प्रदेश ५ को मुख्यमन्त्रीमा शंकर पोखरेल पक्का, बाँकी प्रदेशको तयारी हुँदै


काठमाडौं, माघ १६ गते । प्रदेश नम्बर ५ बाट नेकपा (एमाले) का नेता तथा स्थायी कमिटी सदस्य शंकर पोखरेल मुख्यमन्त्री बन्ने पक्का हुनुभएको छ । एमाले स्थायी कमिटीको मंगलबार बसेको बैठकले प्रदेश संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने निर्णय गरेपछि पोखरेल मुख्यमन्त्रीमा सुनिश्चित हुनुभएको हो ।

एमाले ५ नम्बर प्रदेशको संसदीय दलको बैठकले सर्वसम्मत रुपमा यसअघि नै पोखरेललाई संसदीय दलको नेताका रुपमा चयन गरेको  थियो । मुख्यमन्त्रीमा माओवादी केन्द्रसँग भएको भागबण्डा सहमतिअनुसार ४ प्रदेशमा एमालेले सरकार बनाउने छ भने दुई प्रदेशमा माओवादी केन्द्रले ।

मुख्यमन्त्रीमा माओवादी केन्द्रसँग भएको भागबण्डा सहमतिअनुसार ४ प्रदेशमा एमालेले सरकार बनाउने छ भने दुई प्रदेशमा माओवादी केन्द्रले ।

मुख्यमन्त्रीका आकांक्षी को को ?
प्रदेश नम्बर २ मा मधेसी गठबन्धनको सरकार बन्ने निश्चित भएपनि बाँकी प्रदेशमा वाम गठबन्धनको सरकार बन्नेछ । जसमा प्रदेश नम्बर ६ र ७ मा माओवादी केन्द्रको नेतृत्वमा प्रदेश सरकार गठन हुनेछ । तर आकांक्षी धेरै हुँदा ५ नम्बर प्रदेशमा बाहेक अरु प्रदेशमा कसको नेतृत्व हुने भन्नेमा टुंगो लाग्न सकेको छैन ।

प्रदेश नम्बर १ मा एमालेको नेतृत्व हुने सहमति भएपनि दुईजना मुख्य आकांक्षी रहेका छन् । त्यहाँ भीमप्रसाद आचार्य र शेरधन राई मुख्यमन्त्रीको आकांक्षी रहेका छन् ।

यस्तै प्रदेश नम्बर २ मा मधेसी गठबन्धनका ५ जना आकांक्षी छन् । संघीय समाजवादी फोरमका विजय यादव, लालबाबु रावत र शैलेश शाह तथा राजपाबाट जीतेन्द्र सोनल र मनिष सुमन दाबेदार छन् ।

यसैगरी प्रदेश नम्बर ३ बाट एमाले नेताद्वय अष्ठलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे मुख्य आकांक्षी रहेका छन् । उसो त सानुकुमार श्रेष्ठ तथा केशब स्थापित समेतले मुख्यमन्त्रीमा आकांक्षा देखाएका छन् ।

प्रदेश नम्बर ४ बाट एमाले नेता पृथ्वीशुब्बा गुरुङ तथा किरण गुरुङ आकांक्षी रहेका छन् भने प्रदेश नम्बर ६ बाट माओवादी केन्द्रका महेन्द्र बहादुर शाही र नरेश भण्डारी मुख्यमन्त्रीका दाबेदार छन् । यसैगरी प्रदेश नम्बर ७ बाट माओवादी केन्द्रकै वीरमान चौधरी र झपट बोहरा रहेका छन् ।

तपाईको प्रतिक्रिया