कांग्रेसले सरकार छाडन जति ढिला गर्छ त्यति नै नाङ्गिन्छः उपाध्यक्ष गौतम


लक्की चौधरी
काठमाडौं, माघ १३ गते । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले नेपाली कांग्रेसबाहेक सबै दल आगामी सरकारमा सहभागी हुने दावी गर्नुभएको छ । कांग्रेस जिम्मेवार प्रतिपक्षीदलको भूमिकामा रहने उहाँले तर्क गर्नुभयो ।

अखिल नेपाल महिला संघ (अनेमसंघ) को बधाई तथा राष्ट्रिय प्रशिक्षण कार्यक्रममा शनिबार यहाँ सम्बोधन गर्नुहुँदै उपाध्यक्ष गौतमले त्यस्तो बताउनुभयो । अनेक दवाव र संविधानको अपव्याख्या गरेर कांग्रेसले निर्वाचन आयोगलाई आफ्नो पकडमा पारेको टिप्पणी गर्नुहुँदै उपाध्यक्ष गौतमले सरकार छाड्न कांग्रेसले जति ढिलाई गर्छ त्यति नै जनताको नजरमा नाङ्गिन्छ भन्नुभयो ।

राष्ट्रियसभाको निर्वाचनपछि सरकार लम्ब्याउने कुनै बहाना सरकारसँग बाँकी नरहने दावी गर्नुहुँदै उपाध्यक्ष गौतमले फागुनको पहिलो साता नै नयाँ सरकार गठन हुने विश्वास व्यक्त गर्नुभयो । एमाले र माओवादी पार्टी एकताको अन्तिम चरणमा रहेकाले आगामी दिनमा जिम्मेवार भएर पार्टी संगठन र देशको समृद्धिको काममा जुट्न उहाँले महिलाहरुलाई आव्हान गर्नुभयो ।

महासचिव ईश्वर पोखरेलले पार्टी सञ्चालनमा दुई धार र तीनपुस्ते नीतिको आवश्यकता रहेको बताउनुभयो । पार्टीको कार्यकर्ता पङ्ति र विषय विज्ञता गरी दुई धार र पाको, अधवैसें र युवासहितको तीन पुस्ते आधारले नै पार्टी अगाडि बढ्ने प्रष्ट पार्नुभयो । पार्टी एकता प्रक्रिया अन्तिमचरणमा रहेको र सो अघिमात्र आलोपालो नेतृत्वको सान्दर्भिकता रहेको उहाँले तर्क गर्नुभयो । पार्टी एक भएपछि पार्टीको सिद्धान्त र संगठनको कार्यविधिअनुसार पार्टी अघि बढ्ने उहाँले प्रष्ट पार्नुभयो ।

पार्टी एकता र सरकार गठनको दुवै विषय फरक रहेकाले पार्टी एकतालाई सरकार गठनसँग जोडेर हेर्न उपयुक्त नरहेको उहाँले बताउनुभयो । सरकार गठन र पार्टी एकता दुवैकाम शक्ति सन्तुलनको आधारमा अघि बढ्ने उहाँल तर्क गर्नुभयो ।

कार्यक्रममा अनेमसंघको तर्फबाट विभिन्न जिल्लाबाट प्रदेशसभा तथा स्थानीय तहमा निर्वाचित महिला पदाधिकारीहरुलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा संघमा आवद्ध देशभरका महिलाहरुको सहभागिता रहेको थियो ।

संघका कार्यबाहक अध्यक्ष गोमा देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी सचिव तथा मोर्चा संगठन प्रमुख गोकर्ण विष्ट, संघकी उपाध्यक्ष सीता पौडेल, महासचिव थममाया थापा, जयन्ती राई लगायतले बोल्नुभएको संघका सचिव सुजिता शाक्यले जानकारी दिनुभयो । आगामी दिनमा संघको तर्फबाट चालिनुपर्ने कदम र पार्टीको सिद्धान्त र आगामी मार्गदिशाबारेमा नेताहरुले प्रशिक्षण दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया