी चौधरीले । सो गाउँमा ८० घरधुरी थारुको छ ।
करिब १७ धुर जग्गामा निर्मित ग्रामथानको संरक्षण गर्न खासै पहल गर्न नसकिएको स्वीकार्नु हुन्छ ग्रामथान संरक्षण समितिका कोषाध्यक्ष सोनालाल चौधरीले । ग्रामथानको नाममा जग्गा अझै दर्ता गर्न नसकिए पनि ग्रामथानको भित्ता पक्की बनाएका छौं, चौधरीले भन्नुभयो । सो जग्गाको कुनै प्रमाण गाउँलेको नाममा नभएपछि कुनबेला विस्थापत हुनुपर्ने हो चिन्ता गाउँलेलाई रहेको उहाँले सुनाउनुभयो ।

इटहरी ८, टेंग्राटोलको थारु ग्रामथान
रामधुनी नगरपालिका ९, मर्चैया गाउँको ग्रामथान पनि आधा ऐलानी र आधा नम्बरी जग्गामा निर्मित छ । सो नगरपालिकाका मेयर (प्रमुख) जयप्रकाश चौधरीकै जग्गा किनारमा ग्रामथान बनाइएको भएपनि केही जग्गा ऐलानी हो भन्छन् स्थानीय बासिन्दाले । ग्रामथानको जग्गा दर्तागर्ने प्रक्रियामा अझै कसैको ध्यान जान नसकेको बताउनुहुन्छ गाउँका वयोबृद्ध कदमलाल चौधरी (६९) ले । जग्गा दर्ता गर्न नसक्ने हो भने अरु ठाउँकोजस्तो समस्या मर्चैयाबासीले भोग्नुपर्ने हुनसक्छ चौधरीले सुनाउनुभयो ।
रामधुनी नगरपालिकाभित्रको सबैभन्दा ठूलो थारु गाउँकोरुपमा परिचित मर्चैया गाउँमा ग्रामथानको जग्गाको खासै विवाद नभए पनि दर्ता गराउन भने नसिकएको सो गाउँका स्थानीय पत्रकार धिरेन्द्र चौधरीले बताउनुभयो । सो गाउँमा करिब अढाईसय थारु घरधुरी छ । सबैको देवता त्यही ग्रामथानमा सामुहिकरुपमा राखिएका छन् । पूजापाठ पनि सामुहिकरुपमा हुनेगर्छ । तर त्यसको संरक्षण र सम्बद्र्धनमा गाउँलेको ध्यान जान नसकेको पत्रकार चौधरीको स्वीकारोक्ती छ ।
ग्रामथानमा लक्ष्मी, सरस्वती, राजाजी (लक्ष्मीको कान्छो भाइ), शितला, विच्छुधामी, दिहुवार बाबा, ग्रामवावा, टुम्लुङ मुखिया, सलहेस, ग्रहणिया, हनुमान, खँरेर धामी, भवानी आदि देवीदेवता रहेको सुनसरीबासी बताउँछन् । वर्षमा दुई या तीन पटक ठूलो पूजा ग्रामथानमा गाउँलेले गर्छन् । ग्रामथानमा भाकलअनुसारको वलिदिने प्रचलन पनि छ ।
तर यता, ग्रामथानको संरक्षणमा आफू लागेको दावी गर्नुहुन्छ इटहरी नगरपालिकाका मेयर (प्रमुख) द्वारिकलाल चौधरीले । थारु समुदायको पहिचानकोरुपमा रहेको ग्रामथानको संरक्षणकालागि थारु समुदाय नै चासो दिनुपर्ने उहाँको तर्क छ । “अरु समुदायले जसरी धार्मिक काममा चासो दिएर संरक्षणकालागि लागिपर्छन्, हाम्रो समुदायले त्यसरी लागेको देखेको छैन, यद्यपि म यसमा सचेत छुँ र नगरपालिकाबाट हुने काममा सहयोग गर्छु” चौधरीले भन्नुभयो ।

रामधुनी नगरपालिकाका प्रमुख (मेयर) जयप्रकाश चौधरीले ग्रामथान संरक्षणकालागि जग्गा दर्ता प्रक्रियाको पहल आफूले लिने दावी गर्नुभयो । नगरपालिकाबाटै थारु गाउँको ग्रामथानको लगत लिने प्रक्रिया शुरुभएको उहाँले तर्क गर्नुभयो । नगरपालिकामा संस्कृति संरक्षण समिति बनाएर योजनाबद्धरुपमा काम थालिएको बताउनुहुने मेयर चौधरीले गाउँको सामुहिक पहल र चासोको खाँचो भने औल्याउनुभयो ।
यता, भूमिसुधारमन्त्री गोपाल दहितले ग्रामथान संरक्षणकालागि ग्रामथानकै नाममा जग्गा दर्ता प्रमाणपत्र अनिवार्य रहेको तर्क गर्नुहुन्छ । आफूले वर्दियाको राजापुर २, जोतपुरमा ग्रामथानकै नाममा जग्गादर्ता प्रमाणपत्र दिलाएर पक्की भवन निर्माण गरिदिएको उहाँको तर्क छ । वर्दिया, कैलाली, रुपन्देही, कञ्चनपुरको केही ग्रामथानका लागि संसदीय कोष खर्चेर पक्की निर्माण गराएको उहाँले बताउनुभयो ।
पश्चिम नेपालमा गाउँको सामुहिक देवता राख्ने ठाउँलाई थारु समुदायले देवथान, देउथन्वा, रजरमर्वा, मर्वा भनेर नामाकरण गरेका छन् । पूर्वी नेपालका थारुले भने त्यसलाई ग्रामथान भन्ने गर्छन् । परापूर्वकालदेखि देउथान (ग्रामथान) निर्माण गरी गाउँको संरक्षणमा लगेका थारु समुदायले त्यसको संरक्षणमा भने कानूनी प्रक्रिया शुरुगर्न नसकेको स्वीकार्छन् । कानूनीरुपमा दर्ता प्रमाणपत्र नलिने हो भने भविष्यमा ग्रामथान थप संकटमा पर्ने बुझाई गाउँबासीको छ ।

इटहरी ६, चौधरी टोलका ग्रामथान पूजारी बुधन चौधरी
संविधानको धारा १८ को समानताको हकले धर्म, वर्ण र जातको आधारमा कसैलाई भेदभाव नगर्ने व्यवस्था गरेको छ । त्यस्तै, धारा २६ को धार्मिक स्वतन्त्रताको हक (२) ले प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिकस्थल तथा धार्मिक गुठी सञ्चाल र संरक्षण गर्ने हक हुनेछ व्यवस्था गरेको छ ।
विश्वको आदिबासी जनजातिको अधिकारकोरुपमा रहेको अन्तर्राष्ट्रिय श्रम संगठन (आइ.एल.ओ.) १६९ अभिसन्धीको धारा १४ (२) ले सम्बन्धित समुदायले परम्परागतरुपमा चर्चेको, बसोबास गरेको भूमिको पहिचान गरी भूमिमाथिको सो समुदायको स्वामित्वको प्रत्याभूतिको सुनिश्चित्ताको कदम चाल्ने व्यवस्था गरेको छ । त्यसकालागि सरकारले आवश्यक कानून बनाई त्यसको हस्तान्तरणमा भूमिका खेल्नुपर्ने हुन्छ ।

इटहरी ६, चौधरी टोलका ग्रामथान
सो अभिसन्धीलाई व्यवस्थापिका संसदले २२ अगष्ट २००७ मा अनुमोदन गरेपछि १४ सेप्टेम्बर २००८ बाट सरकारले लागू गरेको थियो । सरकारले लागु गरेको १० वर्ष पुगिसक्दासमेत सो अभिसन्धीको पूर्णतः कार्यान्वयन भने हुन सकेको छैन । त्यसकालागि आदिबासी जनजाति समुदायले समेत कार्यान्वयनकालागि सरकारलाई दवाव दिन सकेको देखिदैन ।




