भारतीय विदेशमन्त्री सुष्मा नेताहरुसँगको भेटघाटमा व्यस्त, आजै भारत फर्कने


लक्की चौधरी
काठमाडौं, माघ १९ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहितको प्रतिनिधिमण्डल र भारतीय विदेशमन्त्री सुष्मा स्वराजसहितको भारतीय प्रतिनिधिमण्डलबीच विहिबार शिष्टाचार भेटवार्ता भएको थियो । भेटमा दुई पक्षीय हितका विषयमा छलफल भई दुई देशको सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ बनाएर अघि बढ्ने समझदारी बनेको छ ।

पूर्व प्रधानमन्त्री ओली र विदेशमन्त्री स्वराजबीच साँझ ७ बजेदेखि पौने आठबजेसम्म पौने घण्टा एक्लाएक्लै शिष्टाचार भेट भएको थियो । सोपछि लगत्तै आठ बजेबाट नौ बजे रातीसम्म प्रतिनिधिमण्डलसहितको सामुहिक शिष्टाचार भेटवार्ता भएको थियो । होटल सोल्टीमा भएको भेटवार्तामा भारतीय विदेशमन्त्री स्वराजले वाम गठबन्धन दलले निर्वाचनमा पाएको भारी सफलताप्रति बधाई ज्ञापन गर्नुभएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सन्देश लिएर विहिबार काठमाडौं आउनुभएकी भारतीय विदेशमन्त्री स्वराजले सफलतापूर्वक संविधानसम्मत ढंगले निर्वाचन सफल पर्नुभएको भन्दै नेपाली जनतालाई समेत बधाई दिनुभएको ज्ञवालीले बताउनुभयो । “खण्डित जनादेशले नेपालको स्थीरता, विकास र शान्तिलाई सहयोग गर्दैन, अहिलेको स्पष्ट जनादेशले नेपालको स्थिरता र विकास हुन्छ भन्नेमा हामी विश्वस्त छौं” विदेशमन्त्री स्वराजले भेटका क्रममा विश्वास व्यक्त गर्नुभएको थियो ।

निर्वाचनपछि नेपाल संक्रमणकालको अन्त्य गर्दै आर्थिक समृद्धिको बाटोमा जाने विश्वास भारत सरकारलाई रहेको भन्दै विदेशमन्त्री स्वराजले वाम गठबन्धनको भारी सफलताप्रति बधाई ज्ञापन गर्नुभएको थियो । नेपाली जनताले विकास र राजनीतिक स्थिरताको पक्षमा मत दिएकाले त्यसमा भारत सरकार सन्तुष्ट रहेको र आगामी दिनमा मिलेर काम गर्न तयार रहेको प्रधानमन्त्री मोदीको सन्देश लिएर आफू नेपाल आएको बताउनुभएको थियो ।

एमाले अध्यक्ष तथा भावी प्रधानमन्त्रीकारुपमा हेरिनुभएका ओलीले नेपालको लोकतान्त्रिकरणको प्रक्रियामा भारतले गरेको सहयोग र सदभावप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो । नेपालको समृद्धिकालागि भारत सरकारसँग मिलेर आफू काम गर्न सदैव तयार रहेको बताउनुभएको थियो ।

भारतीय प्रधानमन्त्री मोदीले नेपालप्रतिको सदभाव र चाहना व्यक्त गर्नुभएको र नेपाल र नेपालीको शान्ति, समृद्धि र विकासमा सहकार्य गरेर अगाडि बढने सन्देश प्रकट गर्न चाहनुभएको स्वराजले भेटवार्तामा जानकारी गराउनुभएको थियो । आगामी दिनमा दुई पक्षीय सम्बन्धलाई अधिक्तम राम्रो बनाएर अघि बढ्ने चाहना प्रधानमन्त्री मोदीको रहेको जानकारी स्वराजले बैठकमा गराउनुभएको सचिव ज्ञवालीले बताउनुभयो ।

नेपालमा आई विभिन्न दलका नेताहरुसँग भेटनुको निश्चित एजेण्डा आफ्नो नरहे पनि दुई पक्षीय सम्बन्ध र नेपाल र नेपालीको सफलतामा बधाई ज्ञापन गर्न आफू नेपाल आएको स्वराजले भेटवार्तामा प्रष्ट पार्नुभएको थियो । नेपाल र नेपाली जनताको हित र भारतीय जनताको हितमा मिलेरै काम गर्न भारत सरकार सदैव तयार रहेको स्वराजले भेटमा बताउनुभएको ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतिउत्तरमा एमाले अध्यक्ष तथा भावी प्रधानमन्त्रीकारुपमा हेरिनुभएका ओलीले नेपालको लोकतान्त्रिकरणको प्रक्रियामा भारतले गरेको सहयोग र सदभावप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो । नेपालको समृद्धिकालागि भारत सरकारसँग मिलेर आफू काम गर्न सदैव तयार रहेको बताउनुभएको थियो । अध्यक्ष ओलीले आफू सबै विषयमा मिलेर सहकार्यकासाथ काम गर्न इच्छुक रहेको बैठकमा बताउनुभएको सचिव ज्ञवाली बताउनुभयो ।

“दुई पक्षीय हितका अनेकौ विषय प्राकृतिक स्रोत साधन र सम्पदा, सूचना प्रविधि, कनेक्टिभिटी आदि सबै क्षेत्रमा सहकार्यकासाथ काम गर्न हामी तयार छौं” भेटवार्तामा अध्यक्ष ओलीले विश्वास दिलाउनुभएको जानकारी ज्ञवालीले दिनुभयो ।

शिष्टाचार भेटमा एमालेबाट अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, सचिव प्रदीप ज्ञवाली, नेताहरु विष्णु रिमाल, डा. राजन भट्टराई, पूर्व गभर्नर डा. युवराज खतिवडाको सहभागिता थियो ।

त्यस्तै, विदेशमन्त्री स्वराजसँग विदेश सचिव विजय गोखले, नेपाल डेस्क हेर्ने सहसचिव सुधाकर दलेला, राजदूत मञ्जिभसिंह पुरीसहितको १० जनाको टोली रहेको थियो ।

विदेशमन्त्री स्वराज र अध्यक्ष ओलीबीच भएको लामो वान टु वान भेटवार्ताबारे केही जानकारी गराइएको छैन । पत्रकारले संक्षिप्त प्रतिक्रियाकालागि आग्रह गर्दा भारतीय विदेशमन्त्री सोबारे आफूले केही टिप्पणी नगर्ने बताउनुभयो । अध्यक्ष ओलीले समेत केही बोल्न मान्नु भएन ।

यसअघि केपी ओली नेतृत्वकै सरकारका पालामा भारतले अघोषित नाकाबन्दी गरेर नेपालीलाई दुःख दिएको थियो । पुनः ओली प्रधानमन्त्री बन्ने तयारीमा रहेका बेला भारतले पुरानो रिसरागलाई मेटाउने र आफू अनुकुल नेपाललाई प्रयोग गर्ने वातावरण बनाउनमा लागेको बुझाई कतिपयको छ ।

डिनरसहितको भेटवार्तामा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का नेताहरुसँग पनि विदेशमन्त्री स्वराजले भेटवार्ता गर्नुभयो । भेटकालागि राजपाका अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झा, महेन्द्र राय यादव, राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणासँग पनि स्वराजले भेटवार्ता गर्नुभयो ।

विदेशमन्त्री स्वराजले शुक्रबार आज विहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गर्नुभएको छ । त्यस्तै, दिउँसो १ बजे प्रधानमन्त्री शेरबहादुर देउवा, सोपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग दुई पक्षीय भेटवार्ता गरी विदेशमन्त्री स्वराज शुक्रबार साँझ नै भारत फर्कने कार्यतालिका रहेको उहाँको सचिवालयल जनाएको छ ।

करिब २५ घण्टासम्म नेपालमा रहँदा स्वराजले भारत सरकार नेपालसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको सन्देश दिनुभएको छ । यसअघि केपी ओली नेतृत्वकै सरकारका पालामा भारतले अघोषित नाकाबन्दी गरेर नेपालीलाई दुःख दिएको थियो । पुनः ओली प्रधानमन्त्री बन्ने तयारीमा रहेका बेला भारतले पुरानो रिसरागलाई मेटाउने र आफू अनुकुल नेपाललाई प्रयोग गर्ने वातावरण बनाउनमा लागेको बुझाई कतिपयको छ ।

तपाईको प्रतिक्रिया