
काठमाडौं, माघ १९ गते । विहिबार राती नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट शुरु भएको भारतीय विदेश मन्त्री सुष्मा स्वराजको शिष्टाचार भेटवार्ता शुक्रबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटपछि सकिएको छ ।
प्रधानमन्त्री देउवाले सरकारी निवास बालुवाटारमा स्वराजलाई दिवाभोज दिएका थिए । हिजो अध्यक्ष अोलीले रात्रीभोज सोल्टी होटलमा दिएका थिए । देउवासँगको भेटवार्ता र दिवाभोजपछि उनी शुक्रबार नै स्वदेश फर्किनेछिन् ।
बिहीबार अपरान्ह नेपाल आएकी उनले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट राजनीतिक भेटवार्ता शुरु गरेकी थिइन् । बिहीबार साँझ एमालेले उनलाई काठमाडौंको होटल सोल्टीमा रात्रीभोज दिएको थियो । त्यहीँ एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एक्लै र एमालेका अरु नेताहरुसँग स्वराजले सामूहिक भेट गरेकी थिइन् ।

शुक्रबार विहान भने स्वराजले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी थिइन् । सो लगत्तै विहान उनले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि भेट गरिन् ।
शुक्रबार नै उनले शितलनिवास पुगी राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेकी थिइन् । दुई पक्षीय हितका विषयमा शितल निवासमा छलफल भएको थियो । भेटघाट सकिएपछि विदेशमन्त्री स्वराज आज ४ बजेको उडानबाट दिल्ली फर्किने छिन् ।




