नक्कली कागजातले जग्गा हडपेको थारुको आरोप, फिर्ता गराइदिन माग


लक्की चौधरी
काठमाडौं, माघ २५ गते । चितवनको राप्ती नगरपालिका ६, हर्दिगाउँ निवासी फटला महतो थारुले आफ्नो लालपूर्जाको एक विघा एक कठ्ठा १८ धुर जग्गा केही व्यक्तिले मिलेमतो र जालसाँजी गरी गायव गरिदिएको भन्दै न्यायकालागि सरकारसँग माग गर्नुभएको छ ।

रिपोर्टर्स क्लवमा विहिबार यहाँ पत्रकार सम्मेलन गर्दै थारुले जग्गाको लालपूर्जा आफूसँग हुँदाहुँदै केही जग्गाका दलालले सोही जग्गाको कित्ताकाट र हालसावीको नयाँ लालपूर्जा बनाएको दावी थारुले गर्नुभयो । आफ्नो बाजेले सो जग्गा १९७९ सालदेखि चलनभोग गर्दैआएको र बाजेको नामबाट बुवा घेघरा महतो थारुको नाममा र बुवाको नामबाट आफ्नो नाममा जग्गा पास भएको भएपनि त्यसको अलग्गै लालपूर्जा तयार भई जग्गा छाड्न दवाव आएको गुनासो उहाँले गर्नुभयो ।

चितवनको सोही गाउँ निवासी स्थानीय नेता बलराम धरेलले सो जग्गा आफ्नो आमा ललितादेवी धरेलको नाममा दर्ता गराएको पाइएको थारुले बताउनुभयो । मेरो नामको जग्गा ललिताको नाममा कहिले र कसरी गयौ मलाई नै थाहा छैन भन्दै थारुले भन्नुभयो, “तीनपुस्ते चलनभोगको हाम्रो जग्गा कसरी ललितादेवी धरेलको नाममा गयो, जानकारी छैन ।”

घरमा बत्ती लगाउनकालागि निवेदन लिएर विद्युत कार्यालयमा जाँदा सो जग्गा अरुको नाममा भएको जानकारी आफूले पाएको बताउँदै फटला थारुले भन्नुभयो, “हाम्रो जग्गा धरेलको नाममा गएको पत्ता लगाउँदै जाँदा सबै नक्कली र फर्जी हस्ताक्षर गराएर प्रशासनको मिलेमतोमा काम गराएको पायौं ।” मूख्य हाइवे सडक छेउको सो जग्गाको मूल्य बढी भएकाले अनेक जालसाँजी गरी हड्प्ने प्रयास भएको छ थारुले भन्नुभयो ।

जग्गा फिर्ताका लागि सम्बन्धित धरेलसँग धेरै पटक छलफल र वार्ता गर्दासमेत नमानेको र उल्टै प्रशासन र शक्तिको आडमा उठिबास गराउने धम्की दिइरहेको थारुले गुनासो गर्नुभयो । बालराम धरेल चितवन कांग्रेसका पूर्व उपसभापति भएको थारुले बताउनुभयो । शक्तिको आडमा डर त्रास देखाएर आफ्नो जग्गा कब्जा गर्न प्रयास गरेको भन्दै पीडित चौधरीले सरकार र मिडियाकर्मीसँग न्याय दिलाइदिन आग्रह गर्नुभयो ।

यता, चितवन कांग्रेसका पूर्व उपसभापति बलराम धरेलले सो जग्गा बुवा कृष्णराम धरेलले २०४२ सालमा खरिद गरी लिएको दावी गर्नुभयो । सो जग्गाको चलनभोग फटला थारुले गरेपनि त्यसको मालपोत आफूहरुले तिरिरहेको उहाँले बताउनुभयो । “मसहित हामी चार भाइ छौं, आमाको नाममा रहेको सो जग्गा अंशवण्डा समेत गरिसकेका छौं” धरेलले भन्नुभयो, “बुवाले खरिद गरी लिएको जग्गा हो, हामीसँग लालपूर्जा र तिरो तिरेको रसिद सबै सुरक्षित छ, कसैले आरोप लगाउँदैमा केही हुँदैन ।”

तर पीडित थारुले सो जग्गा खरिद गरेको नक्कली कागजात बनाएको दावी गर्नुभयो । हाम्रो परिवारका सदस्य कसैलाई जग्गा विक्री गरेकोबारे जानकारी नभएको उहाँले बताउनुभयो । सोही गाउँ निवासी स्थानीय कृष्ण अर्यालले विवादित सो जग्गाबारेमा मिलापत्र गराइदिन धरेलले आफूलाई समेत आग्रह गरेको जानकारी दिनुभयो ।

अर्यालले भन्नुभयो, “जग्गाको विवादभन्दा मिलापत्र गराइदिनुस्, त्यसो गर्नुभयो भने तपाईको नाममा एक कठ्ठा जग्गा पास गरिदिन्छु भनेर धरेलले मलाई भन्दै आउनुभएको छ ।” धरेलको त्यस्तो चरित्र देखेर आफूलाई उल्टै घिनलागेको अर्यालले बताउनुभयो । शक्तिको आडमा धरेलले सोझासाझा थारुको जग्गा हडप्ने प्रयासमा लागेको उहाँले आरोप लगाउनुभयो ।

सो विषयमा थारु कल्याणकारिणी सभा चितवनका सभापति तथा कांग्रेसका जिल्ला सदस्य विश्राम चौधरीले जग्गा फिर्ताकालागि अनेक प्रयास गर्दासमेत धरेलले उल्टै धाकधम्की दिनेगरेको गुनासो गर्नुभयो । “राजनीति र पैसाको शक्ति देखाएर इमान्दार थारुको जग्गा सित्तैमा खाने सोंच धरेलको देखियो, जुन सरासर अन्याय हो” चौधरीले भन्नुभयो । सो विषयमा पार्टीको केन्द्रमा कुरा लग्ने उहाँले बताउनु भयो ।

जग्गाधनी फटला महतो थारुले आफूलाई अन्याय भएको भन्दै न्याय दिलाइदिन पत्रकारसँग आग्रह गर्नुभयो । सो विषयमा जिल्ला प्रशासन कार्यालयमा पटक पटक डेलिगेशन गएको र जग्गा फिर्ता गराउने आश्वासन पाएपनि कार्यान्वयनमा नआएको गुनासो गर्नुभयो ।

चितवनवासी फूलमति चौधरीले पनि थारुको जग्गामा गैरथारुले आँखा लगाएको बताउनुभयो । फटला थारुकोजस्तै समस्या अन्य चितवनका थारुको समेत रहेको बताउँदै उहाँले सो विषयमा स्थानीय प्रशासन र राजनीतिक दलका नेताहरुसँग समेत छलफल गर्ने बताउनुभयो । थारुको नाममा दर्ता भएको जग्गा कसरी अरुको नाममा लालपूर्जा बन्यो ? यसमा स्थानीय प्रशासन, मालपोत र नापी कार्यालयको समेत मिलेमतो देखिएको छ चौधरीले भन्नुभयो ।

तर यता आरोपित बलराम धरेलले माओवादी द्वण्द्वकालदेखि आफूहरुको जग्गा थारुले चलनभोग गरेको दावी गर्नुभयो । “सो बेलाको अवस्था अर्कै थियो, उहाँहरुले माओवादीको आडमा हाम्रो जग्गा चलनभोग गर्नुभयो, अब हामीले सो जग्गा चाहियो भनिरहेका छौं अरु कुरै छैन” धरेलले भन्नुभयो ।

तपाईको प्रतिक्रिया